उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै प्रशासनमा निवेदन, अबैधानिक भएको दाबी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन रोक्न गर्न माग गर्दै जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा निवेदन परेको छ।

संस्थाको विधान र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन गर्न लागिएको भन्दै निर्वाचन रोक्न माग गर्दै उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले बिहीबार कठमाडौं प्रशासनमा निवेदन दिएका छन्।

गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवलालयलाई समेत बोधार्थ दिँदै निवेदन दिइएको छ ।

गत चैत २८/२९ गते हुनुपर्ने ५४औं साधारणसभा र निर्वाचन कोरोनाका कारण धकेलिँदै धकेलिँदै मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने भएको छ ।

चैतमा चुनाव नभएपछि महासंघको कार्यसमिति अबैधानिक भएको साहको दाबी छ ।

‘अबैधानिकरुपमा हुन लागेको निर्वाचन रोकेर बैधानिक तवरले स्वच्छ निर्वाचन होस् भनी यो निवेदन गरेको छु,’ निवेदनमा भनिएको छ ।

महासंघको विधानको दफा ४१ को उपदफा १ को ग मा प्रदेशको चुनाव गरेर मात्रै केन्द्रिय नेतृत्व चनका लागि चुनाव गर्ने व्यवस्था छ । तर अहिले विधान विपरित प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन नै नगरी केन्द्रिय निर्वाचन गर्ने भनिएको हुँदा उक्त काम कारबाहीहरु विधानत अबैध भएको साहको दाबी छ ।

त्यसैगरी, एसोसियटतर्फका मतदाता नामावलीमा दर्ता खारेज भइसकेका र अस्तित्वमा नै नरहेका सदस्यहरुको नामावलीको झुटो विवरण रहेको उनको दावी छ ।

त्यस्तै, एसोसिएटतर्फका सदस्य संस्थाहरुको कम्पनी, निर्देशक र प्रमुख कार्यकारी अधिकृतले मात्र मतदान गर्ने व्यवस्था विधानमा गरिएको छ । तर हाल ती सदस्य मतदाताहरुको फर्जी मतदाताकारुपमा प्रोक्सी मतदान गर्ने व्यवस्था गर्दै निर्वाचन गर्न खोजिएको छ, त्यो सरासर गलत छ, त्यसैले पनि यो निर्वाचन रोक्नै पर्ने अवस्था छ,’ निवेदनमा भनिएको छ । 


पुष्प दुलाल