नेपालकै महंगो मदिरा ‘यार्चागुम्बा’ यसरी भयो रि-ब्राण्डिङ, विश्वभर पुर्याउने गोयन्का र अग्रवालको सपना



काठमाडौं । ७/८ वर्षअघि व्यवसायी विक्की गोयन्का काठमाडौंबाट विदेशको यात्रामा थिए । त्यो बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ड्युटी फ्रि सप’मा रहेको एउटा बोतलले गोयन्कालाई आकर्षित गर्यो ।
विश्वले ‘जैविक सुन’ का रुपमा लिने यार्सागुम्बा ब्राण्डमा रहेको रक्सीले गोयन्का आकर्षित भएका थिए ।
‘यार्चागुम्बा नामले मेरो मन तानिसकेको थियो, त्यसमाथि बोतलको आकर्षक बनावट,’ गोयन्काले क्लिकमाण्डूसँग विगत स्मरण गरे, ‘२ बोतल किनेँ र टेस्ट गरे ।’
स्वादले पनि उनलाई तान्यो । त्यसपछि कसले उत्पादन गरेको रहेछ भनेर खोजी गर्न थाले । उनलाई यो ब्राण्ड आफ्नो पार्न हुटहुटी भयो ।
गोयन्काले यार्चागुम्बा ब्राण्डलाई व्यवसाय गर्ने योजना आफ्ना व्यवसायिक मित्र गोविन्द अग्रवाललाई सुनाए । अग्रवाल पनि उत्साहित भए ।
यार्चागुम्बाको उत्पादन व्यवसायी लक्ष्मण क्षेष्ठले गरेका थिए । सिमित उत्पादन भइरहेको यार्चागुम्बा बजारमा खासै पाइने अवस्थामा थिएन । ५/७ वर्षदेखि उत्पादन नै बन्द अवस्थामा थियो । यद्यपि ब्राण्डको नाम भने जोगाइराखेका थिए ।
गोयन्का र अग्रवालले संस्थापक लक्ष्मण श्रेष्ठसँग भेटे । र, आफ्नो योजना सुनाए ।
‘नेपालमा ११ हजार रुपैयाँ पर्ने रक्सी बेचेर हामीलाई फाइदा छैन, हाम्रो फोकस विदेश हो,’ गोयन्का भन्छन्, ‘त्यसका लागि हङ्कङमा ट्रेडमार्क दर्ता गराइसकेका छौं । २०० वटा देशमा प्रतिदेश १०० बोतल मात्रै पठाउने हो भने पनि मोटो विदेशी मुद्रा देश भित्र्याएर योगदान गर्न सकिन्छ ।’
लाइसेन्स जोगाएर ब्राण्डलाई जिवित राखेका श्रेष्ठलाई गोयन्का र अग्रवालको प्रस्ताव आकर्षित गर्यो । उनीहरु ३ जनाबीच सहमति भयो ।
यार्चागुम्बा उत्पादक कम्पनी एभरेष्ट हर्ब्स प्रोसेसिङ प्रालिको अध्यक्षमा संस्थापक श्रेष्ठ नै भए । नयाँ भिजन र लगानीसहित थपिएका गोयन्का र अग्रवाल कार्यकारी प्रबन्ध सञ्चालक र प्रबन्ध सञ्चालक भए ।
नेपालमा बनेको रक्सीको अधिक्तम मूल्य ३ हजार रुपैयाँमात्र थियो । विदेशबाट बनेको ५ लाखसम्म पर्ने रक्सीको समेत खपत हुने देशमा नेपालको आफ्नो ब्राण्डमा ३ हजारभन्दा माथि पर्ने रक्सी थिएन ।
गोयन्का र अग्रवालले कोरोना कहरकैबीच नेपालीहरुका लागि ७५० एमएलको बोतलकै ११ हजार र विदेशमा निर्यात गर्दा २३९ अमेरिकी डलर अर्थात् २८/२९ हजार नेपाली रुपैयाँ मूल्य निर्धारण गर्दै यार्चागुम्बा ब्राण्डमा मदिरा उत्पादन गर्न शुरु गरे ।
नेपालमा गुणस्तरीय वस्तु उत्पादन गरेर अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड स्थापना गरी देशलाई आफूहरुले नचिनाए कस्ले चिनाउने ? भनेर कस्सिए उनीहरु ।
आफूलाई योगीकारुपमा चिनाउन चाहने गोयन्काले जडिबुटीको अध्ययन पनि गरेका थिए । नेपालमा पाइने अलौकिक र महंगो जडिबुटी यार्चागुम्बा हो । जुन किलोकै २०/२५ लाख रुपैयाँ पर्छ ।
यार्चागुम्बाको ब्राण्डमा मदिराजन्य पेय पदार्थ निकाल्ने हो भने ब्राण्डिङ गर्न सकिने र विश्वमा महंगोमा बिक्री गरेर मोटो विदेशी रकम नेपाल भित्र्याउन सक्ने संभावना  देखे ।
यार्चागुम्बाको मिश्रणसहित मदिराजन्य पेय पदार्थ उत्पादन गर्ने सोचलाई मूर्तरुप दिँदै गए । यो उत्पादनलाई कम्पनीले मदिराजनय पेय पदार्थको रुपमा प्रचारप्रसार गरिरहेको छ ।
‘हामीसँग सम्भावना भएको भएको भनेको जडिबुटी हो, यसमा नयाँ काम गर्नका लागि यार्चागुम्बा ब्राण्ड अगाडि बढाउनु सबैभन्दा उपयुक्त थियो,’ उनले सुनाए ।
अहिलेको स्वादमा यार्चागुम्बालाई उत्पादन गर्न उनीहरुले लामो समय विताएको बताए । देशका विभिन्न स्थानमा गएर आफ्नो उत्पादनको टेस्ट गराउँदै हिँडे ।
‘मैले यो टेस्टको लागि करिब ८ महिना अध्ययन गरेर आफ्नो कोठलाई ल्याब बनाएँ, करिब ३०० वटा टेस्टपछि फाइनल गरेको हो,’ गोयन्काले भने ।
कम्पनीले यार्चागुम्बासँगै विभिन्न ९ वटा जडीबुटी सिाएर मदिरा बनाएको दाबी गरेको छ । तर के कति परिमाणमा मिसाइएको छ भनेर भने भनेको छैन ।

