डिजिटल कारोबार: ३ महिनामा क्यूआर कोड स्क्यानमा सवा २ अर्ब, इकमर्शको अढाइ अर्ब



काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएसँगै विश्वव्यापी अर्थतन्त्रमा डिजिटजाइसेनको चर्चा चुलिएको छ ।

लामो समयदेखि अर्थतन्त्रमा डिजिटाइजेसनको आवश्यकता र सम्भावनाबारे बहस भए पनि महामारीको समयमा भने यसको आवश्यकता बलियो बन्दै गएको छ ।

जसका कारण अहिले विद्युतीय कारोबार नेपालमा मात्रै होइन विश्व अर्थबजारमा पनि बढेको देखिएको छ ।

नेपालमा लामो समयदेखि बैंकिङ क्षेत्रमा प्रविधि प्रयोगलाई बढावा दिइँदै आइएको छ । यद्यपि इन्टरनेटको पहुँच, जनचेतनाका कारण भने यसले अपेक्षाकृतरुपमा सफल भएको थिएन ।

तर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ३ महिनाको तथ्यांक हेर्दा क्यूआर कोड स्क्यान, इकमर्श, पीओएस, मोबाइल बैंकिङलगायतको कारोबार अत्यधिकरुपमा बढेको देखिएको छ ।

नगद बोक्ने झन्झट पनि नहुने र मोबाइलको एपमार्फत् सहजै भुक्तानी गर्न पाइने भएपछि ग्राहकहरु पनि यसैमा सहज मान्न थालेको तथ्यांकले पुष्टि गरेको छ ।

त्यसका साथै कोरोना महामारीका कारण बढेको इकमर्शको व्यापार, क्यूआर कोडको सहज उपलब्धताले पनि यसको महत्व बढाएको छ ।

कोरोना महामारीका कारण मुलुकमा लामो लकडाउनको समयमा मानिसहरु घरभित्रै बस्न बाध्य भए ।

बैंक तथा वित्तीय संस्थाहरुले पनि सीमित कर्मचारी तथा शाखामार्फत् सेवा दिन थाले । जसले गर्दा भौतिकरुपमा उपस्थित भएर गरिने नगद वा चेकको कारोबारको विकल्पमा विद्युतीय कारोबारमा बढी उत्साह देखिएको हो ।

क्यूआर कोड स्क्यान

राष्ट्र बैंकको तथ्यांकअनुसार क्यूआर कोडमार्फत् हुने कारोबार साउन, भदौ र असोज महिनामा मात्रै २ अर्ब २२ करोड रुपैयाँको भइसकेको छ ।

तथ्यांकअनुसार साउन महिनामा १ लाख ९५ हजार १६ वटा कारोबार संख्याबाट ५८ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो । साथै भदौ महिनामा १ लाख ७९ हजार १५० वटा कारोबार संख्याबाट ६४ करोड ८० लाख रुपैयाँको कारोबार भइसकेको छ ।

त्यसैगरी असोज महिनामा २ लाख ६५ हजार १२५ वटा कारोबारमार्फत् ९६ करोड ९० लाख रुपैयाँको कारोबार भइसकेको छ ।

इकमर्श

कोरोना महामारीका कारण इकमर्शको व्यापार निकै बढ्यो । चैत ११ गतेदेखि लकडाउन भएसँगै मानिसहरु अनलाइनमार्फत् हुने खरिदमा बढी जोड दिए ।

लकडाउनका कारण घरबाहिर निस्कन नमिल्ने भएकाले उपभोक्ताहरुले अनलाइनबाटै आवश्यक सामान अर्डर गर्न थालेका थिए ।

लकडाउन शुरु भएपछि कारोबार शुरु गरेको ग्यापु अनलाइनले पनि एक महिनामै करोडौं रुपैयाँको कारोबार गर्न भ्याएको थियो । त्यसबाहेक पहिलेदेखि नै बजारमा राम्रो पकड बनाएका दराज, सस्तो डिललगायतका अनलाइन स्टोरहरुको व्यापार चम्किएको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा मात्रै १ लाख ६८ हजार ६२७ वटा इकमर्शमार्फत् कारोबार भएको थियो । जसमा १ अर्ब २० करोड १० लाख रुपैयाँको कारोबार भएको थियो ।

त्यसैगरी भदौ महिनामा आइपुग्दा लकडाउन खुकुलो भएकाले इकमर्शको कारोबार केही कम भएको थियो ।

तथ्यांकअनुसार भदौ महिनामा साउन महिनाको तुलानामा कारोबार संख्या झण्डै ५० प्रतिशतले कमी आएको थियो । भदौ महिनामा मात्रै इकमर्शमार्फत् हुने कारोबार संख्या ८७ हजार ७ वटा मात्रै थियो । जसवापत ५६ करोड १० लाख रुपैयाँको कारोबार भएको थियो ।

त्यसैगरी असोज महिनामा इकमर्शको कारोबारमा भने केही बढोत्तरी देखिएको थियो । दशैं जस्तो पर्व नजिक आइरहेको र अनलाइन स्टोरहरुले पनि विभिन्न अफर ल्याएकाले मानिसहरुको आकर्षण भदौ महिनाको तुलनामा असोजमा केही बढेको थियो ।

असोज महिनामा १ लाख १३ हजार ५२ वटा इकमर्श कारोबारबाट ७९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मोबाइल बैंकिङ

कोरोना महामारीमा मोबाइल बैंकिङ प्रयोग गरी कारोबार गर्नेहरुको संख्या र कारोबार पनि उसैगरी बढेको छ ।

असारदेखि असोजसम्म ४ महिनाको अवधिको तथ्यांकलाई विश्लेषण गर्दा कारोबार रकम उल्लेख्यरुपमा वृद्धि भएको छ ।

गत असार महिनामा मोबाइल बैंकिङमार्फत् ५८ लाख १७ हजार ६८१ वटा कारोबारबाट १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो ।

त्यसैगरी साउन महिनामा ५९ लाख २३ हजार ४११ वटा कारोबारबाट १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँ, भदौ महिनामा ५९ लाख ६१ हजार ३३९ वटा कारोबारबाट २० अर्ब ३४ करोड रुपैयाँको कारोबार र असोज महिनामा ७८ लाख ५० हजार १५४ वटा मोबाइल बैंकिङको कारोबारबाट ३८ अर्ब ८० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


पुष्प दुलाल