माहामारीमा सेयर बजार चम्किदा संसारभरका अर्बपति मालामाल, १९ खर्ब डलरले बढ्यो सम्पत्ति
काठमाडौं । संसारभर नै कोरोनाको महामारी उत्तिकै व्याप्त छ । चीनको उहानबाट सन् २०१९ को डिसेम्बरदेखि शुरु भएको कोरोनाले संसारका एकाध देश बाहेक अधिकांश देश र त्यसका नागरिकलाई प्रभावित पार्यो ।
अर्थतन्त्र धारासायी भयो । मानिसका दैनिक जीवनमा असाध्यै ठूलो परिवर्तन देखा पर्यो । मानिसका बदलिएका जीवनशैलीले उनीहरुको आर्थिक अवस्थालाई समेत नराम्ररी विथोलिदियो ।
तर, धेरै धनी र संसारभर नै नाम कहलाएका व्यवसायीका लागि भने कोरोना महामारी पनि एउटा राम्रै कमाई गर्ने समयको रुपमा देखा पर्यो ।
कोरोना माहामारीले विश्वभरका धनीलाई थप १९ खर्ब डलर अर्थात् १.९ ट्रिलियन डलर बराबरको सम्पत्ति जोगाड गर्ने अवसर प्रदान गरेको छ । महामारीमा पनि उनीहरुको सम्पत्तिमा उल्लेख्य सुधार भएको छ ।
महामारी, लकडाउन तथा, राजनैतिक उथलपुथल तथा अन्य विविध कारणले पनि धनीहरुलाई झनै धनी बन्न रोकेको छैन । महामारीको समयमा समेत उनीहरुको सम्पत्तिमा आकाश जमिनको फरक देखा परेको छ । किनकी उनीहरुलाई महामारीले पनि कमाउने एउटा अवसर प्रदान गरेको छ ।
विश्वका धनीहरुको विवरण संकलन गरेर प्रकाशित गर्ने पत्रिका फोब्र्सका अनुसार सेयर बजारमा देखिएको आश्चर्यजनक तथा अविश्वसनीय वृद्धिले धनीहरुको सम्पत्तिमा झनै वृद्धि भएको देखाएको छ ।
सो पत्रिकाका अनुसार संसारभर २२०० जना अर्बपति रहेका छन् । उनीहरुको साथमा ११४ खर्ब अर्थात् ११.४ ट्रिलियन डलर बराबरको सम्पत्ति रहेको छ । फोब्र्सले उक्त विवरण गत शुक्रबारको बजार मूल्यका आधारमा तयार पारेको हो ।
सन् २०१९ को डिसेम्बर ३१ मा ९५ खर्ब डलर बराबर रहेको संसारका धनीहरुको सम्पत्तिमा कुल २० प्रतिशतले वृद्धि भएको छ ।
एक अर्ब डलरभन्दा बढी सम्पत्तिका मालिक रहेका अमेरिकीले यस वर्ष थप ४० खर्ब डलर बराबरको सम्पत्ति थप गरेको विवरणहरुमा देखिन्छ ।
कूल ६ सय अमेरिकी अर्बपतिहरुको सम्पत्ति समेत २०२० मा ५६० अर्ब डलरले बढेको पाइएको छ । अमेरिकी तथा अन्य शक्तिशाली देशको सेयर बजारमा भएको लगातारको वृद्धिले पनि उनीहरुको सम्पत्ति थप गर्न सहयोग गरेको हो ।
कोरोना कहरपछि मात्रै नास्डाकमा ३८ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो विवरण अनुसार अमेरिकी अर्बपतिको सम्पत्ति कूल रुपमा हेर्दा ४ ट्रिलियन डलर रहेको छ ।
त्यसमा चिनियाँको झण्डै आधाले कम अर्थात् २ ट्रिलियन मात्रै रहेको छ । फ्रान्स ५०० बिलियन, भारतको ४८० बिलियन, हङकङको ३८०, जर्मनी ५८०, जापान २००, सिंगापुर १४०, अष्ट्रलिया १६० र स्वीडेनका अर्बपतिको सम्पत्ति १७० बिलियन बराबर रहेको छ ।
चिनियाँ अर्बपतिको सम्पत्ति सन् २०१९ को तुलनामा ६० प्रतिशतले वृद्धि भएको छ । फ्रान्सका अर्बपतिले २३ प्रतिशतले सम्पत्ति बढाएका छन् ।
समस्यै समस्यामा फसेको वर्ष भएपनि संसारभर नयाँ नया अर्बपति देखा परे । त्यसमा फाइटर जेट उडान गर्ने जारेड आइसाकमान, हलिउड मुगुल टायलर पेरी, बायोटेक फर्म मोडर्नाका सीईओ स्टेफन बान्सल, जसले कोभिड १९ विरुद्धको खोप विकास गर्दैछन् । त्यसका अन्य दुई लगानीकर्ता समेत समावेश छन् ।
संसारका धनी मध्ये शीर्ष १० मा ८ जना त अमेरिकन नागरिक नै छन् । भारतका मुकेश अम्बानी ९ नम्बरमा र फ्रान्सका बर्नाड अर्नालुट र उनकोे परिवार बिहिबार दोस्रो स्थानमा छन् । उनको कूल सम्पत्ति १४८.९ बिलियन बराबर रहेको छ ।
यस्तै जेफ बेजोसको १८८.८ बिलियन छ भने एलन मस्कको १३९.४ बिलियन डलर रहेको छ । बिल गेटसको भने ११९.६ बिलियन डलर रहेको छ ।