कोरोना भाइरसविरुद्धको चिनियाँ खोपः परीक्षण सफलताको मध्य चरणमा प्रवेश
काठमाडौं । पछिल्ला दिनमा कोरोना भाइरसविरुद्धको खोपमा शक्तिसम्पन्न राष्ट्रहरु एकपछि अर्को गर्दै नयाँ नयाँ घोषणा गरिरहेका छन् ।
त्यसै क्रममा पछिल्लो पटक चिनियाँ कम्पनीले तयार पारेको भाइरसको बारेमा समेत सफलता हासिल भएको विवरण सार्वजनिक भएको छ ।
बिबिसीका अनुसार कोभिड १९ विरुद्ध चीनले विकसित गरेको एउटा खोपले त्यहाँ मध्यम चरणका परीक्षणमा सफलताको संकेत गरेको अनुसन्धानकर्ता जानकारी दिएका छन् । चीनमा हाल विभिन्न प्रकारका खोप तयार गरिएको छ भने तीमध्ये केही त मानिसलाई लगाइ पनि सकिएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार सिनोभ्याक बायोटेक नामक समूहले तयार पार्दै गरेको खोपले ७०० जना मानिसमा गरिएको परीक्षणका बेला उनीहरूमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न हुन सकेको चिनियाँ सञ्चारमाध्यमलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।
युरोपेली र अमेरिकी खोपहरूको ठुलो स्तरको परीक्षणबाट प्राप्त तथ्यांकले ती खोप सफल रहेको भन्ने देखाएको विवरणहरू आइरहँदा चिनियाँ कम्पनीका तर्फबाट पछिल्लो घोषणा आएको छ ।
यस्तै, अमेरिका, जर्मनी र रुसमा विकास गरिएको तीनवटा खोपको परीक्षणका तथ्यांक सार्वजनिक भएका छन् र दशौँ हजारमा गरिएको परीक्षणमा ती खोप ९०५ भन्दा बढी नै प्रभावकारी देखिएको बताइएको छ ।
बिबिसीका अनुसार बाँकी विश्वले जस्तै चीनले पनि कोभिड विरुद्धको खोप बनाउन जोडतोडले प्रयास गरिरहेको छ । यसैक्रममा चारवटा खोप चिकित्सकीय परीक्षणको अन्तिम चरणहरूमा प्रवेश गरेका छन् जसमा सीनोभ्याक बायोटेकको खोप पनि रहेको छ ।
प्रतिवेदन अनुसार सिनोभ्याक बायोटेकको कोरोनाभ्याक नाम दिइएको खोपले मानव शरिरमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया जनाउन सकेको जानकारी प्राप्त भएको छ ।
उक्त प्रतिवेदनका एक लेखक झु फेङ्गचाइले भनेका छन् पहिलो चरणमा १४४ र दोस्रो चरणमा ६०० जनामा गरिएको परीक्षणमा आधारित ती नतिजाहरूको अर्थ उक्त खोप ‘आपत्कालीन अवस्थामा प्रयोग गर्न योग्य’ रहेको मान्न सकिने जनाइएको छ । हाल जारी ठूलो स्तरको तेस्रो चरणको परीक्षणका तथ्यांक सार्वजनिक गरिएको छैन।
चीनमा महामारी केही हदसम्म नियन्त्रणमा आएको बताइरहँदा ती चार चिनियाँ खोपहरूको ठूलो स्तरको परीक्षण पाकिस्तान साउदी अरेबिया, रुस, इन्डोनेशिया र ब्राजिलमा भैरहेको छ ।
अधिकारीहरुका अनुसार नोभेम्बर महिनाको आरम्भतिर झण्डै ६०,००० जनाले एउटा खोप लगाइसकेका छन्।
गत हप्ता ब्रजिलमा सिनोभ्याक बायोटेक खोपको परीक्षण केही समयका लागि रोकिएको थियो तर परीक्षणमा संलग्न एकजना स्वयंसेवीको मृत्युको सम्बन्ध खोपसँग रहेको नदेखिएपछि परीक्षण पुनः सञ्चालन गरिएको छ ।
कम्तीमा तीनवटा खोप एउटा आपत्कालीन योजना अनुसार अत्यावश्यक सेवाका कर्मचारीहरूलाई दिइसकिएको छ भने एउटा चाहिँ गत जुन महिनामा नै चिनियाँ सेनाका लागि प्रयोग गर्न अनुमति दिइएको थियो ।
-बिबिसी