लक्ष्मी विलास बैंक प्रकरणः बैंकले बढी ब्याज दिने अफर गरिरहेको छ ? डुब्ला नि तपाईंको पैसा



Illustration: Ratna Sagar Shrestha/THT

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अस्वाभाविक रुपमा ब्याज दिन्छ भनेर तपाईले खाँखा चिम्लेर पैसा जम्मा गर्ने गर्नुभएको छ ? सामान्यतयाः बैंक तथा वित्तीय संस्थाले बढी भन्दा बढी ग्राहक बनाउने ध्येयका साथ आफूले धान्ने भन्दा बढी ब्याज दिएर ग्राहकलाई तान्ने गरेको पाइएको छ ।

विशेष गरी नेपाल, भारत, बंगलादेश जस्ता देशहरुमा यस्ता प्रचलन असाध्यै बढी मात्रामा रहेको छ । नियमक निकायले बेला बेलामा ल्याउने नियमलाई कतिपय अवस्थामा नमानेर नै उनीहरुले आफूहरुलाई प्रस्तुत गर्ने गरेका छन् ।

नेपालमा पनि यस्तो खालको प्रचलन बढी मात्रामा देखिएको छ । बेला बेलामा बजारको मागका आधारमा ब्याजदर तय गरिएको भन्दै उनीहरुले वास्तविकतालाई समेत नजरअन्दाज गर्ने गरेका छन् ।

नेपाल राष्ट्र बैंकले बेला बेलामा कारवाही गर्ने गरेको भएपनि अवस्था भने बेला बेलामा फरक देखिने गरेको छ । भारतमा पछिल्लो पटक लक्ष्मी विलास बैंकमा समस्या देखा परेपछि दक्षिण एशियामा नै सो विषयले प्रमुखता पाइरहेको छ ।

सामान्यता बैंक तथा वित्तीय संस्था बाह्य कारणले भन्दा पनि आन्तरिक कारणले नै बढी मात्रामा समस्यामा पर्ने गरेको छ ।

नियमककोआँखा छलेर गरिने गलत व्यवहारका कारण समस्यामा परेका त्यस्ता संस्थालाई नियमकले हस्तक्षेप गरेर नागरिकको निक्षेप जोगाएपनि केही भने उठनै नसक्ने गरी समस्यामा परेका कारण जोगाउन समेत मुस्किल भएका घटना पनि हाम्रो सामु छन् ।

भारतका पूर्व राजश्व सचिव राजीव टकरुका अनुसार तपाईले जम्मा गरेको पैसामा बैंकले बढी ब्याज दिने कुरा गरेपनि तपाईले त्यसलाई शंकाको नजरले हेर्नुस, कहि कतै गडबडी त छैन भनेर ।

आम रुपमा सरकारी बैंकमा जम्मा गरिने पैसामा कम व्याज प्राप्त हुन्छ । उनले यो सन्दर्भ भारतको हकमा भनेको भएपनि नेपालमा पनि अवस्था खासै फरक छैन । केही निजी क्षेत्रका बैंकले सरल र सहज रुपमा सेवा दिने भन्दै सरकारी बैंकको तुलनामा बढी ब्याज दिने गरेका छन् ।

उनी भन्छन् ‘ अस्वाभाविक रुपमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले बढी ब्याज दिन्छु, पैसा जम्मा गर्नुस भन्दै तपाईलाई प्रस्ताव गरेको खण्डमा उसले किन यसो भनीरहेको छ ? भन्नेमा तपाईको ध्यान हुनु जरुरी छ ।’

नेपालमा पनि पछिल्लो समयमा बचत खातामा असाध्यै कम ब्याजदर रहेको छ । कोरोनाका कारण लगानी विस्तार हुन नसक्दा बचतको मात्रै नभई कर्जाको समेत ब्याजदर कम भएको छ ।

भारतमा नोभेम्बर महिनामा मुद्दती खातामा ४.९ प्रतिशतदेखि ५.५ प्रतिशतसम्म ब्याज निर्धारण गरिएको छ । ब्याजदर कम वा बढी हुँदा त्यसले सामाजिक रुपमा समेत प्रभाव पार्दछ ।

मानिसहरुलाई लाग्न सक्छ कि बढी ब्याज पाउने बैंकमा नै पैसा राखौं । तर, त्यस्तो ब्याजदर के कति समयसम्म जान सक्छ भन्ने बारेमा कुनै ठेगान भने हुँदैन । मुद्दती खाताको हकमा फरक भएपनि अन्य सामान्य वचत खाताको हकमा भने बजारले नै ब्याजदर निर्धारण गर्ने आम मान्यता छ ।

बढी ब्याज दिन्छु भनेर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थाले कसरी त्यस्तो गर्न सक्छन् वा उनीहरुको स्रोत के हो ? भन्नेमा ध्यान दिनपर्ने उनको भनाइ छ । तपाईले यस्तो भरोसापूर्ण व्यवहार गर्नुस् जसबाट तपाईले जम्मा गरेको पैसा जोगाउन सकियोस् ।

भारतको केन्द्र सरकारले लक्ष्मीविलास बैंकमा पैसा जम्मा गरेका ग्राहकलाई पेसा निकाल्नका लागि सीमा तय गरिदिएको छ । १६ डिसेम्बरसम्म खातावालाले एक खाताबाट अधिकतम रुपमा २५ हजार भारतीय रुपैयाँ मात्रै झिक्न पाउने छन् र बैंकका बोर्ड अफ डाइरेक्टर तोकिएका भारतीय रिजर्भ बैंकका व्यवस्थापकले सो निर्णय गरेका हुन् ।

