एनआइसी एशिया बैंकले मुद्दति निक्षेपको ब्याजदर ह्वात्तै घटायो, नयाँ ब्याजदर कति ?



काठमाडौं । एनआइसी एशिया बैंकले मुद्दति निक्षेपको ब्याजदर ह्वात्तै घटाएको छ ।

कुनै सयम मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने यो बैंकले ब्याजदर अहिले सबैभन्दा सस्तो ब्याजदर ब्याज दिने सार्वजानिक सूचना नै प्रकाशित गरेर जानकारी गराएको छ ।

बैंकले आइतबार एक दैनिक पत्रिकामार्फत् नयाँ ब्याजदर सार्वजनिक गरेको छ । साधारण बचत खातामा १.५ प्रतिशत र मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याज दिने बैैंकले जनाएको छ ।

बैंकले यसअघि साधारण बचतमा न्यूनतम १.५ प्रतिशत ब्याजदर, व्यक्तिगत मुद्दतिमा ९.७५ प्रतिशत ब्याजदर दिँदै आएको थियो । जस अनुसार बैंकमा निक्षेपको ब्याजदर अन्तर ८.२५ प्रतिशत थियो ।

गत साता नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमापिसक समीक्षा गर्दै साधारण बचत खाता र मुद्दति खाताको ब्याजदर अन्तर (स्प्रेडदर) तोकेको थियो । जारी नीति अनुसार ‘बैंक तथा वित्तीय संस्थाहरुले कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढीले फरक गर्न नपाइने व्यवस्था गरिनेछ ।’

राष्ट्र बैंकको यसै नीतिमा टेकेर एनआइसी एशियाले मुद्दति निक्षेपको ब्याजदर ह्वात्तै घटाएको हो ।

बैंकहरुले मुद्दतिमा अत्यन्तै बढी र बचतमा अत्यन्तै न्यून ब्याज दिएपछि राष्ट्र बैंकले बचतको ब्याजदर बढाउने उदेश्यले ब्याजदरमा स्प्रेड तोकेको हो । यद्यपि राष्ट्र बैंकले कार्यविधि ल्याइसकेको छैन। अन्य बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकको कार्यविधि कुरेर बसेका छन् ।

केन्द्रीय बैंकले जुन उदेश्यले निक्षेपको ब्याजदरको अन्तर सम्बन्धी नीतिगत व्यवस्था गरेको भएपनि बैंकहरुले आफ्नो व्यवसायीक रणनीतिअनुसार ब्याजदर निर्धारण गर्न पाउने राष्ट्र बैंकका सह-प्रवक्ता नारायण प्रसाद पोख्ररेलले बताए ।

‘राष्ट्र बैंकले हेर्ने भनेको तोकेको अन्तर कायम भएको छ कि छैन भनेर मात्र हो,’ पोख्ररेलले क्लिकमाण्डूसँग भने, ‘सो अन्तरमा बैंकहरुले आफ्नो व्यवसायीक रणनीतिअनुसार ब्याजदर कायम गरी व्यवसाय गर्न सक्छन् ।’

बैंकहरुले निक्षेपको न्यूनतम ब्याजदर नबढाइ अधिकतम ब्याजदर घटाएमा निक्षेपकर्ताको आकर्षण सो बैंकमा घट्न गई व्यवसायमा नकारात्मक असर पर्ने उनको भनाइ छ ।


पुष्प दुलाल