कोरोनाले गर्दा अधिकांश श्रमिक तलब नपाइ घर फर्के, शोषणमा परेका श्रमिकलाई उजुरी गर्न आग्रह



काठमाडौं । वैदेशिक रोजगारीमा गएका अधिकांश श्रमिक कोरोनाले गर्दा तलबबिहिन फर्कन बाध्य भएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र पौरखी नेपालले आयोजना गरेको कार्यक्रममा विभिन्न खाडी मुलुकबाट फर्केका श्रमिकले तलबबिना फर्किनुपरेको बताएका छन् ।

कार्यक्रममा विशेषगरी नेपालको अर्थतन्त्रमा निकै टेवा पु¥याउँदै आएको वैदेशिक रोजगारमा गएका श्रमिकहरूको बारेमा विशेष छलफल गरेका छन् । जसमा रोजगारीमा गएका श्रमिकको मासिक तलब, श्रम शोषण र विदेशमा गएका श्रमिकले के कस्ता समस्या भोग्न बाध्य भएका छन्, त्यसबारे छलफल र विदेशमा जाने श्रमिकलाई सचेतना जगाउनको लागि उक्त कार्यक्रम आयोजना गरेको सरोकारवालाहरूले बताएका छन् ।

करिब तीन वर्ष कतारमा कार्यरत दोलखाको सुशील खड्काले ७ महिनाको तलब नपाएको बताए । उनका अनुसार विगतको दिनमा राम्रै काम चलिरहेको र कोरोनाले गर्दा कम्पनीको काम ठप्प भएपछि बरोजगार भई निकै समस्या भोगेको बताए । साथै, लामो समयसम्म काम नभएकाले नेपाल फर्कन पनि आफुसँग पैसा नभएपछि पैसा उठाएर नेपाल फर्केको उनले दुख पोखे ।

त्यस्तै, दोलखाका तेन्जेन बहादुर थामीको समस्या पनि उस्तै रहेको छ । उनले म्यानपावरमार्फत १ लाख ५० हजार तिरेर कुबेत गएता पनि कम्पनीमा राम्रोसँग काम गर्न नपाएको बताए । उनका अनुसार कम्पनीमा २ वर्षको करारअवधि भएता पनि १० महिनामै घर फर्किनुपरेको सुनाए ।

त्यसैगरी, नेपाल सरकारले महिलाहरूलाई घरेलु कामदारको हकमा प्रतिबन्ध लगाएसँगै वैधानिक रुपमा विदेशिन बाध्य छन् । यसले गर्दा अवैध रुपमा विदेश गएका अधिकांश महिला श्रम शोषणमा परी नेपाल फर्कनु परेको छ । तर, कोरोनाले गर्दा विगतको तुलनामा भन्दा झन बढी विदेशमा रहेका महिला तथा पुरूष श्रमिकले मासिक तलब बिनानै स्वदेश आउनुपरेको सरोकारवालाहरूको भनाइ छ ।

त्यस्तै, कोरोनाको समयमा फर्केका अधिकांश महिला श्रमिकले श्रम शोषण, लैङ्गिक हिंसाजस्ता समस्या भोगेर नेपाल फर्किनु परेको उनीहरूको गुनासो छ । साथै, अवैध रुपमा गएका श्रमिकको हकमा नेपालमा कुनै पनि उजुरी तथा कानुनी प्रक्रिया नभएकाले श्रमिक महिलाहरू सुविधाबाट वञ्चित भएको पौरखी नेपालमा अध्यक्ष मञ्जु गुरूङले बताइन् । साथै, उक्त कानुनी प्रक्रिया नहुँदा अधिकार हनन् भएको र दाबी गर्नसम्ने स्थानबाट बञ्चित भइरहेको उनको भनाइ छ ।

शोषणमा परेका श्रमिकले उजुरी गर्नु:महानिर्देशक

वैदेशिक रोजगारीमा श्रम शोषण तथा एक देशमा पठाउने भनेर अर्कै देशमा पठाउने समस्या आइरहेको हुनाले उक्त शोषणमा परेका श्रमिकलाई कानुनी कारबाहीको लागि वैदेशिक रोजगार विभागमा निवेदन दिन आग्रह गरेको छ । लामो समयदेखि विदेशका रोजगारदाताले तलब नदिएको र श्रम शोषणमा परी नेपाल फर्केका श्रमिकले जुनसुकै निकायमा गई उजुरी दिन सक्ने उनले बताए । जसको लागि श्रमिकले वैदेशिक रोजगारी भनेर गएका कुनै पनि प्रमाण भएमा विभागले कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

साथै, श्रम स्वीकृति लिई विदेश गएका श्रमिकले समयमा तलब नपाएको र एउटा काम भनेर अर्को काममा पठाएको खण्डमा पनि विभागमा आई कानुनी उपचार लिन अनुरोध गरेको छ ।

‘श्रमिकहरू विदेशमा शोषणमा प¥यो भन्दै विभिन्न स्थानमा गएर भन्न सक्छन् । तर, विभागमा उजुरी गर्न सक्दैनन्,’ उनले भने, ‘ठगी तथा श्रम शोषणमा परेको श्रमिककको हितको लागि बनेको विभाग हो, विभागले सकेजति कानुनी उपचारबाट श्रमिकलाई सम्बोधन गरेर समस्या समाधान गर्छौ ।’


पुष्प दुलाल