महासंघ उपाध्यक्ष अर्बपति रामचन्द्र संघई, जो आइपीओमा १० कित्ता सेयर भर्न छुटाउँदैनन्



काठमाडौं । व्यवसायिक घराना त्रिवेणी ग्रुपका निर्देशक रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघको एशोसियटतर्फको उपाध्यक्षमा निर्वाचित भए ।

अर्बपति संघई उद्योग, ट्रेडिङ, बैंकिङ इनर्जी, रिटेल र मनोरन्जन क्षेत्रमा गरेका छन् ।

त्रिवेणी ग्रुपले सगरमाथा सिमेन्टको उत्पादन गर्छ । जसलाई गतवर्ष सबैभन्दा बढी र समयमा मूल्य अभिबृद्धि कर बुझाएको भनेर आन्तरिक राजस्व विभागले सम्मान गरेको थियो ।

त्यस्तै, सरकारले बढी निर्यात गरेको भन्दै महत्वपूर्ण व्यवसायिक सम्मान पनि गरेको थियो ।

ग्रुप एक दर्जनभन्दा बढी ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता हो । काठमाडौंमा पछिल्लो समय लोकप्रिय रहेको ‘बिगमार्ट’को लगानीकर्तासमेत संघईको त्रिवेणी ग्रुप हो ।

यसबाहेक ग्रुपको एनआईसी एशिया, नेपाल लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकमा लगानी छ ।

महासंघका एशोसियट उपाध्यक्ष संघई आफैँ एनआईसी एशिया बैंकका संचालक हुन् । उनको नाममा एनआईसी एशिया बैंकमा संस्थापक र सर्वसाधारण गरेर करिब ४ लाख कित्ता सेयर छ ।

आइपीओका शोखिन

अर्बपति व्यवसायी संघई १० कित्तामात्र सेयर पाइने भएपनि आइपीओ भर्न भने छुटाउँदैनन् । क्लिकमाण्डूलाई प्राप्त विवरणअनुसार संघईले पछिल्लो समय निष्काशन भएका अधिकांश कम्पनीको सेयरमा आइपीओ भरेका छन् ।

सेयर बजारका लगानीकर्ताबीच ‘हटकेक’ बनेको नेपाल पुर्नबीमा कम्पनीमा उनले ९ हजार ७ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । बाँडफाँडमा उनले ४० कित्ता सेयर पाएका थिए ।

यस्तै रिलायन्स लाइफ इन्स्योरेन्समा समेत उनले १० कित्ता सेयर पाएका छन् । अजोड र जनरल इन्स्योरेन्समा संघईले १० कित्ता सेयरको लागि आवेदन गरेका थिए । जसमा १० कित्ता सेयर पाएका छन् ।

यसबाहेक समाज लघुवित्तमासमेत उनले १० कित्ता सेयरका लागि आवेदन गरेका थिए । जसमा उनले १० कित्ता नै सेयर पाएका छन् ।


पुष्प दुलाल