ताप्लेजुङमा १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजना बन्ने



काठमाडौं । ताप्लेजुङमा र २२ अर्ब रुपैयाँ लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

त्यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई विद्युत उत्पादन अनुमतिपत्र समेत दिएको छ ।

मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोजनाको काम विसं २०७८ असोज महिनादेखि निर्माण शुरुआत हुने आयोजनाका लगानीकर्ता भानेन्द्रकुमार लिम्बूले जानकारी दिए ।

काम शुरु भएको ५ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए । स्वीकृति पाएसँगै अबको ध्यान निर्माणतर्फ केन्द्रीत हुने र स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विद्युत् उत्पादन गर्ने उनले जानकारी दिए ।

कूल ९ किलोमिटर लामो सुरुङमार्गमार्फत विद्युत उत्पादन गरिने जनाइएको छ । फुङ्लिङ नगरपालिका वडा नं १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, २ र ३, मेरिङ्देन वडा नं ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ५ मा आयोजना प्रभावित हुने क्षेत्रमा पर्छन् ।

स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा वातावरणीय प्रभाव मूल्याङ्कनलगायत सबै कार्य सम्पन्न गरिसकेको जनाइएको छ ।


पुष्प दुलाल