रुसको लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक



काठमाडौं । रुसका दुई ठूला बैंकले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेका छन् । वार्षिक रुपमा झण्डै २३ बिलियन डलर रेभेन्यू कमाउने लान्टा बैंकले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ ।

सार्वजनिक निजी क्षेत्रको अवधारणामा सञ्चालित सो बैंकको रसियाको राजधानी मस्कोमा प्रधान कार्यालय रहेको छ । यस्तै प्रोजेक्ट फाइनान्समा नाम कमाएको मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युत्मा लगानी गर्ने प्रस्ताव गरेको छ ।

विश्वका झण्डै ५० भन्दा बढी देशमा ऊर्जा, पूर्वाधार तथा अन्य क्षेत्रमा लगानी गर्दै आएका ती बैंकका प्रतिनिधिले मंगलबार ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर उपयुक्त आयोजनामा लगानी गर्न आफुहरु तयार रहेको बताएका हुन् ।

मस्को इन्डस्ट्रियल बैंकले त भारतमा समेत लगानी गरिरहेको छ । विशेष गरी नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि आफूहरु आतुर रहेको समेत उनीहरुको भनाइ थियो ।

नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री पुनसँग आफूहरु ऊर्जा क्षेत्रमा लगानी गर्न तयार रहेको बताए ।

त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ । राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो ।

यस्तै नेपालमा विद्युत् र सिँचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो थियो । रसियन प्रतिनिधिमण्डलले उत्पादित विद्युत् आफ्नै उद्योगमा खपत गर्न सकिनेरनसकिने विषयमा समेत मन्त्री पुनसँग जिज्ञासा व्यक्त गरेको थियो ।

प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताए ।

मन्त्री पुनले आगामी १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत् खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी दिए । उनले बढी भएको विद्युत् निर्यात गर्न भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकिएको बताए । हालसम्म नेपालमा उत्पादित विद्युत् सरकारी कम्पनी नेपाल विद्युत् प्राधिकरण खरिद गरी वितरण गर्दै आएको छ ।

आगामी दिनमा स्वदेशी वा विदेशी लगानीमा निर्माण हुने आयोजनाको विद्युत् सिधै बाह्य बजारमा पठाउन सक्ने गरी लचिलो कानूनी प्रावधानको समेत व्यवस्था गरिएकाले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण रहेको उनको भनाइ थियो ।

मन्त्री पुनले विदेशी कम्पनीले एकल, नेपाली कम्पनीसँगको संयुक्त लगानी वा सरकारी कम्पनीसँग मिलेर जलविद्युत्मा लगानी गर्नसक्ने अवस्था रहेको चर्चा गर्दै रुसी लगानीकर्तालाई नेपालमा स्वागत गर्ने उल्लेख गरे ।

हालसम्म नेपालको जलविद्युत्मा भारत, चीन, कोरिया र नर्वेजियन कम्पनीका आयोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउँदै मन्त्री पुनले अष्ट्रेलियासहित अन्य मुलुकले समेत लगानीको इच्छा देखाएको उल्लेख गरे ।

मन्त्री पुनले नेपाल र रुसको कूटनीतिक सम्बन्धको लामो इतिहास रहेको चर्चा गर्दै ऊर्जा क्षेत्रमा समेत गहिरो सम्बन्ध रहेको स्मरण गरे । । नेपालकै तेस्रो पुरानो २.४ मेगावाटको काभ्रेस्थित खोपासी जलविद्युत् केन्द्र रुस सरकारको सहयोगमा विसं २०२२ मा निर्माण भएको र उक्त आयोजनाबाट हालसम्म पनि विद्युत् उत्पादन भइरहेको छ ।


पुष्प दुलाल