‘यार्चागुम्बाले कामसुत्रको संकेत गर्छ अर्थात् जिन्दगीलाई खोल्छ,’ गोयन्काले भने ।
उनका कतिपय दाबी पुष्टी भएका छैनन् । उनी यार्चागुम्बाको मदिरालाई मध्यमामा परिणत गरेको दाबी गर्छन् ।
‘प्राचीन समयमा ऋषिहरुले सिकेको सीप प्रयोग गरेर मदिरालाई रसायनमुक्त बनाएको छु, यसमा कुनै रसायन मिसाइको छैन,’ यो विषयमा आफू चुनौती दिन सक्ने दाबी गर्दै गोयन्काले भने, ‘हामीले रसायनमुक्त भएको हङकङबाट प्रमाणपत्र समेत पाएका छौं ।’
रासायनिक तत्वहरु नमिसाएकाले यो मदिरा पिउँदा ह्याङ नहुने र १०८ वटा रोग निको पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको दाबी छ । । यद्यपी यो कुराको स्वतन्त्र पुष्टी भने भएको छैन ।
बोतको प्रस्तुतीको मानवको आकृतिमा गरिएको दाबी गर्छन् उनीहरु । मानव आकृतिको खुट्टाभन्दा माथिको भागलाई बोतलको स्वरुपमा दिइएको छ । मानव शरीरको माथिल्लो भागले इन्जिनको रुपमा काम गर्ने हुँदा बोतलको आकार मानव आकृतिमा दिएको हो ।
यार्चागुम्बालाई के भनेर चिनाउने त ? कम्पनीका प्रवन्ध निर्देशक गोविन्द अग्रवाल प्रतिप्रश्न गर्दै भन्छन्,- ‘चीनको माउथाइलाई के भनेर चिनाउने ? वा कोरियाको सोजुलाई ?’ यो ह्विक्सी, बियर र वाइन केही पनि होइन, अल्कोहलिक ड्रिङ्क यार्चागुम्बा हो ।’

