
काठमाडौं नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा आयात साढे १२ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालु आवको फागुनसम्ममा १२ खर्ब ८९ अर्ब रुपैयाँको आयात गर्दा नेपालबाट भएको निर्यात भने जम्मा १ खर्ब ९१ अर्ब रुपैयाँ मात्रै छ ।
नेपालले यो अवधिमा २०.८३ प्रतिशतले निर्यात बढाउन सफल भए तापनि आयातको अङ्क बढेका कारण नेपालको वैदेशिक व्यापारको घाटा १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।
यो अवधिमा व्यापार घाटा ११.२२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ८ महिनामा ९ खर्ब ८७ अर्ब रुपैयाँको मात्रै व्यापार घाटा थियो ।
नेपालको कुल वैदेशिक व्यापार भने १३ प्रतिशतले बढेको छ । गत आवको फागुनसम्ममा १३ खर्ब ३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएकोमा यो वर्षको सोही अवधिमा १४ खर्ब ८० अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ ।
यो तथ्याङ्क अनुसार नेपालको कुल वैदेशिक व्यापारमध्ये आयातको हिस्सा ८७.०९ प्रतिशत छ भने निर्यातको हिस्सा १२.९१ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।
यो अवधिमा नेपालमा अधिक आयात भएका पाँचवटा वस्तुहरूमा सबैभन्दा धेरै ८२ अर्ब रुपैयाँको डिजेल छ । त्यसपछि भटमासको कच्चा तेल ६६ अर्बको, पेट्रोल ४३ अर्बको र ग्यास ३७ अर्ब रुपैयाँको छ ।
यो अवधिमा २३ अर्ब रुपैयाँको सुन आयात भएको छ भने २३ अर्ब रुपैयाँको मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।








प्रतिक्रिया