सार्वजनिक नहुँदै १० हजार बोतल बिक्यो नेपालमै बनेको सर्वाधिक महंगो मदिरा यार्चागुम्बा वेभरेज



काठमाडौं । मदिरा पारखीहरुले नेपालमा उत्पादित प्रिमियर लिक्वायर ब्राण्ड ‘यार्चागुम्बा’लाई अत्याधिक रुचाएका छन् ।

लकडाउनका बेला गत चैतमा उत्पादन गरिएको सर्वाधिक महंगो यार्चागुम्बा ब्राण्डको मदिरा अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

तर, यो अवधिमा १० हजार बोतल बिक्री भएको यार्चागुम्बाको उत्पादक कम्पनी एभरेष्ट हर्ब्स प्रोसेसिङ प्रालिका कार्यकारी प्रवन्ध निर्देशक बिक्की गोयन्काले जानकारी दिए ।

‘उत्पादन शुरु गरेपनि लकडाउनका कारण बजारमा पठाउन सकिरहेका थिएनौं,’ गोयन्काले क्लिकमाण्डूसँग भने, ‘बजारमा पठाउन थालेको केही महिनामात्रै भयो । अहिलेसम्म १० हजार बोतल बिक्री भइसकेको छ ।’

कूल बिक्रीमध्ये ८० प्रतिशतभन्दा दशैं र त्यसयता भएको उनीहरुको भनाइ छ । कम्पनीले कूल ११ हजार बोतल उत्पादन गरेको थियो ।

‘आजसम्म नेपालको कुनै पनि त्यस्तो ब्राण्ड छैन, जो विश्वले चिनोस्,’ अग्रवालले क्लिकमाण्डूसँग भने, ‘हामी यो ब्राण्डलाई विश्वभर फैलाउँदैछौं ।’

यो मदिराको ७५० एमएलको बोतलकै नेपालमा ११ हजार रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय बजारका लागि भने २३९ अमेरिकी डलर करिब मूल्य तोकिएको छ ।

नेपालमा बिक्री वितरण गरिने यार्चागुम्बामा अल्कोहलको मात्रा ४० प्रतिशत रहेको छ भने विदेशमा बिक्री वितरणका लागि उत्पादन गरिएको यार्चागुम्बामा अल्कोहलको मात्रा २८ प्रतिशतमात्रै रहेको छ ।

बजारमा पठाए पनि मार्केटिङ र ब्राण्डिङ भने गरिएको छैन ।

‘केही महिनाभित्रमा औपचारिकरुपमा सार्ववनिक गर्छौं,’ गोयन्काले भने, ‘अहिले जे जति बिक्री भएको छ त्यो ‘माउथ मार्केटिङ’ले हो ।

बजारले गरेको रेस्पोन्सले आफूहरु निकै उत्साहित भएको उनले बताए ।

‘लकडाउनकै बेला बोतलकै ११ हजार पर्ने मदिरा उत्पादन शुरु गर्नु भनेको हामीसँग यो प्रोडक्टले उपभोक्ताको मन जित्छ भन्ने आत्मविश्वासका कारणले हो,’ गोयन्काले भने, ‘हाम्रो आत्मविश्वास पूर्णरुपमा सफल भएको छ । देश विदेशबाट अहिले हामीलाई आइरहेको प्रतिक्रियाले हामी अत्यन्तै उत्साहित छौं ।’

नेपाललाई विश्वभर चिनाउने उद्देश्यले यार्चागुम्बाको उत्पादन शुरु गरिएको कम्पनीका प्रवन्ध निर्देशक गोविन्द्र अग्रवालले जानकारी दिए । र, यो ब्राण्डको ९० प्रतिशत बजारको लक्ष्य पनि विश्वभर नै हो ।

‘आजसम्म नेपालको कुनै पनि त्यस्तो ब्राण्ड छैन, जो विश्वले चिनोस्,’ अग्रवालले क्लिकमाण्डूसँग भने, ‘हामी यो ब्राण्डलाई विश्वभर फैलाउँदैछौं ।’

यार्चागुम्बा ब्राण्डको मदिरा विश्वका अधिकांश देशका विमानस्थलहरुका ‘ड्युटी फ्रि सप’हरुमा पुग्नेछ । त्यसका लागि हङ्कङमा यार्चागुम्बा नामक ट्रेडमार्क दर्ता भइसकेको छ । वितरण भने नेपालबाटै गरिने छ ।

कम्पनीले सरकारबाट वर्षमा कूल १२ लाख बोतल मदिरा उत्पादन गर्ने अनुमति पाइसकेको छ ।

नेपालमा ११ हजार रुपैयाँ बोतलमा बिक्री गर्दा आफूहरुलाई कुनैपनि फाइदा नभएको उनीहरुको भनाइ छ ।

के के छन् विशेषता ?

‘यो न ह्वीस्की हो, न भोड्का, जिन वा रम हो, न त बियर नै,’ गोयन्का र अग्रवाल संयुक्तरुपमा भने, ‘यो त यार्चागुम्बा र अन्य ९ प्रकारका दुर्लभ जडीबुटीहरुको सम्मिश्रणबाट बनाइएको औषधीय गुणसहितको अल्कोहलिक वेभरेज हो ।’

‘यार्चागुम्बा इज यार्चागुम्बा, दिस इज दि युनिक लिक्वायर अन दि वर्ड,’ उनीहरुले थपे, ‘यसमा कलर, फ्लेवर र कुनैपनि प्रकारको केमिकल मिसाइएको छैन । यो अग्र्यानिक छ । र, यसको उत्पादन प्रक्रियामा मेशिनको प्रयोग पनि भएको छैन ।’

# यसअघि प्रकाशित समाचारमा उल्लेख भएका केही विषय हटाइएका छन् – सम्पादक


पुष्प दुलाल