कम्बोडियामा कोरोनाको खोप निःशुल्क दिइने



काठमाडौं । कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ ।

प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी दिए ।
आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालाहरुसँग परामर्श गर्न पनि निर्देशन दिएका छन् ।

त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सवै जनतालाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न पनि निर्देशन दिए । पहिलो चरणमा उच्च जोखिममा रहेका जनतालाई लगाउनेगरी १० लाख खोप ल्याउने योजना बनाइएको जानकारी उनले दिए ।

एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले १० लाख खोपले झण्डै ५ लाख मानिसलाई हुने पनि उनले उल्लेख गरेका छन् । दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ ।

उक्त मुलुकमा अहिलेसम्म ३४८ जनामा मात्रै कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने ३०६ जना सङ्क्रमणमुक्र भइसकेका छन् । अघिल्लो बर्षको जनवरीदेखि अहिलेसम्म कम्बोडियामा कोरोनाका कारण कसैको मृत्यु भएको पुष्टि भएको छैन ।


पुष्प दुलाल