किशोर प्रधानको चुनावी भेलामा पूर्वअध्यक्ष चण्डीराजलाई ध्रुवे हात्ती भनियो, कस्ले के भने ?



काठमाडौं । नेपाल उद्योग महासंघको आगामी निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेद्धार किशोर प्रधानको टिमलाई भोट माग्न नेपालगञ्ज पुगेका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालमाथि आक्रोश पोखेका छन् ।

उनले आगामी अध्यक्ष शेखर गोल्छालाई काम गर्न दिन्न भनेर पूर्वअध्यक्ष चण्डीराज ढकालले विधान विपरितको अभिव्यक्ति दिँदै हिँडेको भन्दै महासंघमा यस्तो प्रवृत्ति हटाउनुपर्नेमा जोड दिए ।

निवर्तमान अध्यक्षका हैसियतमा आफू महासंघको हरेक बैठकमा पुगे पनि डेढ वर्षसम्म कुनै कुरा नबोलि फर्किएको तर जब विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्नबाट रोक्ने बहस सुरु भयो त्यसपछि आफू सक्रिय भएको मुरारकाले जानकारी गराए ।

‘शेखर गोल्छाले के अपराध गरेका छन् र हटाउँछु भनेर धम्की दिइन्छ ?’ मुरारकाले प्रश्न गर्दै भने, ‘पहिला वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष बन्ने विधानअनुसार मतदान गरेर जिताएका मतदाताको अपमान हुने गरी अहिले अध्यक्षकारुपमा काम गर्न दिन्न भनेर धम्क्याउने काम राम्रो होइन ।’

गोल्छाले किशोर प्रधानको समूहलाई आफ्नो समूह भनेकै कारण अध्यक्षले चाहेको समूहलाई निर्वाचनमा विजयी गराउनुपर्ने मुरारकाको भनाई छ ।

महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले महासंघको आगामी नेतृत्व सम्हाल्ने तयारीमा रहेको गोल्छा आफ्नो ‘भिजन पेपर’ बनाउने अभियानमा रहेको जानकारी गराएका छन् । उनले सो भिजन पेपरलाई कार्यसमिति, प्रदेश समिति, जिल्ला समिति र हरेक नगर समितिसहित पूर्वअध्यक्षहरुलाई पनि देखाएर पारित गराउने र देशैभरका उद्योगी व्यवसायीका एजेण्डा एउटै बनाउने अभियानमा गोल्छा लागेका कारण आफूले उनले चाहेको समूहलाई सहयोग गरेको बताएका छन् ।

उनले सहमतिमा नै नेतृत्व चयन हुनुपर्ने भए पनि चन्द्र ढकालले ‘मेरो गोरुको बाह्रै टक्का’ गरेका कारण सहमतिको वातावरण भाँडिएको पनि बताए ।

‘म भए हुन्छ, अर्को भए हुँदैन भनेर वार्ताको टेवलमा बसेर सहमति हुन सक्दैन,’ जोशीले भने, ‘एउटा उम्मेद्वार पूर्व अध्यक्षहरु बस्नुहोस् जे निर्णय गर्नुहुन्छ मलाई मान्य छ भन्नुहुन्छ, अर्को उम्मेद्वार म अगाडी बढिसकेँ अब पछाडी फर्किन्न भन्नुहुन्छ । यसरी आफ्नो स्वार्थलाई केन्द्रमा राखेर संस्थाको हित हुन सक्दैन, पछाडी फर्किनै सक्दिन भनेका कारण सहमतिको प्रयास सफल हुन सकेन ।’

वरिष्ठ उपाध्यक्षका उम्मेद्वारका किशोर प्रधानले आफूले करदाता र रोजगारदाताको सम्मानका लागि लड्ने बताए ।

करदातालाई वडा सदस्यभन्दा तल्लो वरियतामा राखिनु दुःखद भएको भन्दै प्रधानले जिल्ला महासंघको अध्यक्षलाई राज्यमन्त्री सरह र जिल्ला अध्यक्षलाई सांसद पछिको वरियता दिलाउन आफूले लविङ गर्ने बताए ।

‘मेरो पहिलो काम अध्यक्षलाई झण्डा हल्लाएर गौरवका साथ हिड्न सक्ने बनाउनु हो’ प्रधानले भने, ‘केन्द्रमा अध्यक्षको वरियता मिलेपछि जिल्ला र नगरमा पनि सोही अनुसारको प्रोटोकल बन्छ ।’

प्रधान समूहले नेपालगञ्जमा ३५ वटा जिल्ला नगरका अध्यक्ष सहभागी गरेर भेला गरेको छ ।

महासंघको आगामी अध्यक्ष शेखेर गोल्छाले समेत आफ्नो समूह भन्ने गरेको प्रधान प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति उम्मेद्वार छन् ।

जिल्ला नगर उपाध्यक्षका उम्मेद्वार दिनेश श्रेष्ठले उद्योगी र व्यवसायीहरु बैंकबाट ठगिने गरेको गुनासो गरेका छन् । बैंकहरु विगतका जमिनदार जस्तो भएको भन्दै उनले व्यवसायी र उद्योगीहरुलाई पीडा दिने बैंकहरुविरुद्द लड्ने प्रण गरेका छन् ।

‘कर, भ्याटका समस्या जहाँको त्यही छन्, बैंकहरु नाफामुखी मात्रै भएका छन्’ श्रेष्ठले भने, ‘जमिनदार जस्ता बैंकहरु विरुद्द लडेर व्यवसायीको हितमा काम गर्ने र हरेक जिल्लाका साथीहरुको गुनासो २४ घण्टाभित्र सम्बोधन गर्ने कामलाई मैले पहिलो प्राथमिकतामा राखेको छु ।’

महासंघका केन्द्रीय सदस्य एवम् आगामी निर्वाचनमा पनि खुला तर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार अरुणराज सुमार्गीले महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाललाई ‘धुर्बे हात्ती’ को संज्ञा दिएका छन् ।

सुमार्गीले ध्रुबे हात्तीले एक जनालाई बोकेर चुनाव जिताउने ठेक्का लिने र वर्षौसम्म महासंघमा सेवा गरेकाहरु बाहिरिनुपर्ने बाध्यतालाई अब चिर्नुपर्ने बताए ।

‘महासंघमा एउटा ध्रुबे हात्ती छ,’ चण्डीलाई इंगित गर्दै सुमार्गीले भने, ‘ध्रुबे हात्तीले चुनाव जिताउने ठेक्का लिने प्रवृत्तिका कारण ५० प्रतिशत हकदार भएर पनि जिल्ला नगरबाट आजसम्म आनन्दराज मुल्मीबाहेक अरु व्यक्ति महासंघको नेतृत्वमा पुग्न सकेका छैनन् ।’
प्रधान समूहको चुनावी प्रचारप्रसार संयोजकसमेत रहेका सुमार्गीले थपे, ‘अब यो ध्रुबे हात्तीको आतंक धेरै दिन सहनुपर्ने छैन ।’

आगामी मंसिर ११, १२ र १३ गते महासंघको ५४ औँ साधारणसभा हुँदैछ ।


पुष्प दुलाल