ङादी आयोजनाको काम धमाधम हुँदै



लमजुङ । पहाडी जिल्ला लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ ।

३० मेगावाट क्षमता रहेको सो आयोजना आगामी ६ महिनाभित्र सक्ने लक्ष्यका साथ कोरोनाको त्रासका बीच कामलाई जारी राखिएको छ ।

आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङका अनुसार हालसम्म ९३ प्रतिशतभन्दा बढी निर्माण सकिएको छ ।

यतिबेला आयोजनाको विद्युत्गृह र बाँधस्थल निर्माण करीब अन्तिम चरणमा पुगेको छ । त्यस्तै आयोजनाबाट साढे ९ किलोमिटर टाढा ट्रान्समिसन लाइन जोड्नका लागि निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

पेनस्टक पाइप लाइनको काम करीब करीब सकिएको छ । इलेक्ट्रोनिक केही काम बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनामा आवश्यक केही यन्त्र नेपाल भारतका सिमानामा रोकिएका कारण निर्माणमा केही समस्या आए पनि केही दिनमा त्यहाँ रोकिएका सामग्री आइपुग्ने आयोजनाले जनाएको छ ।

विसं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले ३ वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।

उक्त सम्झौतानुसार गत चैतमा आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन हुनुपर्ने थियो ।

विविध कारणले निर्माणमा ढिलाइ भइरहेका बेला लकडाउनले समेत आयोजनालाई प्रभाव बनाएकाले लम्बिन पुगेको छ ।

सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले जनाएको छ ।

करीब ६ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा ५ बैंकले ७५ प्रतिशत अर्थात् ४ अर्ब ५० करोड ऋण लगानी गरेका छन् ।

आयोजनामा बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा रु ४.८० र सुक्खायामका लागि रु ८.४० मा विद्युत् खरीद सम्झौता गरेको छ ।

यसबाहेक जिल्लामा निर्माणाधीन करीब एक दर्जन आयोजनाको निर्माण धमाधम भइरहेको छ । आधा दर्जनभन्दा बढी आयोजनाले निर्माण सम्पन्न गर्दै बिजुलीसमेत उत्पादन गरिसकेका छन् ।


पुष्प दुलाल