महसुल बुझाउन अब पोखरा जानु पर्दैन



काठमाडौं । तनहुँका विभिन्न पालिकाका स्थानीयवासीले विजुलीको महशुल बुझाउन पोखराको लेखनाथ जानु आवशयक
थियो ।

यस क्षेत्रमा विद्युत् महशुल काउण्टर नहुँदा स्थानीयवासीले पोखरा पुगेर महशुल भुक्तानी गर्नुपर्ने बाध्यता थियो । तर अब उक्त बाध्यताको अन्त्य भएको छ ।

तनहुँ र नवलपुर जिल्लाका ग्राहकको सहजताका लागि नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रले खैरेनीटार सवस्टेशनमा नोलाइट तथा महशुल काउण्टर सञ्चालनमा ल्याएको छ ।

बेलचौतारास्थित खैरेनीटार सवस्टेशनसँगै निर्माण गरिएको भवनबाट आइतबार सेवा शुभारम्भ गरिएको छ । पहिलो सेवाग्राहीका रुपमा जनकल्याण माध्यमिक विद्यालय बेलचौताराले विजुलीको महशुल भुक्तानी गरेको छ ।

सो अवसरमा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारीले वितरण केन्द्रले दिने सबै सेवा ग्राहकलाई उपलब्ध गराउने बताए ।

उनका अनुसार हाल महशुल काउण्टर र नो लाइटको सेवा दिइएको छ ।‘नयाँ ग्राहक सेवा, मर्मतसम्भार, उजुरीको सेवा पनि थप हुनेछ’ उनले भने ।

गास, बास, कपाससँगै वर्तमान समयमा बिजुली पनि आधारभूत आवश्यकतामा पर्न थालेकाले ग्राहकसँगको सहकार्यमा सेवा विस्तार र थप गर्दै लैजाने तिवारीको भनाइ छ । पर्याप्त जग्गा भएकाले यस ठाउँमा प्रदेशस्तरको ट्रान्सफर्मर वर्कसप राख्ने योजना रहेको उनले बताए ।

शुक्लागण्डकी नगरपालिका–५ का अध्यक्ष दीर्घबहादुर थापाले सेवा विस्तारका लागि सहयोग रहने प्रतिबद्धता नाए । उनले सवस्टेशन सञ्चालनमा आएपछि पनि निरन्तर बत्ती जाने समस्या भएकाले सुधार गर्न सुझाव दिए ।

प्राधिकरणले यहाँबाट सेवा दिन थालेपछि तनहुँ र नवलपुरका उपभोक्ताले पोखराको लेखनाथसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको

खैरेनीटारका बुद्धिबहादुर थापाले बताए ।तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाका करिब २५ हजार सेवाग्राहीले यहाँबाट सेवा पाउनेछन् । नयाँ मिटर जडान, उजुरीलगायत सेवाका लागि पनि अब पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

उक्त स्थानमा गत वर्षको पुसदेखि ३३ केभी प्रसारण लाइन क्षमताको सवस्टेशन सञ्चालनमा आएको छ । प्रसारण लाइनको क्षमता बढेपछि उद्योग कलकारखाना सञ्चालनमा सहयोग पुगे पनि पूर्ण क्षमता नचल्दा बेला न कुबेला झ्याप्पझ्याप्प लाइन जाने समस्याले भने उपभोक्ताले हैरानी खेप्नुपरेको छ ।


पुष्प दुलाल