अमेरिकामा तत्काल टिकटकमाथि प्रतिबन्ध नलाग्ने
काठमाडौं । अमेरिकामा तत्कालका लागि टिकटकमा प्रतिबन्ध नलाग्ने भएको छ ।
अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार रातिदेखि टिकटकमाथि लाग्न लागेको प्रतिबन्ध तत्कालको लागि रोकेको छ।
यसअघिको आदेशअनुसार बिहीबार रातिदेखि अमेरिकामा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लाग्नुपर्ने रहेको बिबिसीले जनाएको छ ।
तर वाणिज्य मन्त्रालयले कानुनी प्रक्रिया जारी रहेको भन्दै प्रतिबन्धको कार्यान्वयनमा ढिलाइ गरेको छ। उसले फिलडेल्फियाको अदालतको आदेशलाई पनि देखाएको छ ।
गत सेप्टेम्बरमा त्यहाँ तीन चर्चित टिकटक प्रयोगकर्ताले अमेरिकामा उक्त भिडिओसम्बन्धी सामाजिक सञ्जालको एपलाई प्रतिबन्धित गर्न नहुने जिकिर गरेका थिए।
त्यहाँको वाणिज्य मन्त्रालयको पछिल्लो निर्णय टिकटकका निम्ति ठूलो राहत हो। अमेरिकामा उसका १० करोड प्रयोगकर्ता रहेको अनुमान छ।
सेप्टेम्बरमा टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सले उसको अमेरिकी सम्पत्तिलाई ुटिकटक ग्लोबलुअन्तर्गत राखेर वालमार्ट र ओरकललाई हस्तान्तरण गर्ने घोषणा गरेको बिबिसीले जनाएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसको समर्थन पनि गरेका थिए। तर मङ्गलवार टिकटकले विगत दुई महिनामा अमेरिकी सरकारका तर्फबाट आफूलाई कुनै प्रतिक्रिया नदिइएको जनाएको थियो। राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीलाई विक्री गर्नुपर्ने इच्छा व्यक्त गर्दै आएका छन्।
उनी तथा विदेशमन्त्री माइक पोम्पेओले पटकपटक अमेरिकी प्रयोगकर्ताको डेटा वा सूचना चिनियाँ सरकारले प्राप्त गर्न सक्ने भनेर दाबी गर्दै आएका थिए। तर त्यसबारे कुनै प्रमाण भने प्रस्तुत गरिएको छैन।
चीनसँग कूटनीतिक तनाव बढेपछि भारतले उक्त एपमाथि प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो विकासक्रमबारे टिकटकले कुनै टिप्पणी गरिसकेको छैन।