ह्याकरहरुको नयाँ धन्दाः करोडौं लुटेर परोपकारी संस्थालाई वितरण



काठमाडौं । गैरकानूनी रुपमा कोही कसैले तथ्यांक चोर्नु तथा कब्जामा लिनुलाई गैरकानूनी मानिन्छ । यो कानूनी प्रश्न हो । विज्ञान तथा प्रविधिले प्रदान गरेको सहजता एकातिर  छ भने अर्को तिर त्यसले प्रदान गरेको चुनौती पनि उत्तिकै रहेको छ ।

संसारभर नै गैरकानूनी रुपमा अर्काको अकाउण्टमा प्रवेश गर्ने र डेटा चोरी गर्ने कार्यमा ठूलो जमात नै रहेको छ ।
उक्त समूहलाई ह्याकरको नाम दिइन्छ ।

उनीहरुको एउटा समूहले आफूले लुटेको रकम परोपकारी संस्थालाई दान गरेपछि यस्तो नयाँ खालको घटना देखेर विज्ञहरू नै छक्क परेको बिबिसीले जनाएको छ ।

डार्कसाइड भनेर चिनिने समूहका ह्याकरहरूले विभिन्न कम्पनीबाट दशौँ लाख डलर धुतेका छन्। तर आफूहरू ‘विश्वलाई राम्रो स्थान’ बनाउन भएको उनीहरूको दाबी गरेका छन् ।

सञ्चालकको पहिचान नखुल्ने हिसाबले चलाइएको वेबसाइटमार्फत् उनीहरूले दुईवटा परोपकारी संस्थामा १० हजार डलर बिटक्वाइन चन्दा दिएको रसिद समेत सार्वजनिक गरेका छन्। त्यसमध्ये एउटा चिल्ड्रेन इन्टरन्याश्नलले आफूले उक्त रकम स्वीकार नगर्ने बताएको बिबिसीको समाचारमा उल्लेख छ ।

उक्त कदमलाई नैतिक र कानुनी दुवै रूपमा आश्चर्यजनक र समस्याकारी घटनाक्रमका रूपमा लिइएको छ।ह्याकरले अमेरिकी विश्वविद्यालयबाट १३ करोड बराबरको रुपैयाँ कब्जा गरेका थिए ।

गत अक्टोबरको मध्यमा राखेको ब्लग पोस्टमा ह्याकरहरूले आफूहरूले धेरै नाफामा रहेका कम्पनीहरूलाई मात्रै तारो बनाउने बताएका थिए। उनीहरूले त्यस्ता संस्थाका आईटी प्रणाली फिरौती नपाएसम्म अवरुद्ध गरिदिने गरेका थिए । उनीहरूले लेखेका थिए, ‘ हामीलाई लाग्छ कम्पनीहरूले तिरेको केही रकम परोपकारमा जानु उपयुक्त हो।’

उनीहरुले तपाईँहरूले हाम्रो काम जति खराब भएको ठान्नूस्, हामी कसैको जीवन परिवर्तन हुनेगरी सहयोग गर्न पाएको थाहा पाउँदा प्रसन्न छौँ। आज हामीले हाम्रो पहिलो चन्दा दिर्यौ भनेका छन् ।

ती साइबर आक्रमणकारीहरूले दुईवटा परोपकारी संस्था द वाटर प्रोजेक्ट र चिल्ड्रेन इन्टरन्याश्नललाई ०.८८ बिटक्वाइन पठाएकोमा प्राप्त करको रसिद पनि पोस्ट गरेका थिए।

चिल्ड्रेन इन्टरन्याश्नलले बालबलिका, परिवार र समुदायलाई भारत, फिलिपिन्स र संयुक्त राज्य अमेरिका सहित १० वटा देशमा काम गर्छ। उक्त संस्थाका प्रवक्ताले बीबीसीसँग भनेका छन् ‘ यदि उक्त चन्दा ह्याकरहरूसँग जोडिएको छ भने त्यसलाई स्वीकार गर्ने इच्छा हाम्रो छैन ।’

साइबर सुरक्षा कम्पनी इम्सीस्फटका विश्लेषक ब्रेट क्यालोका अनुसार दानमार्फत् अपराधीहरू के प्राप्त गर्न खोजिरहेका छन् त्यो प्रष्ट छैन। सम्भवतस् यसले उनीहरूलाई आफ्नो पश्चात्तापका लागि सहयोग गर्छ।

अथवा अहंका कारणले उनीहरू विवेकशून्य फिरौती लिने व्यक्तिभन्दा पनि आफूलाई रबिन हुडजस्ता पात्रका रूपमा हेरियोस् भन्ने चाहन्छन ।

डार्कसाइड तुलनात्मक रूपमा नयाँ समूह हो। तर क्रिप्टोकरेन्सी बजारको विश्लेषणले उनीहरूले सक्रिय रूपमा पीडितहरूबाट रकम असुलिरहेको देखाउँछ।

गत जनवरीमा ट्राभलेक्ससहितका नाम चलेका कम्पनीहरू साइबर आक्रमणको निसानामा परेका थिए। ती लक्षित आक्रमणसँग जोडिएका साइबर अपराधीहरूसँग उनीहरूको सम्बन्ध भएको हुनसक्ने प्रमाण भेटिएका छन्।

ह्याकरहरूले परोपकारी संस्थाहरूलाई रकम दिएको विषयले सुरक्षा निकायहरूलाई पनि चिन्ता थपिदिएको छ।

आक्रमणकारीहूले विश्वका ६७ वटा गैरनाफामूलक संस्थाहरूको अमेरिकामा रहेको सेवा प्रदायक द गिभिङ ब्लकमार्फत् चन्दा दिएका हुन्।

सेभ द चिल्ड्रेन, रेन फरेस्ट फाउन्डेशन र सीइज द फर्स्ट आदि संस्थाहरूलाई पनि सेवा दिने उसले आफूलाई क्रिप्टोकरेन्सीलाई स्वीकार गर्ने एक मात्र गैर नाफामूलक समाधान रूपमा अनलाइनमा चिनाएको छ।

द गिभिङ ब्लकले साइबर अपराधीहरूले दिएको चन्दाबारे आफू बेखबर रहेको जनाएको छ।

द गिभिङ ब्लकले दाताबाट उसले सङ्कलन गरेका विवरणबारे पनि खुलाएको छैन। बिटक्वाइनजस्ता डिटिजल मुद्रा किनबेच गर्ने कम्पनीहरूले प्रयोगकर्ताहरूले आफ्नो पहिचान पुष्टि गर्नुपर्ने व्यवस्था गरेका छन् तर यहाँ त्यस्तो गरिएको छ कि छैन भन्ने प्रष्ट छैन।

द गिभिङ प्रोजेक्टमार्फत् चन्दा स्वीकार गरिरहेको सीइज द फर्स्ट परोपकारी संस्थाले नाम नखुलेका र सम्भवतः आपराधिक स्रोबाट प्राप्त रकम लिन आफूहरूले असहज महसुस गर्ने जनाएको छ।

उक्त संस्थाका अनुसार खराब पात्रहरूले अवसरको दुरुपयोग गरी व्यक्तिगत फाइदाका लागि क्रिप्टोकरेन्सी चन्दा दिनु लाजमर्दो हो र हामी अपेक्षा गर्छौँ कि परिचय खुलाउन नचाहने हाम्रा दाताहरूले हाम्रो मूल्य र मान्यतालाई सम्मान गर्नेछन् । बिबिसी


पुष्प दुलाल