१०५ करोड कित्ता आइपिओ बिक्रीको अनुमति माग्दै साहस ऊर्जा सेवोनमा
काठमाडौं । सेयर बजारमा ऊर्जा कम्पनीहरुको सेयरमा सकारात्मक सर्किट लाग्न थालेको बेला अर्को एक कम्पनीले ठूलो मात्रामा साधारण सेयर (आइपिओ) बिक्री गर्ने तयारी थालेको छ ।
सोलुखुम्बुमा निर्माणाधिन ८६ मेगावाट क्षमताको सोलु खोलाले १ करोड ५ लाख कित्ता साधारण सेयर निस्काशन गर्न लागेको हो । सो आयोजना साहस ऊर्जा कम्पनीले निर्माण गरेको हो ।
कम्पनीका अध्यक्ष हिम पाठकका अनुसार कूल १ अर्ब ५ करोड बराबरको साधारण सेयर मध्ये कूल ३५ करोड बराबरको ३५ लाख कित्ता सेयर भने आयोजना प्रभावित सोलुखुम्बुबासीलाई बिक्री गरिनेछ ।
यस्तै सामूहिक लगानी कोष, कम्पनीमा कार्यरत कर्मचारी र सर्वसाधारण लागि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री गरिनेछ ।
साधारण सेयर बिक्रीका लागि अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेवोन)मा आवेदन दिइसकेको छ । बोर्डको अनुमतिपछि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री गर्ने तयारीमा कम्पनी रहेको छ ।
कम्पनीका अनुसार सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई जिम्मा दिइएको छ । कम्पनीको आर्थिक अवस्था राम्रो रहेको भन्दै इक्रा नेपालले बि बि प्लस रेटिङ प्रदान गरेको छ ।
कम्पनीले निर्माण गरिरहेको आयोजना कोरोनाका कारण समस्यामा परेपनि हालसम्म झण्डै ६० प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको कूल लागत झण्डै १२ अर्ब लाग्ने अनुमान गरिएको छ ।
आयोजनामा नेपाल इनभेष्टमेन्ट बैंकको अगुवाईमा विभिन्न ९ बैंकले ८ अर्ब ६५ करोड बराबरको लगानी गरेका छन् ।