डिबेञ्चरमा बैंकले झुक्याए लगानीकर्ता, स्वीकृत भएको ब्याजदर संशोधन गरेर कस्ले कति घटाए ?



काठमाडौं । वाणिज्य बैंकहरुले ऋणपत्र जारी गर्ने क्रममा लगानीकर्तालाई ब्याजदरका विषयमा झुक्याएका छन् ।

शुरुमा ऋणपत्र निष्काशन गर्न १० प्रतिशतभन्दा बढी ब्याजदर दिने भनेपनि अहिले ८.२५ प्रतिशतमा झरेका छन् ।

१० वटा वाणिज्य बैंकहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएका ऋणपत्र (डिबेञ्चर) को ब्याजदर संशोधन गरेका हुन् ।

अधिक तरलता भएपछि राष्ट्र बैंकबाट स्वीकृत भई धितोपत्र बोर्डमा अनुमतिको प्रक्रिया रहेका डिबेञ्चरको समेत बैंकहरुले ब्याजदर घटाएर फेरि स्वीकृति लिएका हुन् ।

डिबेञ्चर जारी गर्न सम्बन्धी बैंकको संचालक समितिले पास गरेपछि राष्ट्र बैंकबाट ब्याजदर स्वीकृति लिएर धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने हुन्छ ।

राष्ट्र बैंकले राष्ट्र बैंकले २०७६ साउनमा वाणिज्य बैंकले २०७७ असार मसान्तसम्म पुँजीको २५ प्रतिशत डिबेञ्चर जारी गरिसक्नु पर्ने निर्देशन दिएको थियो । जसमा डिबेञ्चरको ब्याजदर न्यूनतम १०.५ प्रतिशत ब्याजदर हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।

राष्ट्र बैंकले कोरोना संक्रमणको प्रभाव बैंकहरुको व्यवसायमा देखिए पछि डिबेञ्चरको ब्याजदर संशोधन गरेर न्यूनतम ८.५ प्रतिशत कायम गरेको छ ।

तर कोरोना संक्रमण शुरु हुन अगावै राष्ट्र बैंकबाट स्वीकृति लिएर धितोपत्र बोडबाट अनुमति लिने क्रममा रहेका बैंकहरुले समेत जारी गर्न लागेको डिबेञ्चरको ब्याजदर संशोधन गरी घटाएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैंकले तोकिएको समयमा बैंकहरुलाई पुँजीको २५ प्रतिशत डिबेञ्चर जारी गर्न गाह्रो भएको गुनासो आएपछि राष्ट्र बैंकले २०७८ असार मसान्तसम्म समयसीमा बढाएको छ ।
गत वर्ष १७ वाणिज्य बैंक र २ वित्त कम्पनी गरी १९ संस्थाले ४५ अर्ब २५ करोड रुपैयाँ बराबरको डिबेञ्चर जारी गरेका थिए ।

हाल राष्ट्र बैंकबाट १२ वटा बैंकले डिबेञ्चरका लागि स्वीकृति लिएर बोर्डमा अनुमातिका लागि पाइपलाइनमा छन् । जसमध्ये १० वटा वाणिज्य बैंकहरुले भने न्यूनतम १०.५ प्रतिशत ब्याजदरमा पहिले नै स्वीकृति पाएपनि पुन ब्याजदर संशोधन गरी घटाएर न्यूनतम ८.५ प्रतिशत बनाएका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता, कर्जा तथा निक्षेपको ब्याजदर घटेको कारणले डिबेञ्चरको रेटपनि संशोधन गरिएको राष्ट्र बैंक नियमन विभागका एक अधिकारीले बताए ।

‘केही महिनायता फिस्क्ड डिपोजिटको रेट पनि घट्यो र अहिले तरलता समेत बैंकहरुमा बढी छ, त्यही कारण डिबेञ्चरको रेट राष्ट्र बैंकले घटाएको हो,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने ‘रेट घटाएपछि दर्जन बढी वाणिज्य बैंकहरु डिबेञ्चरको ब्याजदर संशोधन गराएका छन् ।’

राष्ट्र बैंकबाट डिबेञ्चरको ब्याजदर फिक्स्ड गराएर स्वीकृति लिएर धितोपत्रमा पाइपलाइका प्रक्रियामा रहेका बैंकहरुले समेत ब्याजदर घटाएका उनले जानकारी दिए ।

कुन बैंकले कतिले घटाए ?

बैंक अफ काठमाण्डूले पहिले १०.२५ प्रतिशत ब्याजदर निर्धारण गरी राष्ट्र बैंकबाट डिबेञ्चर जारी गर्ने स्वीकृति लिएको थियो । बैंकले पुन ८.५ प्रतिशत ब्याजदर संशोधन गरेको छ ।

साथै, पहिले नै स्वीकृत भइसकेको डिबेञ्चरको ग्लोबल आइएमई बैंकले १०.१० प्रतिशतबाट ८.५ प्रतिशत, सेञ्चुरी बैंकले १०.५ प्रतिशतबाट ९ प्रतिशत, सानिमा बैंकले १०.२५ प्रतिशतबाट ८.५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १०.२ प्रतिशतबाट ८.५ प्रतिशत ब्याजदर सशोधन गरेको हो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १०.२५ प्रतिशतबाट ८.२५ प्रतिशत, प्राइम बैंकले १०.५ प्रतिशतबाट ८.७५ प्रतिशत, एनएमबि बैंकले १०.२५ प्रतिशतबाट ८ प्रतिशत र एनसीसी बैंक १०.५ प्रतिशतबाट ९.५ प्रतिशत ब्याजदर संशोधन गरी राष्ट्र बैंकबाट स्वीकृत लिएका हुन् ।

सिद्धार्थ बैंकले १०.२५ प्रतिशत ब्याजदरमा डिबेञ्चर जारी गर्न राष्ट्र बैंकमा स्वीकृतिका क्रम रहेको थियो । तर प्रक्रिया पुरा गर्दा बैंकले ८.५ प्रतिशत ब्याजदरमा स्वीकृति लिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

नेपाल बैंकलाई भने राष्ट्र बैंकबाट डिबेञ्चरको ब्याजदर संशोधन गर्न स्वीकृति हालसम्म प्राप्त भएको छैन ।

ब्याजदर संशोधनको लागि राष्ट्र बैंकमा बैंकले निवेदन दिएपछि विभागले गभर्नर कार्यालय पठाएको तर गभर्नरबाट स्वीकृति भएर नआएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

बैंकले पहिले १०.२५ प्रतिशत ब्याजदरमा डिबेञ्चर जारी गर्न स्वीकृति लिएको थियो । पछि पुनः ब्याजदर संशोधन गरी ८.२५ प्रतिशत ब्याजदरमा जारी गिर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएको थियो ।

सिभिल बैंकले भने पछिल्लो पटक ९ प्रतिशत ब्याजदरमा नै डिबेञ्चर जारी गर्न राष्ट्र बैंकबाट स्वीकृति लिएको हो ।


पुष्प दुलाल