चिनी मिलका मालिकसँग उद्योग मन्त्रीले मागे किसानलाई भुक्तानी गरेको सम्पूर्ण विवरण



काठमाडौं । चिनी मिलले भुक्तानी नदिएको भन्दै उखु किसान आन्दोलित भएपछि सरकारले सक्रियता बढाएको छ । सोमबार दिउँसो उद्योगमन्त्री लेखराज भट्टले चिनी मिलका सञ्चालकहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरे ।

छलफलका क्रममा चिनी मिल कासञ्चालकहरुले आफूहरुले किसानलाई भुक्तानी दिइरहेको विवरण पेश गरे । व्यवसायीको यस्तो विवरण्णपछि उद्योगमन्त्री भट्ट कड्किए ।

‘तपाईंहरुले कुन किसानलाई कहिले कति रकम भुक्तानी दिनुभयो त्यसको सम्पूर्ण विवरण मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छु,’ उद्योगमन्त्री भट्टले क्लिकमाण्डूसँग भने ‘किसनको भौचर किनेर ल्याउने बिचौलिया को को हुन् त्यसको पनि विवरण मागेको छु ।’

मन्त्रालयले मागेको विवरण आएपछि भुक्तानी गर्न बाँकी कूल रकम कति हो भन्ने यकिन हुने उनले जानकारी दिए ।

‘यो विवरणसँगै राखेर भोलि फेरि व्यवसायीहरुसँग बैठक बसेर यसको छिनोफानो गर्छौं,’ मन्त्री भट्टले भने ।

उखु किसानहरुले वर्षौदेखि भुक्तानी नपाएको भन्दै लगातार आन्दोलनमा छन् । केही दिनयता काठमाडौंमा निर्णायक आन्दोलन गरिरहेका छन् । विभिन्न ७ चिनी मिलले किसानको ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यसअघि पटकपटक सम्झौता भएपनि सम्झौताको कार्यान्वयन नभएको भन्दै यो पटक पैसा लिएर मात्रै फर्किने किसानहरुको अडान छ । किसानहरुले सरकार र मन्त्रीहरुल व्यापारीसँग मिलेर आफूहरुको मागमा गंभीर नभएको आरोप समेत लगाएका छन् ।

‘हामीले यसअघिका सम्झौता के कति पालना भए भनेर पनि विवरण मगाएका छौं,’ मन्त्री भट्टले भने, ‘एकदुई दिनमै समस्याको समाधान गर्छौं ।’


पुष्प दुलाल