कर्मचारी हाजिर नगराई संघीय सरकारको २ करोड पचाउन खोज्ने स्थानीय तहको अनुदान कट्टा



काठमाडौं । सरकारले नियुक्ति दिएर स्थानीय तहमा खटाएका ४५ जना कर्मचारीको तलब कट्टा गरेको छ । संघीय सरकारले पठाएका कर्मचारीलाई स्थानीय तहले हाजिर नगराएपछि तलबभत्ताका लागि दिने अनुदान कट्टा गरिएको हो ।

विभिन्न स्थानीय तहका निर्देशक, कार्यक्रम अधिकृतदेखि खरिदारसम्मका कर्मचारीहरुलाई छुट्याइएको करिब २ करोड रुपैयाँ तलब भत्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आर्थिक प्रसाशनले कट्टा गरेको जानकारी दिएको छ ।

मंसिर १० गते बसेको मन्त्रिपरिषदको निर्णयानुसार समायोजन भई हाजिरी हुन नपाएका कर्मचारीहरुको तलबभत्ता स्थानीय तहबाट २०७७ साउनदेखि ०७७ चैतसम्म आवश्यक मन्त्रालयले १ करोड ८८ लाख ८ हजार रुपैयाँ अनुदान कट्टा गर्न अर्थमन्त्रालयलाई पत्र पठाएको छ ।

गत आर्थिक वर्षमा कर्मचारी समायोजनमा परेका कर्मचारीको आफ्नो दरबन्दी भएका स्थानिय तहले कार्यालयमा हाजिरी नगराएपनि संघले तलब भत्ता वापत छुट्याएको अनुदान कट्टा गरेको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताए ।

‘समायोजनपछि यी कर्मचारीहरुले दरबन्दी भएका स्थानीयले कार्यालयमा हाजिरी नै लिएका थिएनन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘जसकारण संघले नै विभिन्न क्षेत्रमा ती कर्मचारी खटाइ तलब खुवाइरहेको थियो ।’

केन्द्र सरकारले नै समायोजनमा परेका कर्मचारीलाई तलब खुवाइरहेको हुँदा दरवन्दी रहेको स्थानीयतहमा उनीहरुका निम्ती पठाउने तलब भत्ता अनुदान कट्टा गरिएको उनले जानकारी दिए ।

 


पुष्प दुलाल