बैंकिङ क्षेत्रका १५ प्रतिशत कर्मचारीमा कोरोना संक्रमण, संक्रिमितको संख्या १० हजार नाध्यो



काठमाडौं । बैंक तथा वित्त कम्पनीका कार्यरत कुल कर्मचारी मध्ये करिब १५ प्रतिशत कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् । हाल बैंक तथा वित्त कम्पनीहरुमा कुल ४९ हजार ८ सय ४२ जना कर्मचारी कार्यरत छन् । जसमध्ये १४.९५ प्रतिशत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।

नेपालका हालसम्म कुल २ लाख ४१ हजार बढीलाई कोरोना संक्रमण पुष्टी भइसकेको छ । कुल संक्रमितमा ४.३१ प्रतिशत बैंक तथा वित्त कम्पनीमा कार्यरत कर्मचारी र उनका परिवारका सदस्यलाई कोरोना भाइसर पुष्टी भएको हो ।

अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंक तथा वित्तीय क्षेत्रमा कर्मचारीले लकडाउन र निषेधाज्ञाबीच समेत ग्राहकलाई सेवा दिएका थिए । जस्तो अवस्थामा पनि सेवा सुचारु गर्नु पर्ने र मानवीय चहलपहल बैंक तथा वित्त कम्पनीमा बढी हुँदा हालसम्म यस क्षेत्रका १० हजार ४ सय ५१ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकअनुसार बैंकिङ क्षेत्रका कुल संक्रमितमा १० हजार १ सय ४ जना बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्य रहेका छन् । साथै ३ सय ४७ जना कोरोना संक्रमित राष्ट्र बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्य हुन् ।

राष्ट्र बैंकका स्रोतका अनुसार केन्द्रीय कार्यालय बालुवाटार, दरबारमार्ग र विभिन्न प्रादेशीक कार्यलयका १ सय ६२ जना कर्मचारी र उनीहरुमार्फत् १ सय ८५ जना परिवारका सदस्यमा कोरोना संक्रमण भइसकेको छ ।

हालसम्म्म कोरोना पुष्टी भएका केन्द्रीय बैंकका संक्रमितहरुमा १ जना डेपूटी गभर्नर, १ जना कार्यकारी निर्देशक र ६ जना निर्देशकलाई कोरोना संक्रमण पुष्टी भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । हालसम्म संक्रमितहरु मध्ये १५ जना कर्मचारी र २१ जना परिवारका सदस्य गरी ३६ जना सक्रिय संक्रमित केन्द्रीय बैंक मातहातमा छन् ।

प्राप्त तथ्यांकअनुसार बैंक तथा वित्त कम्पनीमा कार्यरत ७ हजार ३ सय ६ जना कर्मचारी र उनीहरु मार्फत् उनका २ हजार ७ सय ९८ जना परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये १ हजार २ सय १० जना कर्मचारी र ७ सय ६० जना परिवारका सदस्य गरी १ हजार ९ सय ७० जना सक्रिय संक्रिमित बैंकिङ क्षेत्रमा छन् ।

बैंकमा कार्यरत हजारौ कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएसँगै सर्वसाधारणमा समेत संक्रमणको जोखिम बढ्दोे छ ।

दैनिक सयौं सेवाग्राहीलाई सेवा प्रवाह गर्ने बैंक तथा वित्त कम्पनीका कर्मचारीलाई कोरोना संक्रमण देखिन थालेपछि जोखिम अझ बढेको छ ।


पुष्प दुलाल