राजस्वको लक्ष्य पुरा गर्न अर्थमन्त्री पौडेल कठोर बन्ने, कर्मचारीलाई सम्झौता नगर्न सुझाव



अर्थमन्त्री पौडेलद्वारा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरु लगायतको सहभागितामा आज आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड-१९ ले सिर्जना गरेका चूनौतीहरुको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने बताए ।

एनले नियतवश त्रुटी, कमजोरी गर्ने र असल मनसायबाट बिचलित हुने कर्मचारी लगायत जो कोहीलाई पनि नछोड्ने बताए ।

डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदर सहित काम गर्ने अनुकुल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताए ।

‘कठिनाइ र समस्याहरुलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छौ । पूरा नभए तपाईँहरु दण्डित हुनुपर्छु,उनले भने ।

अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक वर्ष सकिदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अनुरोध गरे ।

अर्थमन्त्री पौडेलले समस्या र समाधानका बारे कर्मचारीहरु जानकार रहेको बताउँदै आफ्नै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्वलाई भन्न आग्रह गरे ।

‘आफ्नो तहमा समाधान गर्न सक्नु भएन भने नेतृत्वलाई भन्नुहोस् । हामी सहयोग गर्न तयार छौं ।’उनले भने ।

अर्थमन्त्री पौडेलले परिणाम निकाल्ने गरी काम गर्नका लागि कर्मचारीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा विशेष जोड दिने उल्लेख गर्दै आपसी प्रतिष्पर्धा गरेर काम गर्न पनि अनुरोध गरे ।

स्वस्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी कोभिड-१९ ले सिर्जना गरेका चुनौतीहरुसँग जुध्दै अर्थतन्त्रलाई गतिशील बनाउन दृढताका साथ काम गर्न पनि कर्मचारीहरुलाई आग्रह गरे ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्नाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताए ।

उनले राजस्वको लक्ष्य पूरा गर्न र त्यो भन्दा बढी परिणाम निकाल्नका लागि आवश्यकता अनुसार कार्यक्रम संशोधन र रणनीतिहरु बनाएर अघि बढ्न निर्देशन दिए ।

राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गरे ।


क्लिकमान्डु