व्यवसायीसँग ओली र प्रचण्डले कर्मचारीलाई गाली गरेः ब्यूरोक्रेसीले निजी क्षेत्रलाई दुःख दियो



काठमाडौं । यतिबेला सत्ताधारी दल नेपाल कम्युनष्टि पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच चरम द्वन्द्व छ । एकले अर्कालाई निषेध गरेर अघि बढ्न थालेपछि पार्टी फुटको संघारमा छ ।

ओली पार्टी अध्यक्षसँगै प्रधानमन्त्री छन् भने प्रचण्ड अध्यक्ष मात्रै । उनीहरु दुईबीचको स्वार्थको लडाइँले देश नै बन्धक बन्ने अवस्थामा पुगिसकेको छ ।

आपसमा मिल्न नसकिरहेका ओली र प्रचण्डले उस्तै शैलीमा कर्मचारीतन्त्रमाथि रोस प्रकट गरे । र, काम नहुनुमा कर्मचारीतन्त्रलाई दोष लगाएर आफूहरु उम्किने भरपूर प्रयास गरे ।

गत मंसिरमा निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छाको अध्यक्षतामा नयाँ निर्वाचित भयो । महासंघमा नयाँ नेतृत्व आएपछि विभिन्न मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति सत्तापक्ष र विपक्षी दलका नेताहरुलाई भेट्ने परम्परा छ ।

यही परम्परा अनुसार महासंघको नयाँ नेतृत्वले राष्ट्रपति विद्यादेवी भण्डारीबाहेक सबैलाई भेटेर बधाई तथा शुभकामना ग्रहण गरिसकेको छ । केही दिनभित्रै राष्ट्रपतिलाई भेट्ने कार्यक्रम हरेको महासंघका पदाधिकारीहरु बताउँछन् ।

महासंघको टोली गत मंसिर २२ गते साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट्यो । व्यवसायीका कुरा नसुनी ओली एकोहोरो आफूमात्र करीब डेढ घन्टा बोलिरहे ।

ओलीले महासंघलाई समग्री निजी क्षेत्रलाई एकीकरण गरेर अझै बलियो बन्न सुझाएनन् मात्रै बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था उचित नभएको पनि बताए । उनले नेकपाभित्रको अन्तरद्वन्द्ध सुनाउँदै आफू जस्तोसुकै कठिन परिस्थितिको सामना गरेर अघि बढ्न तयार रहेको जानकारी गराए ।

उक्त भेटमा ओलीले भनेका धेरै कुराहरु बाहिर आइसकेका छन् । तर उनले कर्मचारीलाई गाली गरेको विषयचाहीँ अहिलेसम्म कहीँ कतै सार्वजनिक भएको छैन ।

व्यवसायी फकाउन प्रधानमन्त्री ओलीले कर्मचारीका कुरा बेस्मारी काटे । कर्मचारीहरु साह्रै खराब भएकाले यो देश बन्न नसकेको ओलीको भनाइ थियो ।

‘हाम्रो देशको ब्यूरोक्रेशी (कर्मचारीतन्त्र) अत्यत्नै खराब छ, अगाडि पर्दा एउटा कुरा गर्छ, पछाडि परेपछि कामै गर्दैन, फिनफिन रिङ्ग्याउँछ मात्रै,’ ओलीले भने, ‘यस्तो ब्यूरोक्रेसीसँग काम गर्न तपाईंहरुलाई कति गाह्रो भएको होला ?’

त्यतिमा मात्रै ओली अडिएनन् । कर्मचारीतन्त्रले व्यवसायीलाई हेर्ने दृष्टिकोण नै खराब भएको बताए ।

‘यस्तो खराब ब्यूरोक्रेसी झेलेर काम गर्नु सामान्य कुरा होइन,’ उनले भने, ‘मन्त्री, प्रधानमन्त्रीलाई त ब्यूरोक्रेसीले घुमाउन खोज्छ ।’

सरकार सँधै निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न तयार रहेको उनको भनाइ थियो ।

‘सरकारले धेरै कामहरु गर्न खोजिरहेको छ, एकातिर हाम्रै साथीहरुले काम गर्न दिइरहेका छैनन् भने अर्कातिर कर्मचारीतन्त्रले,’ उनले भने, ‘कठिन परिस्थितिको सामना गर्दै हामी सम्मृद्धिको यात्रातर्फ अघि बढिरहेका छौं । सरकारलाई निजी क्षेत्रको र निजी क्षेत्रलाई सरकारको साथ सहयोग चाहिन्छ । सरकारले के के गर्नुपर्यो लिखितरुपमा ल्याउनुहोस्, हामी गर्छौं ।’

प्रधानमन्त्रीले बीचबीचमा उखाटुक्का सुनाएर र ठट्यौली गरेर व्यवसायीहरुलाई हसाँएका पनि थिए ।

त्यस्तै, मंसिर २९ गते महासंघको टोलीले खुमलटास्थित निजी निवासमा पुगेर नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई भेटेको थियो । करीब आधाघन्टाको भेटमा व्यवसायी र प्रचण्डबीच दोहोरो सम्बाद भएको थियो ।

प्रचण्डले पनि व्यवसायीहरुलाई फकाए । व्यवसायीहरुले देशलाई अत्यन्तै महत्वपूर्ण योगदान पुर्याएको बताउँदै सरकारबाट पाउनुपर्ने जति सहयोग नपाएको बताए । साना तथा मझौला उद्योग/व्यवसायको विस्तारमा जोड दिन सकिए मात्रै देशमा ठूलो आर्थिक परिवर्तन हुने प्रचण्डको भनाइ थियो ।

तर कर्मचारीतन्त्र देश विकासको मूख्य बाधक भएको उनको दोहोर्याए ।

‘हाम्रो कर्मचारीतन्त्रले निकास खोज्दैन, अबरोध मात्रै सिर्जना गर्छ,’ प्रचण्डले भने, ‘कर्मचारीतन्त्रमा व्यवसायीलाई हेर्ने दृष्टिकोण नै गलत छ । उनीहरु हामीले काम गर्दिएर व्यवसायीले पैसा कमाएका हुन्, व्यवसायीहरु चोर–फटाहा हुन् भन्ने गलत धारणा छ ।’

व्यवसायीलाई सम्मान नभएको देशको विकास नहुने बताउँदै आफूहरु देशलाई सम्मृद्ध बनाउने महाअभियानमा रहेको र सँधै व्यवसायीको सहयोग चाहिने प्रचण्डले बताएका थिए ।

त्यसपछि महासंघको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई पनि भेटिसकेको छ । उनीहरुले कर्मचारीतन्त्रका बारेमा कुनै पनि टिप्पणी नगरेको व्यवसायीहरु बताउँछन् ।

‘प्रधानमन्त्री ओली आफू काम गर्नुहुन्न अनि आफ्नै पार्टीका नेता र कर्मचारीतन्त्रका कारण काम गर्न पाइँन भनेर पञ्छिन खोज्नुभयो,’ भेटमा सहभागी महासंघका एक पदाधिकरीले भन्छन्, ‘आफू नसच्चिने अनि अरुलाई दोष दिएर पञ्छिन खोज्ने शासक र नेताबाट हामीले के अपेक्षा गर्ने ?’

भेटघाटमा महासंघ अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ठ सदस्य पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एसोसियट उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन उपस्थित थिए ।


पुष्प दुलाल