कोरोना कहरमा निस्किएको आइडिया, रुपाकोटमा १० करोड लगानीमा स्वीङ बन्दै



कास्की । कास्कीको रुपाकोटमा १० करोड रुपैयाँ लगानीमा स्वीङ निर्माण हुने भएको छ । बैशाख महिनासम्म निर्माण पूरा हुने गरी अहिले धमाधम काम भइरहेको छ ।

‘रुपाकोट रिसोर्ट’ सञ्चालन गरिरहेका पुष्पराज अधिकारी र उनका छोराहरु मिलेर रिसोर्टभन्दा झण्डै ५ सय मिटरको दूरीमा स्वीङ निर्माण गर्न लागेका हुन् ।

‘हाल स्वीङ निर्माणको काम शुरु भइसकेको छ,’ अधिकारीले भने, ‘बैशाख महिनासम्म निर्माण सम्पन्न भएर सञ्चालन भइसक्छ ।’

मनै लोभ्याउने रुपाकोट रिसोर्टः भीआईपीको पहिलो रोजाइ, एक रात बस्न कति खर्च लाग्छ ?

कोरोना महामारीका कारण लकडाउन भएपछि रिसोर्ट सञ्चालन ठप्प थियो । व्यस्त दैनिकीबाट केही समय फुसर्दिला भएका अधिकारी र उनका २ जना छोराहरुले स्वीङ निर्माण गर्ने आइडिया निकालेका थिए । जसलाई उनीहरुले कोरोनाको कहरबीच नै शुरु गरिसकेका छन् ।

कोरोनाका कारण पर्यटन क्षेत्रमा नराम्रो असर पारे पनि अधिकारी भने आगामी दिनलाई लिएर निकै सकारात्मक छन् । कोरोनाको महामारी भए पनि पर्यटन क्षेत्र रिभाइभ हुन धेरै समय नलाग्ने अधिकारीको तर्क छ ।

पर्यटकीय नगरी पोखराबाट गाडीमा १ घण्टाको दूरीमा रहेको रुपाकोट रिसोर्टको छेवैमा अधिकारीले स्वीङ निर्माण शुरु गर्न लागेका हुन् । १८ रोपनी क्षेत्रफलमा फैलिने ‘स्वीङ प्रोजेक्ट’मा नेपाल इन्भेस्टमेन्ट बैंकबाट १० करोड रुपैयाँ ऋण लिएको उनले जानकारी दिए ।

स्वीङ निर्माणको काम सकिए लगत्तै ७० रोपनी क्षेत्रफलमा निर्माण हुने अर्को प्रोजेक्टको काममा अधिकारी सक्रिय हुनेछन् । हाल ७० रोपनी जग्गा खरिद गर्ने काम भइरहेको छ भने खरिद भइसकेको जग्गामा डोजर लगाएर निर्माणको काम शुरु भइसकेको छ ।

‘बैशाखसम्म स्वीङको काम सक्ने र त्यसपछि अर्को प्रोजेक्ट शुरु गर्ने तयारी छ । यद्यपि केही कामहरु भने सँगसँगै शुरु भएका छन्,’ अधिकारीले भने ।

पोखराका चर्चित दुई तालहरु रुपा र बेगनास तालको ठ्याक्कै शिरानमा रहेको रुपाकोटलाई पर्यटकीय गन्तव्य निर्माण गर्ने उद्देश्यले अधिकारीहरुले स्वीङ प्रोजेक्ट शुरु गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय स्तरका सबै मापदण्ड पूरा गरी स्वीङ निर्माण शुरु गरिएको हो, जसमा २ वटा स्वीङ निर्माण हुनेछन्,’ उनले भने ।

अधिकारीका अनुसार उक्त स्थानमा २ वटा स्वीङ निर्माणसँगै स्वीमिङ पुल पनि हुनेछ भने त्यहाँ एउटा झरना पनि निर्माण गरिनेछ । साथै फूडकोर्टलगायत मनोरञ्जनका लागि पनि अन्य संरचनाहरु निर्माण गरिनेछ ।

स्वीङ निर्माण भइसकेपछि आन्तरिक र बाह्य पर्यटकको आगमन हुने अधिकारीको विश्वास छ । हाल १ अर्ब रुपैयाँ लगानीमा रुपाकोट रिसोर्ट सञ्चालन गरिरहेका अधिकारीले अर्को कम्पनी स्थापना गरी स्वीङ निर्माण गर्न लागेका हुन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रुपाकोटबाट हिमालको मनोरम रेञ्ज हेर्न सकिन्छ । रुपाकोटबाट लहरै उभिएका ८ हजार मिटरभन्दा अग्ला ३ वटा हिमालसँग अन्य हिमालहरु पनि आँखै अगाडि देख्न सकिन्छ । भने रुपा र बेगनासको रुप पनि नियाल्न सकिन्छ ।

बेल्जियममा लामो समय रेष्टुराँ व्यवसाय सञ्चालन गरेर स्वदेशी फर्किएका अधिकारीले जन्मथलो रुपाकोटको डाँडामा रहेको जग्गा खरिद गरी रिसोर्ट सञ्चालन गरेका थिए ।

भीआइपीहरुको पहिलो रोजाइमा रहेको रिसोर्टमा नेपालका भीआइपीसहित गत वर्ष बंगलादेशका राष्ट्रपति नेपाल भ्रमण आएका बेलामा समेत त्यहाँ पुगेका थिए । त्यसपछि पनि रुपाकोट रिसोर्टको चर्चा चुलिएको थियो ।

हाल रिसोर्ट २०० रोपनीमध्ये १४० रोपनी क्षेत्रफल अझैं बाँकी छ । जहाँ अधिकारी अग्र्यानिक तरकारी पनि उब्जाइ रहेका छन् । केही क्षेत्रफलमा भैसी पनि पालेका छन् । रिसोर्टका पाहुनाले आफैंले उब्जाएको ताजा तरकारी र दुधको स्वाद लिन पनि पाउँछन् ।

रिसोर्टले पर्यटनमा मात्रै सहयोग गरेको छैन, यसले स्थानीयको जीवनस्तर उकास्नमा र स्थानीय विकासमा ठूलो भूमिका खेलेको छ । अधिकारीले आफ्नै सक्रियतामा पिच बाटो बनाएका छन् । झण्डै ९० जना काम गर्ने रिसोर्टमा ४० जनाभन्दा बढी स्थानीयले काम गरिरहेका छन् ।

तर कोरोनाका कारण अस्थायी रुपमा काम गरिरहेका कर्मचारीहरुको संख्या ६० जनामा सीमित भएको छ । गाइपालन र तरकारी खेतीका लागि १२ जनाको टोली छुट्याइदिएका छन् । रिसोर्ट आएपछि स्थानीयको जीवनस्तर केही मात्रामा उकासिएको छ ।


क्लिकमान्डु