मन्त्रिपरिषद बैठकः कर्मचारीको ट्रेड युनियनको निर्वाचन स्थगित



काठमाडौंं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

‘निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ’, बैठकपछि
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने ‘ कोभिडका कारण अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको हो ।’

त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण मङ्सिरलाई सारिएको थियो ।

ट्रेड युनियनको निर्वाचन त्यसअघि गत जेठ १९ गते हुनुपर्ने थियो । कोरोना भाइरसको जोखिमका कारण निर्वाचन स्थगन हुँदै आएको छ ।


पुष्प दुलाल