गिफ्ट दिने नयाँ शैली, प्रियजनलाई सेयर उपहार !



तपाईं प्रियजनलाई उपहार दिँदा के दिनुहुन्छ ? पक्कै पनि तपाईंले कुनै उपयोगी वस्तु नै दिनुहुन्छ होला । जसमा सजावटका सामानदेखि फेन्सी आइटमसम्म हुन सक्छ वा अरु केही ।

तर जे जस्तो उपहार दिए पनि तपाईंको चाहना उपहार लिने व्यक्तिको मुहारमा उपहारका कारण खुसी आओस भन्ने नै तपाईंको चाहना हुन्छ ।

तर यदि तपाईं सेयर बजारमा हुनुहुन्छ भने तपाईंले आफ्नो प्रियजनलाई उपहारकारुपमा केही सेयर पनि दिन सक्नुहुन्छ । ताकी उनीहरुले आफ्नो लगानीको यात्रा शुरु गर्न सकुन् वा आफ्नो पोर्टफोलियोको लगानी बढाउन सकुन् ।

यसप्रकारको उपहार दिने प्रक्रिया केही झन्झटिलो भने पक्कै छ ।

नेपालमा सेयर उपहार दिन चलन त्यत्ति छैन । कसैले दिइहाल्यो भने पनि प्रियजनका लागि आफूले लगानी गरेर खरिद गर्नेका कामसम्म केहीले गरेको पाइन्छ ।

नेपाली सेयर बजारका खेलाडी मानिने निर्मल प्रधानले केही समयअघिको एक वार्तामा आफूले परिवारका सदस्यको जन्मदिनलगायतका अवसरमा सेयर उपहार दिएको बताएका थिए । तत्कालिन समयमा उनले आफूले लगानी गरेर उनीहरुको नाममा खरिद गरेको बताएका थिए ।

त्यसबाहेक प्रमोटर सेयर पनि उपहारका रुपमा प्रियजनलाई लगानीको शुरुवात गर्नका लागि दिइएको यदाकदा पनि पाइन्छ ।

तर भारतको डिजिटल ब्रोकिङ फार्म जेरोधाले भने डिजिटल प्लेटफर्ममार्फत् ‘गिफ्टिङ स्टक’ सेवा शुरु गरेको छ । जसका माध्यमबाट आफूसँग भएको सेयर वा कुनै सेयर खरिद गरेर प्रियजनलाई उपहार दिन सकिने कम्पनीले जनाएको छ ।

‘हामीले जहिले पनि दीर्घकालीन रुपमा होस् भन्ने उद्देश्यले स्टक, म्यूचुअल फन्ड तथा ऋणपत्रमा हुने लगानीलाई उपहारमा परिणत गर्न चाहेका छौं, तर यो प्रक्रिया निर्वाधरुपमा हुने र सहज भने छैन,’ जेरोधाका सीइओ तथा संस्थापक नितिक कामथले भने, ‘तर भर्खरै शुरु भएको सीडीएसएलले इ–डीआइएसका कारण अब सेयर उपहार दिन सहज भएको छ ।’

यस अन्तर्गत तपाईंले सेयर वा ऋणपत्र उपहारका रुपमा दिन सक्नुहुन्छ । यो पूर्णरुपमा भौतिक उपस्थितीमा हुनेछ ।

यसका लागि उपहार दिनेले डिलिभरी इन्स्ट्रक्सन स्लिप फारम भर्नुपर्ने हुन्छ । जसमा व्यक्तिका नाम, डीपी आइडी, उपहार दिने र लिनेको नाम क्लाइन्ट आइडी र सेयरको संख्या उल्लेख गरिएको हुन्छ । जसमा कहिले उक्त सेयर ट्रान्सफर गर्नुपर्ने हो त्यो समे उल्लेख गरिएको हुन्छ । त्यसपछि उपहार लिने व्यक्तिले पनि फारम भरिसकेपछि उपहारवापत प्राप्त सेयर व्यक्तिको खातामा जान्छ ।

जेरोधा कम्पनीले ल्याएको अफर अन्तर्गत उपहार लिने र दिने दुबै व्यक्तिको अकाउन्ट जेरोधामा हुनुपर्नेछ ।

उपहार दिने व्यक्तिले उपहार पाउने व्यक्तिको मोबाइल नम्बर दिनु पर्ने हुन्छ । र डिम्याट अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ । जेरोधामा अकाउन्ट नहुनेहरुले अनलाइनमार्फत् नै अकाउन्ट खोल्नसमेत सक्छन् ।


पुष्प दुलाल