राइड सेयर बजारमा आयो ‘एटेन्ड’, एपबाटै ट्राभल प्याकेज र हेलिकोप्टर बुक गर्न सकिने



काठमाडौं । राइड सेयर बजारमा नयाँ कम्पनी ‘एटेन्ड’को प्रवेश भएको छ । आज (मंगलबार)देखि एप लञ्च गरेको कम्पनीले सेवाप्रवाहको दायरा फराकिलो पार्दै देशभर उपलब्ध हुने जानकारी दिएको छ ।

कम्पनीका निर्देशक भिमकान्त भण्डारीका अनुसार मंगलबारदेखि एप लञ्च गरिएको हो । जसमा बाइक र ट्याक्सीको सुविधादेखि ट्राभल प्याकेज र हेलिकोप्टरसम्मको सुविधा उपलब्ध हुनेछ ।

‘ग्राहकहरुलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध होस् भन्ने उद्देश्यले हामीले बाइक र ट्याक्सीको सुविधासँगै, कार, जीप, ट्रक, एम्बुलेन्स, शववाहन र हेलिकोप्टरसम्मको सुविधा समेत उपलब्ध गराएका छौं,’ उनले भने ।

उनका अनुसार ग्राहकहरुले एपमार्फत् ट्राभल प्याकेज समेत खरिद गर्न सक्छन् । यदि कुनै व्यक्ति वा समूह ट्राभल प्याकेज लिएर घुम्न जान चाहन्छन् भने उनीहरुले एपमार्फत् बुकिङ गरी जान सक्ने उनले जानकारी दिए ।

भण्डारीले ट्राभल प्याकेज हाल अन्य कम्पनीहरुले उपलब्ध गराइरहेको रेटभन्दा १० प्रतिशतसम्म सस्तो हुने जानकारी दिए ।

हाल प्रतिष्पर्धी कम्पनीहरुले सीमित क्षेत्रमा मात्रै उपलब्ध गराएको सुविधाको दायरालाई बिस्तार गरी देशभरी नै सेवा उपलब्ध गराउने भएको उनले बताए ।

एप एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध गराइएको छ । जसमा ग्राहकका लागि ‘एटेन्ड एप’ र ड्राइभरका लागि ‘एटेन्ड ड्राइभर’ एप बनाइएको छ ।

कम्पनीका अनुसार हालसम्म ५ सयभन्दा बढी सवारी साधन कम्पनीसँग जोडिसकेका छन् । त्यसैगरी कम्पनीमा हालसम्म ७० जना कर्मचारी आबद्ध भइसकेका छन् । कम्पनीले आगामी दिनमा ७ वटै प्रदेशमा कार्यालय स्थापना गरी सेवाप्रवाह गर्ने योजना बनाएको छ ।

एड्भान्स बुकिङ
कम्पनीले ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै रियल टाइम बुकिङसँगै एड्भान्स बुकिङ समेत गर्न सक्छन् । जस्तै तपाईंले कुनै ठाउँमा जानु पर्यो वा कम्पनीमार्फत् सेवा लिनु परेमा एमबाटै केही दिन अगाडि नै एड्भान्स बुकिङ गर्न सक्नेछन् ।

सेयर राइड बाहेकको सुविधा
कम्पनीले सेयर राइडबाहेकका अन्य सुविधा पनि उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीका निर्देशक भण्डारीका अनुसार ग्राहकहरुले सेयर राइडबाहेक अन्य विभिन्न प्रकारका सुविधा घरमै पनि उपभोग गर्न सक्नेछन् ।

‘एपमार्फत् सेयर राइडबाहेक घरसम्म औषधि पुर्याइदिने, कोभिड परीक्षण घरमै पुगेर गरिदिने, आवश्यकता अनुसार डाक्टर र नर्सबाट घरमै पुगेर सेवा ग्राहकले पाउनेछन्,’ उनले भने ।

सस्तो सेवा शुल्क
प्रतिष्पर्धी बजारलाई ध्यानमा राख्दै कम्पनीले ग्राहकहरुले सस्तोमा सेवा उपभोग गर्न पाउन भन्ने उद्देश्यले १० प्रतिशत मात्रै कमिसन लिने जानकारी दिएको छ । तर शववाहन र एम्बुलेसन्स सेवा उपलब्ध गराएवापत भने कम्पनीले कुनै पनि सेवा नलिने स्पष्ट पारेको छ ।

शववाहन र एम्बुलेन्स सेवा ग्राहकले भनेको समयमा एममार्फत् पाउन सक्ने र त्यसका लागि कुनै पनि सेवा शुल्क कम्पनीले नलिने भण्डारीले जानकारी दिए ।

बीमा
कम्पनीले राइड लिने र राइड दिने दुबैको तेस्रो पक्षको बीमा समेत गरिएको जानकारी दिएको छ । यसले हुन सक्ने सम्भावित दुर्घटनाबाट क्षतिपूर्ती उपलब्ध हुनेछ ।

इमर्जेन्सी बटन
कम्पनीले ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै एपमा इमर्जेन्सी बटन समेत राखिदिएको । जसलाई ग्राहकहरुले आपत्कालीन अवस्थामा एपमा रहेको इमर्जेन्सी बटनमा क्लिक गर्दा प्रहरी र आफन्त ९आफूले रोजेको नम्बर०ेमा म्यासेज तुरुन्तै पुग्छ ।

सजिलो भुक्तानी
कम्पनीले भुक्तानी सहज होस् भन्ने उद्देश्यले भुक्तानी प्रणालीलाई डिजिटलाइज बनाएको छ । ग्राहकहरुले आफूले तिर्नुपर्ने रकम कुनै पनि बैंकको एटीएम कार्ड प्रयोग गरेर भुक्तानी गर्न सक्छन् । एटीएम कार्डमा भएको नम्बर र भुक्तानी गर्ने रकम राखेपछि सहजै भुक्तानी गर्न सकिन्छ । हाल कम्पनीले ६१ वटा बैंकका एटीएमबाट भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको छ ।


क्लिकमान्डु