साढे १९ अर्ब वैदेशीक लगानी र ऋण भित्रिँदा, पौने २० अर्ब लाभांश र साँवा ब्याज विदेशियो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालमा साढे १९ अर्ब रुपैयाँ लगानी र ऋणबापत विदेशी मुद्रा भित्रिएको छ । तर यो अवधिमा पौने २० अर्ब रुपैयाँ लाभांश, ऋण र त्यसको ब्याज तिर्नका लागि विदेशिएको छ ।

गत असार मसान्तदेखि असोज मसान्तसम्म प्रत्यक्ष वैदेशिक लगानी र वैदेशीक ऋणमार्फत् १९ अर्ब ५५ करोड रुपैयाँ स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसमा ८ अर्ब ९२ करोड बराबरको प्रत्यक्ष बैदेशिक लगानी र  १० अर्व ६३ करोड बराबरको वैदेशिक ऋण स्वीकृत भएको हो ।

त्यसैगरी, सो अवधिमा  १० अर्व ९६ करोड बराबरको वैदेशिक लगानी लेखांकन स्वीकृत गरिएको  राष्ट्र बैंकले जानकारी दिएको छ ।

अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ४४ करोड प्रत्यक्ष वैदेशिक लगानी, १ खर्ब ६५ अर्व ४९ करोड रुपैयाँ बराबरको वैदेशीक ऋण र १४ अर्ब ७ करोड प्रत्यक्ष बैदेशिक लगानी लेखांकन भएको थियो ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो ३ महिनामा मुलुकबाट १९ अर्ब ७४ करोड रुपैयाँ स्वदेशी मुद्रा सटही गरी विदेश लैजान राष्ट्र बैंकले स्वीकृति दिएको छ । जसमा १७ अर्ब ९७ करोड रुपैयाँ लाभांश र्फिता र १ अर्ब ७७ करोड वैदेशिक ऋणको साँवा तथा व्याज फिर्ता लैजान स्वीकृति दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अघिल्लो वर्ष १२ अर्ब ९० करोड बराबरको लाभांश फिर्ता लैजान र ३ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋणको साँवा तथा व्याज फिर्ता लैजान स्वीकृति राष्ट्र बैंकले दिएको थियो ।


पुष्प दुलाल