एनआईसीका सीइओ न्यौपानेको तलब ३७ लाखले बढ्यो, सिटिजन्सका पोखरेलले तिरे ६२ लाख कर



काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेको तलब सुविधा एकवर्षमा ३७ लाख रुपैयाँले बढेको छ ।

बैंकको वार्षिक प्रतिवेदन अनुसार न्यौपानले गत आर्थिक वर्ष २०७६/७७ मा २ करोड ५० लाख बुझेका छन् । यसमा न्यौपानेले करिब ३६ प्रतिशत आयकर बुझाउनुपर्छ ।

आर्थिक वर्ष २०७५/७६ मा न्यौपानेले २ करोड १३ लाख रुपैयाँ तलब सुविधा बुझेका थिए ।

बैंकले न्यौपानेलाई तलब र बोनस बाहेक सवारी चालकसहितको गाडी लगायतका सुविधा दिएको छ ।

एनआईसी एशिया बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश दिएको छ ।

त्यसैगरी, सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गत आर्थिक वर्ष २०७६÷७७ मा १ करोड ३१ लाख रुपैयाँ तलब भत्ता बुझेका छन् । जसबाट उनले सरकारलाई ६२ लाख २८ हजार २२९ रुपैयाँ आयकर बुझाएको बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा सार्वजनिक गरेको छ ।

आयकर कटाएर पोखरेलले गतवर्ष बैंकबाट ६९ लाख ६१ हजार ७७१ रुपैयाँ बुझेका छन् । तलबभत्ता बाहेक पोखरेलले बोनससमेत पाउँछन् । सवारी चालक सहित गाडी बैंकले सीइओ पोखरेललाई उपलब्ध गराउने गर्छ ।


पुष्प दुलाल