इक्यान शैक्षिक मेला अनलाइनमार्फत् हुने, घरमै बसेर उच्चशिक्षा सम्बन्धि सबै जानकारी लिन पाइने



काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले यसपटकको बृहत शैक्षिक मेला अनलाइनमार्फत् आयोजना गर्ने भएको छ । इक्यानका अनुसार १४औं बृहत शैक्षिक मेला आगामी माघ २ गतेदेखि ५ गतेसम्म अनलाइनमार्फत् सञ्चालन हुनेछ ।

इक्यानले कोरोना महामारीका कारण समयमा आयोजना हुन नसकेको मेला भौतिकरुपमा उपस्थित हुने अवस्था नभएकाले अनलाइनमार्फत् गरेर भए पनि विद्यार्थी, अभिभावकलगायतलाई जानकारी दिने उद्देश्य लिएको छ ।

कोरोना भाइरसको महामारीका कारण भौतिकरुपमा उपस्थित हुने अवस्था नरहेकाले अनलाइनमार्फत् बृहत शैक्षिक मेला आयोजना गरी सम्पूर्ण जानकारी दिन लागिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

अध्यक्ष पाण्डेका अनुसार अनलाइन मेलामा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी, उनीहरुका अभिभावक तथा सरोकार पक्षहरुले सहभागी भइ विभिन्न प्रकार जानकारी लिन र जिज्ञाशा मेट्न सक्ने इक्यानले जानकारी दिएको छ ।

‘अनलाइनमार्फत् आयोजना हुने मेलामा विद्यार्थी तथा अभिभावकहरुले विगतमा जस्तै विभिन्न देशमा रहेका विश्वविद्यालय, कलेज, अध्ययनका लागि लाग्ने शुल्क, भिसा प्रक्रिया, छात्रवृत्तिका बारेमा जानकारी लिनुका साथै त्यसका लागि लाग्ने आवश्यक प्रक्रियाबारे जानकारी लिन सक्नेछन्,’ उनले भने ।

उनका अनुसार यसपटक विगतका वर्षमा भन्दा शैक्षिक मेला पृथक हुनेछ । मेलामा स्वदेशी र विदेशी परामर्श दाताहरुले विद्यार्थीलाई करिअर काउन्सिलिङ समेत गर्नेछन् ।

‘यसपटक नेपाल मात्रै नभइ हाम्रा शैक्षिक गन्तव्य भएका मुलुकहरु पनि कोरोना महामारीको चपेटामा छन्, त्यसैले यसपटक कोरोनाको चुनौती पनि थपिएकाले विद्यार्थी तथा अभिभावकहरुलाई त्यसबाट सम्बन्धि देशमा परेको असर र त्यसपछिको सम्भावनाका बारेमा पनि विस्तृत जानकारी दिइनेछ,’ अध्यक्ष पाण्डेले भने ।

अनलाइनमाध्यमबाट आयोजना हुने मेलाको व्यवस्थापन वन अप प्रालि गर्ने भएको छ । अनलाइन शैक्षिक मेलामा १५० भन्दाबढी कम्पनीको सहभागिता रहने इक्यानले जानकारी दिएको छ ।

मेलामा एजुकेशन प्रोभाइडर र शैक्षिक मेलामा सहभागी परामर्शदातृ व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिनेछ । इक्यानले मेलामा विद्यार्थी तथा अभिभावक कसरी सहभागी हुने भन्ने विषयमा विस्तृतरुपमा पछि जानकारी उपलब्ध गराइने इक्यानले जानकारी दिएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि शैक्षिक परामर्श दातृ संस्थाहरु खुल्न सकेका छैनन् भने विद्यार्थीहरु पनि भौतिकरुपमा उपस्थित भएर आवश्यक जानकारी लिन पाएका छैनन् । यस्तो अवस्थामा अनलाइनबाट मेला आयोजना हुने भएपछि घरमै बसेर सबै विद्यार्थी र अभिभावकले यसबारेमा जानकारी लिने अवसर प्राप्त भएको इक्यानको भनाइ छ ।


पुष्प दुलाल