महासंघका नवनिर्वाचित पदाधिकारीलाई चन्द्रागिरिमा अध्यक्ष गोल्छाको रिट्रिट, १० वर्षे भिजन पेपर पारित हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित पदाधिकारीहरुलाई रिट्रिट पार्टी दिने भएका छन् । गोल्छाको रिट्रिट पार्टी शुक्रबार साँझ चन्द्रागिरि रिसोर्टमा हुने भएको छ ।

चन्द्रागिरि केवलकार र रिसोर्ट महासंघ बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको हो ।

महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज चन्द्रागिरिमा गुड फ्राइडे मनाउने भएका छन् भने शनिबार गंभीर विषयमा छलफल गर्ने कार्यक्रम छ ।

अध्यक्ष गोल्छाले महासंघको १० वर्षे भिजन तयार पारेका छन् । पहिलो कार्यकारीणी बैठकमा गोल्छाले यो विषय प्रस्तुत गरेका थिए ।

शनिबारको पदाधिकारी बैठकमा गोल्छाले तयार पारेको महासंघको १० वर्षे भिजन पेपरमाथि वृहत् छलफल गरी पारित गर्ने कार्यक्रम छ ।

पदाधिकारीबाट पारित भिजनपेपरमा उल्लेख भएका विषयवस्तुहरु अबको १०० दिनमा प्रष्ट कार्यदिशासहित कार्यान्वयनको चरणमा अघि बढाइने गोल्छाले बताउँदै आएका छन् ।

अध्यक्ष गोल्छाको भिजनपत्रमा आन्तरिक उत्पादनमा जोड दिँदै ब्यापार घाटा कम गर्ने र निर्यात बढाउनेमा केन्द्रित छ । अर्थतन्त्रको इन्जिनका रुपमा रहेको रेमिट्यान्सलाई विस्थापित गर्दै निर्यातलाई अर्थतन्त्रको मूख्य इन्जिन बनाउने भिजनपेपरको मूख्य लक्ष्य हो ।

त्यसैगरी, प्रत्येक वर्ष ४ लाखभन्दा बढी नेपाली युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, लगातार केही वर्ष दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने, निजी क्षेत्रको भूमिका अझ फराकिलो बनाउँदै लैजाने र राज्य र समाजले हेर्ने उद्योगी व्यवसायीलाई सम्मानित नागरिकको रुपमा बनाउने, डिजिटल इकोनोमीको विस्तार लगायत उल्लेख छन् ।

त्यसका लागि गोल्छाले भिजनपत्रमा के के समस्या छन् भनेर मात्रै उल्लेख गरेका छैनन् । समस्याको पहिचान गरी समाधानका उपायहरुसमेत प्रष्टरुपमा उल्लेख गरेका छन् ।

यसरी समाधानका उपायहरु पनि उल्लेख भएकाले महासंघको भिजनपेपर अनुसार सरकारलाई नीतिगत परिवर्तन गर्न दबाब पर्नेछ ।

लामो समयसम्म आन्तरिक गुटबन्दी र चरम राजनीतिको चक्रब्यूहुमा महासंघ फसेकाले व्यवसायीका एजेण्डा र नीतिगत हस्तक्षेपमा महासंघको भूमिका निकै नै कमजोर बन्दै गइरहेको छ ।

गोल्छाले यो कुरालाई मनन गर्दै निजी क्षेत्रलाई सबल, सुदृढ र सक्षम बनाउने उदेश्यका साथ भिजन पेपर तयार पारेका हुन् ।

गत साता भएको निर्वाचनमा गोल्छा प्यानलको प्रष्ट बहुमत आएकाले महासंघलाई अब उनको भिजन अनुसार बढाउन सक्ने देखिएको छ ।


पुष्प दुलाल