३ महिनामै होटेल क्षेत्रमा बैंकहरुको लगानी ७ अर्ब रुपैयाँले बढ्यो



काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित बनेको क्षेत्र हो होटेल । गत चैतदेखि ठप्प भएको होटेल क्षेत्र अझै गतिशिल बन्न सकेको छैन ।

अर्थ मन्त्रालय र राष्ट्र बैंकले पर्यटन क्षेत्रभित्र पर्ने होटेल क्षेत्रलाई कोरोनाको असरबाट उकास्न विशेष सहुलितका प्याकेजहरु ल्याइसकेका छन् ।

लगानीका हिसाबले होटेल निकै ठूलो क्षेत्र बन्दै गएको छ । कोरोनाको महामारीबा बेला पनि बैंकहरुले होटेलमा लगानी बढाएका छन् ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा होटेल क्षेत्रमा बैंकहरुको लगानी करिब ७ अर्ब रुपैयाँले बढेको छ ।

गत असार मसान्तसम्ममा बैंकहरुले होटेल क्षेत्रमा कूल १ खर्ब १३ अर्ब ९० करोड रुपैयाँ लगानी गरेका थिए । असोज मसान्तमा होटेलमा बैंकहरुले १ खर्ब २० अर्ब ८१ करोड रुपैयाँ लगानी गरेका छन् । यो ३ महिनाको अवधिमा ६ अर्ब ९१ करोड रुपैयाँले कर्जा बढेको छ ।

बैंकर्स संघका सीइओ अनिल शर्मा र होटेल एशोसिएसनका सीइओ टेक महतका अनुसार निर्माणाधीन होटेलहरुमा बैंकहरुले पहिला प्रतिवद्धता गरेको कर्जा दिइरहेकाले यो क्षेत्रमा कर्जा बढेको देखिएको हो ।

‘साउनदेखि अवस्था केही सहज भएको छ, बैंकहरुले पनि निर्माणाधीन प्रोजेक्टमा लगानी गरिरहेका छन्, जसकारण यस्तो अवस्थामा पनि कर्जा बढेको देखिएको हो,’ सीइओद्वय शर्मा र महतले भने ।


पुष्प दुलाल