अब नेपालबाटै सामाजिक सञ्जालमा बुस्ट गर्न सकिने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था



काठमाडौं । फेसबुक लगायत सामाजिक सञ्जालमा विज्ञापन तथा बुस्ट नेपालबाटै गर्न मिल्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्त कम्पनीले जारी गरेका कार्डमार्फत् फेसवुक, ट्वीटर, यूटुबजस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गर्न सकिने व्यवस्था गर्ने भएको हो ।

केन्द्रीय बैंकले बिहीबार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा गर्दै ‘अनलाइनमार्फत् निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने’ उल्लेख गरेको छ ।
जसअनुसार अब नेपाल कै बैंकहरुले जारी गरेका कार्डको प्रयोग गरी सामान तथा वस्तु आयात र सामाजिक सञ्जालमा विज्ञापन गर्न सकिने राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।

‘अहिले गरिएको नीतिगत व्यवस्थाले अनलाईनमार्फत् विदेशी वस्तु तथा सेवा आयात गर्न सकिने भनेको छ,’ मिश्रले क्लिकमाण्डूसँग भने, ‘यसले विदेशी अनलाईनहरुबाट सामान खरिद गर्नका साथै विदेशी सेवाहरु आयात गर्न बाटो खुल्ला गरिएको हो ।’

विदेशी सेवामा सामाजिक सञ्जालमा विज्ञापन तथा बुस्टलाई समेत समेट्ने हुनाले अब नेपालकै बैंकहरुले जारी गरेका कार्डमार्फत् बुस्ट गर्न सकिने व्यवस्था हुने उनले जानकारी दिए ।

‘नीति आएको छ, त्यसमा विभागले अध्ययन र थप छलफल गरी कार्यविधि बनाउने तयारी गरिरहेको छ,’ मिश्रले थपे, ‘पहिलो चरणमा वाणिज्य बैंकहरुले जारी गरेको प्रिपेड कार्डमार्फत् विदेशी वस्तु तथा सेवा खरिद गर्न सकिने व्यवस्था गरिनेछ ।’

प्रिपेड कार्ड वाणिज्य बैंकहरुले मात्र जारी गर्न पाउने भएकाले राष्ट्र बैंकले केही समयपछि नै डलरकार्डको व्यवस्था गरी सबै बैंक तथा वित्त कम्पनीहरु मार्फत् सो सुविधा लिन पाउने व्यवस्था गर्ने उनको भनाइ छ ।

अनलाइनमार्फत् विदेशी वस्तु तथा सेवा आयात गर्न विदेशी मुद्रामा सटहीको सीमा राष्ट्र बैंकले निर्धारण गर्ने र वस्तु तथा सेवामा लाग्ने करका दर भने सरकारले नै निर्धारण गर्ने मिश्रले बताए ।

‘अनलाइनमार्फत् कुन वस्तु र सेवा आयात गर्न पाउने र आयात गरिएको वस्तु तथा सेवामा कति कर लगाउने सरकारको कर नीति अनुसार हुनसक्छ,’ उनले भने, ‘राष्ट्र बैंकले भने अनलाईनमार्फत् विदेशी वस्तु तथा सेवा आयात गर्दा भुक्तानी गर्न विदेशी मुद्रा सटही गर्ने व्यवस्थामात्र गर्छ ।’

बैंकहरुले विदेशी अनलाईनमार्फत् वस्तु तथा सेवा आयातको भुक्तानीमा सटही गरिएका विदेशी मुद्राको विवरण राष्ट्र बैंकले नियमित पठाउनु पर्ने उनले जानकारी दिए ।

हाल नेपालमा विदेशी बैंकहरुमा खाता खोली विदेशी अनलाईनबाट सामान खरिद गर्ने, सामाजिक सञ्जालमा विज्ञापन तथा बुस्ट गर्न गरिएको छ । जसमा गत वर्ष राष्ट्र बैंकले कढाइ गर्ने समेत भनेको थियो ।

विदेशी बैंकहरुमा खाता खोली विदेशी अनलाईनबाट सामाजिक सञ्जालमा विज्ञापन तथा बुस्ट गदा अवैधानिक तरिकाले भुक्तानी भएको र त्यसलाई हालको व्यवस्थाले वैधानिक गर्न लागेको मिश्रले बताए ।

राष्ट्र बैंकले गरेको उक्त व्यवस्थाले हाल नेपालबाट सामाजिक सञ्जालमा गरिने विज्ञापन तथा बुस्टको भुक्तानीमा बाहिरीने रमकलाई व्यवस्थित गर्ने राष्ट्र बैंकको विस्वास छ ।

हालसम्म सामाजिक सञ्जाल गरिने विज्ञापनको भुक्तानी र आम्दानीको निगरानी तथा नियमन सरकारले गरेको छैन । जुनसुकै माध्यमबाट विदेशबाट कुनै पनि वस्तु तथा सेवा आयात गरी नेपाली पैसा बाहिरीन्छ भने राज्यले त्यसको नियमन गर्नु पर्ने हुन्छ ।

साथै सो वापत हुने आम्दानीको समेत कर तिर्नु व्यवस्था कर नीतिमा उल्लेख छ । तर हालसम्म सामाजिक सञ्जालमार्फत भएका विज्ञापनमा गरिएको खर्च र आम्दानीको तथ्यांकसमेत र सो वापतको कर हालसम्म सरकारले लिएको छैन ।


पुष्प दुलाल