‘यार्चागुम्बा’ ब्राण्डमा अब बियर, वाइन र मिनरलवाटर पनि उत्पादन हुने, ४५ करोड लगानी



काठमाडौं । नेपालमा उत्पादित प्रिमियर लिक्वायर ब्राण्ड ‘यार्चागुम्बा’ उत्पादन गर्दै आएको एभरेष्ट हब्र्स प्रोसेसिङ प्रालिले नुवाकोटमा रहेको मुख्य कार्यालयलाई शाखा उद्योगका रुपमा रुपान्तरण गर्ने भएको छ ।

नयाँ व्यवस्थापनले टेकओभर गरी नयाँ स्वादमा यार्चागुम्बा ब्राण्डको मदिरा उत्पादन गरेको एभरेष्ट हब्र्सको मूख्य कार्यालय काठमाडौंको बालाजुस्थित विशेष आर्थिक क्षत्रेमा राखिएको छ ।

व्यवसायी लक्ष्मण क्षेष्ठले लामो समयदेखि याचागुम्बा ब्राण्डमा मदिरा उत्पादन गर्दै आएका थिए ।

कम्पनीमा बिकी गोयन्का र गोविन्द अग्रवालको प्रवेशसँगै यार्चागुम्बा ब्राण्डको मदिरालाई नयाँ स्वादमा आएको हो । यार्चागुम्बा उत्पादक कम्पनी एभरेष्ट हर्ब्सको अध्यक्षमा संस्थापक श्रेष्ठ नै भए ।

सार्वजनिक नहुँदै १० हजार बोतल बिक्यो नेपालमै बनेको सर्वाधिक महंगो मदिरा यार्चागुम्बा वेभरेज

नयाँ भिजन र लगानीसहित थपिएका गोयन्का र अग्रवाल कार्यकारी प्रबन्ध सञ्चालक र प्रबन्ध सञ्चालक भए ।

नुवाकोटको ककनीमा रहेको कार्यालयलाई शाखा कार्यालयका रुपमा उद्योग विभागमा दर्ता गरेको छ ।  नेपालमा उत्पादित प्रिमियम ब्राण्डको यार्चागुम्बा छोटो समयमा अत्यधिक रुचाइएको पेय पदार्थ हो ।

गत चैतदेखि मदिरा उत्पादन भएपनि कम्पनीले अहिलेसम्म औपचारिकरुपमा सार्वजनिक गरेको छैन ।

कम्पनीले सार्वजनिक नहुँदै १० हजार बोतल बिक्री गरिसकेको जानकारी दिएको छ । स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात शुरु गरिसकेको छ ।

उद्योग विभागका अनुसार कम्पनीको शाखा उद्योग नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा स्थापना हुनेछ । कुल ४५ करोड रुपैयाँ लगानी रहने भनिएको शाखा उद्योगमा १०५ जनाले रोजगारी पाउनेछन् ।

कम्पनीले शाखा उद्योगबाट यार्चागुम्बा ब्राण्डमा ३० यूपी र ५० यूपीका ४ लाख लिटर मदिरा उत्पादन गर्नेछ ।

नेपालकै महंगो मदिरा ‘यार्चागुम्बा’ यसरी भयो रि-ब्राण्डिङ, विश्वभर पुर्याउने गोयन्का र अग्रवालको सपना

त्यसैगरी कम्पनीले ६ हजार लिटर यार्चागुम्बा लिक्वायर, ६ हजार लिटर यार्चागुम्बा सिलाजित मदिरा, ६ हजार लिटर यार्चागुम्बा बियर, ९ हजार ५०० लिटर यार्चागुम्बा बियर र ६ लाख लिटर इएचपी मिनरल वाटर उत्पादन गर्नेछ ।

हाल नेपालमा बिक्री हुने यार्चागुम्बा मदिरा ७५० एमएलको बोतल उपलब्ध छ । जसको मूल्य ११ हजार रुपैयाँ पर्छ ।

तर यसको अन्तर्राष्ट्रिय मूल्य भने २ सय ३९ अमेरिकी डलर तोकिएको छ ।

नेपालमा बिक्री हुने यार्चागुम्बाको अल्कोहलको मात्रा ४० प्रतिशत छ भने विदेशमा बिक्री हुने यार्चागुम्बामा अल्कोहलको मात्रा २८ प्रतिशत भएको कम्पनीले जानकारी दिएको छ ।

यार्चागुम्बा ब्राण्डलाई संसारभर पुर्याएर नेपाललाई चिनाउने कम्पनीका लगानीकर्ताहरुको दाबी छ ।


पुष्प दुलाल