एउटा बैंक डुब्दा त्यसबाट पर्ने प्रभाव असाध्यै ठूलो हुन्छ । समग्र अर्थतन्त्रमा नै प्रभाव पार्ने तथा वित्तीय क्षेत्रलाई समेत समस्यामा पार्ने भएकाले बैंकलाई जोगाउनु राज्यको दायित्व हुन्छ । किनकी बैंक तथा वित्तीय संसथा भनेका विश्वासका आधारमा चल्ने निकाय हुन् ।

सामान्य रुपमा विश्वासमा संकट पैदा भएको खण्डमा त्यसले पार्ने प्रभाव असाध्यै दीर्घकालीन हुन जान्छ ।

रिजर्भ बैंकका अनुसार लक्ष्मी विलास बैंकको आर्थिक अवस्था असाध्यै खराब बन्न पुगेको छ । पछिल्लो ३ वर्षमा बैंक लगातार घाटामा गइरहेको छ । उसको कूल नेटवर्थ ओरालो लागेको छ । कुनै रणनीतिक योजनाको अभावमा बैंकको आर्थिक स्वास्थ्य क्रमशः नकारात्मक बन्दै गएको छ ।

यसभन्दा पहिले सन् २०१९ मा पञ्जाव एण्ड महाराष्ट्र को अपरेटिभ बैंक (पिएमसी)मा पनि त्यस्तै संकट देखा परेको थियो । त्यतिबेला पनि बैंकमा जम्मा गरिएको पैसा सुरक्षित छ त भन्ने प्रश्न उठेको थियो ।

त्यतिबेला बैंक समस्यामा परेको खण्डमा खातावालाको पैसा ५ लाख रुपैयाँ भन्दा बढी भएको खण्डमा मात्रै कर्जा सुरक्षणको नाममा ५ लाख रुपैयाँसम्म पाउने अवस्था थियो । भारतको चालु आर्थिक बर्षको बजेटमा समेत सोही व्यवस्था कायम नै रहेको छ ।

प्रश्न यहाँ पनि उठ्छ , के त्यति रकमले ग्राहकको रकम जोगिन सक्छ त ? कतिपय अवस्थामा त्यो असम्भव नै हुन जान्छ ।

नेपालमा मात्रै नभई भारतमा समेत सरकारी बैंक बढी सुरक्षित रहेको आम धारणा छ । २०५० को दशकमा नेपालका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक समस्यामा परेका थिए ।

यस्तै, भारतमा पनि सरकारी स्वामित्वका बैंकहरु बेला बेलामा समस्यामा परेका उदाहरण छन् । भारतमा त नियमकले हस्तक्षेप नै गरेर सरकारी बैंकहरुलाई मर्ज नै गराएको उदाहरण छ ।

एउटै बैंकमा विश्वास नभएको खण्डमा जानकारहरुले विभिन्न बैंकमा पैसा जम्मा गर्ने सुझाव पनि दिने गरेका छन् । मानिसहरु एक भन्दा बढी बैंकमा खाता खोल्न झन्झट मान्छन् ।

तर, भारतमा लक्ष्मी विलास बैंक र पिएमसी बैंकमा देखिएको समस्याका कारण अब विभिन्न बैंकमा खाता खोल्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ । सो बारेमा यतिबेला भारतमा राम्रै बहस भइरहेको छ ।

भारतको बैंक बजार डट कमका प्रमुख कार्यकारी अधिकृत आदिल सेटठीका अनुसार बढी भन्दा बढी बैंकमा खाता खोल्ने विकल्प पनि आफैमा राम्रो हो । परिवारका अन्य सदस्यको नाममा नै किन नहोस ।

कुनै बैंक समस्यामा पर्यो र त्यसबाट कम पैसा पाउने अवस्था आएको खण्डमा अर्को बैंकमा आफनो पैसा सुरक्षित हुन सक्छ । अर्थात् कम मात्रामा क्षति हुन सक्छ ।

भारतका राजश्व सचिव राजीव टकरुका अनुसार तपाईले जुन बैंकमा खाता खोल्न लाग्नु भएको छ , त्यो बैंकको अवस्थाको बारेमा राम्ररी जानकारी लिनु आवश्यक छ ।

बैंकको व्यालेन्ससिट हेरेपछि अवस्था पत्ता लाग्छ । आम मानिसलाई व्यालेन्ससिटको बारेमा पनि जानकारी नहुन सक्छ । त्यसकारण जानेका मान्छेसँग बुझनु उपयुक्त हुन्छ । यस्तै सेयर बजारमा बैंकको अवस्था के छ भनेर पनि हेर्न सकिन्छ ।

निक्षेपका रुपमा जम्मा भएको पैसा लगानी गरेर नै नाफा कमाउने, त्यसबाट ग्राहकलाई ब्याज दिने तथा बैंक सञ्चालन हुने भएकाले पनि ग्राहकले नै अवस्थाको बारेमा राम्रोसँग जानकारी लिनु जरुरी हुने जानकारहरुको भनाइ छ । बिबिसीको सहयोगमा


पुष्प दुलाल