नेपालकै सर्वाधिक महंगो, विदेश निर्यात गर्ने उदेश्य

गोयन्का र अग्रवालले लकडाउनकै समयमा यसको सफ्ट लन्च गरेका थिए । धेरैले यो लकडाउनको समयमा नेपालमै बनेको यति महंगो रक्सी बिक्दैन भन्ने प्रतिक्रिया दिए  । तर उनीहरुलाई यसले बजारमा तहल्का मच्चाउँछ भन्ने आत्मविश्वास थियो ।
‘धेरैले हामीलाई लकडाउनको समयमा महंगो मूल्यमा रक्सी ल्याएर गलत गरेको सुझाव दिएका थिए,’ गोयन्का र अग्रवाल भन्छन्, ‘तर हामीलाई के विश्वास थियो भने कुनैपनि व्यक्तिले एकपटक चाखेपछि मन पराउँछ नै ।’
औपचारिकरुपमा सार्वजनिक नगरेरै पनि यार्चागुम्बाले एउटा ब्राण्ड बनाएको छ । अहिलेसम्म आएको सुझावबाट गोयन्का र अग्रवाल निकै नै उत्साहित छन् । नेपाली बजारमा अहिलेसम्म १० हजार बोतल बिक्रीसमेत भइसकेको छ ।
कम्पनीले वर्षमा १२ लाख बोतल रक्सी बनाउने लाइसेन्स पाएको छ ।
‘नेपालमा ११ हजार रुपैयाँ पर्ने रक्सी बेचेर हामीलाई फाइदा छैन, हाम्रो फोकस विदेश हो,’ गोयन्का भन्छन्, ‘त्यसका लागि हङ्कङमा ट्रेडमार्क दर्ता गराइसकेका छौं । २०० वटा देशमा प्रतिदेश १०० बोतल मात्रै पठाउने हो भने पनि मोटो विदेशी मुद्रा देश भित्र्याएर योगदान गर्न सकिन्छ ।’
यो मदिरा ह्यान्डमेड भएको र अर्ग्यानिक भएको कम्पनीको दाबी छ । यसमा चाहिने अल्कोहल भने कम्पनीले बेल्जियमबाट आयात गरिएको छ ।
‘कतिपय मानिसहरुले मेरो बारेमा आलोचनासमेत गर्लान्, मानिसहरुलाई अनुसन्धान गर्नेछन्, हामीले केही नयाँ कुरा बजारलाई दिएका छौ,’ गोयन्काले थपे ।
नेपालमा भएको प्रचारले विदेशबाट समेत माग आउन थालेको र कम्पनीले १६० वटा देशमा यार्चागुम्बाबो ब्राण्ड रजिष्ट्रेशनको काम अगाडि बढाएको छ ।
‘हाम्रो उत्पादन प्रत्येक अन्तर्राष्ट्रिय विमानस्थलका ड्युटी फ्रि पसलहरुमा हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढिरहेका छौं,’ उनले सुनाए ।
अहिले ककनीमा रहेको उद्योग केही समयभित्र बालाजु औद्योगिक क्षेत्रमा सर्ने छ ।
कसरी पिउने ?
यार्चागुम्बाको वास्तविक स्वाद लिने हो भने केही पनि नहाली अर्थात् नेट पिउन सुझाव दिन्छन् गोयन्का ।
‘नेट पिउन सक्नुहुन्न भने पनि पहिलो ३० एमएलचाहीँ नेट पिउनुहोस् र यसको वास्तविक स्वादको अनुभूति शरिरका प्रत्येक अङ्गलाई गराउनोस्,’ उनले भने, ‘त्यसपछि थोरै मात्रामा आइस राख्नुहोस्, पानी राख्नुहोस् । अरु कुनैपनि कुरा नमिसाउनुहोस् ।’


पुष्प दुलाल