अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर भारतीय कम्पनीले मासिक ६ करोड डोज कोरोनाको खोप बनाउने



काठमाडौं । भारतमा एक पछि अर्को गर्दै कोरोना संक्रमितको संख्यामा बढोत्तरी भएको छ । कोरोना प्रभावित देशमा अमेरिका पछि भारतको नाम आउँछ ।

पछिल्लो विवरण अनुसार भारतमा थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ४९६ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६९६ पुगेको छ ।

यहाँ कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८८ लाख २ हजार २६७ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा महाराष्ट्र,दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित राज्यको रुपमा रहेको छ । भारतमा ५० हजार भन्दा कम व्यक्ति सक्रमित भएको समेत २२ औं दिन हो ।

भारतमा १३ करोड ९५ लाख ३ हजार ८०३ जना व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले आइतबार जानकारी दिएको छ ।

हिजो अर्थात नोभेम्बर २८ का दिनमा मात्र १२ लाख ८३ हजार ४४९ जनाको परिक्षण गरिएको पनि आइसिएमआरले जनाइएको छ ।

यही सन्दर्भमा भारतको सिरम इन्टिच्यूटका प्रमुख कार्यकारी अधिकृतले आगामी दुई साता भित्र कोविसिल्ड नामक कोरोना विरुद्धको खोप आपतकालीन रुपमा प्रयोगका लागि तयार हुने जानकारी दिएका छन् ।

शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुणेस्थित बेस्ड सिरम इन्टिच्यूट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत अदार पूनावालले कोविसिल्डको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका हुन् । उनले आपतकालीन रुपमा अब कोरोना भाइरस विरुद्धको खोप प्रयोग गर्न सकिने जानकारी दिएका हुन् ।

भारतमा पछिल्ला दिनमा विभिन्न ५ प्रकारका खोपमा काम भइरहेको छ । त्यसमा पूणेको सिरम पनि एक हो । कोविसिल्ड अक्सफोर्ड विश्वविद्यालय तथा फार्म कम्पनी एस्ट्राजोनसँगको सहकार्यमा तयार भएको हो । पुनावालले खोपको तेस्रो चरणको परिक्षण चलिरहेको र सकारात्मक नजिता प्राप्त भइरहेको बताए ।

उनले सरकारको योजना अनुसार नै के कति मात्रामा खोज जरुरी पर्दछ, सोही अनुसार खरिद गर्ने विषयमा समेत कुराकानी चलीरहेको बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार आगामी जुलाईसम्म ३०० देखि ४०० मिलियन डोज खोपको बारेमा विचार विमर्श भइरहेको छ । खोपको प्रयोगपछि अस्पताल भर्ना गर्नुपर्ने बिरामीको संख्यामा समेत कमीआउने विश्वास लिइएको छ ।

कोविसिल्डको परिक्षण पनि दोहोरो गरिएको छ । पहिलो चरणमा यसको प्रभावकारिता ६२ प्रतिशत रहेको थियो । दोस्रो चरणमा ९० प्रतिशत देखिएको छ ।औसतमा ७० प्रतिशत बढी प्रभावकारी देखिएको छ ।

आगामी जनवरीदेखि हरेक महिना ५ देखि ६ करोड खोप तयार हुनेछ । यस्तै, ८ देखि १० करोड डोजको स्टक समेत तयार हुने छ । सरकारको आदेश लगत्ते खोपको आपूर्ति पनि गर्ने तयारी गरिएको उनले बताए ।


पुष्प दुलाल