कोरोना कहरः आर्थिक संकटका बेला चीनमा उदाए नयाँ अर्बपति ‘जोङ सेनस्यान’



ब्लुमबर्ग इन्डेक्सले हरेक दिन ५ सय जना विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूची प्रकाशित गर्छ । ब्लुमबर्गले गत २३ सेप्टेम्बर पनि यस्तै सूची प्रकाशित गर्यो ।

तर त्यसमा चीनको सबैभन्दा धनीको सूचीमा अलिबाबाका संस्थापक ज्याक माको ठाउँमा जोङ सेनस्यान थिए । जो एक बोतलबन्द पानी कम्पनी र औषधि कम्पनीका मालिक हुन् ।

कोरोना भाइरसको महामारी र त्यसले निम्त्याएको आर्थिक संकटका कारण विश्व यतिबेला आक्रान्त छ । विश्वका ठूला अर्थतन्त्र भएका देशको जीडीपी पछिल्लो समय नकारात्मक देखिएको छ ।

यस्तो अवस्थतामा चीनका एक व्यापारी भने विश्वका धनीहरुको सूचीमा मारेको फड्कोले सबैलाई आश्चर्यमा पारेको छ ।

जोङले ज्याक मालाई पछि पार्दै चीनको सबैभन्दा धनी व्यक्तिको सूचीमा आफ्नो नाम लेखाउन सफल भएका थिए । तर यो स्थानमा उनी धेरै समय टिक्न सकेनन् ।

यद्यपि विश्वका सबैभन्दा धनीहरुको सूचीमा २१औं स्थानमा अझै पनि छन् । उनी एसियाको तेस्रो धनी र चीनमा ज्याकमापछि दोस्रो धनीका रुपमा छन् ।

कसरी बढ्यो एकाएक सम्पत्ति ?
ब्लूमबर्गको रिपोर्ट अनुसार ६५ वर्षे जोङको लगानी कन्स्ट्रक्सन, जर्नालिजम, औषधि उत्पादन तथा बोतलबन्द पानीको क्षेत्र छ । तर उनलाई चीनको सबैभन्दा धनीमध्ये एक बनाउनमा भने औषधि र बोतलबन्द पानी उद्योगले योगदान सबैभन्दा बढी दिएका छन् ।

उनको बोतलबन्द पानीको कम्पनी ‘नङफू स्प्रिङ’मा ८४ प्रतिशत हिस्सा छ । यो कम्पनी उनले सन् १९९६ मा स्थापना गरेका थिए ।

‘सेलिब्रिटी नेटवर्थ’ वेवसाइटका अनुसार कम्पनीको हेडक्वाटएर झेइजियाङ प्रान्तमा छ । चीनको यो क्षेत्रमा सबैभन्दा सफा पानी पाइन्छ । यहाँ क्विडनाओ नाम पानीको झरना पनि छ । कम्पनीले यहीको पानी बोतलमा भरेर बिक्री गर्दै आएको छ ।

कम्पनीको ट्यागलाइन छ ‘टेस्ट अ बिट स्वीट’ । र, यो चीनमा निकै लोकप्रिय पनि छ । पानीसँग फ्लेवर्ड वाठर, चिया र जुस पनि उनको कम्पनीले बिक्री गर्दै आएको छ । उनको कम्पनीको पानी साना साना पसलहरुदेखि ठूला ठूला सपिङ मलसम्म पाइन्छ ।

गत १७ सेप्टम्बरसम्म उनको नङफू कम्पनीको मार्केट भ्याल्यू ४८ बिलियन डलर थियो । सोही समयमा कोकाकोलाको मार्केट भ्याल्यू २४९ बिलियन डलर, पेप्सीको १९२ बिलियन डलर थियो ।

उनको अर्को कम्पनी हो वान्टाइ । जसमा उनको ७५ प्रतिशत हिस्सा छ । यो कम्पनीले चीनमा कोरोना टेस्ट किट पनि उत्पादन गरिरहेको छ ।

औषधि उत्पादन गर्ने वान्टिाइ कम्पनीले सन् २०२० को अप्रिल महिनामा उनको औषधि कम्पनी बेइजिङ स्टक मार्केटमा प्रवेश गर्यो । अर्थात् सर्वसाधारणका लागि आइपीओ जारी गर्यो ।

ब्लूमबर्गका अनुसार यो आइपीओ सूचीकृत भएसँगै कम्पनीको जोङको नेटवर्थ २० बिलियन डलर बढेको थियो ।
त्यसपछि उनको अर्को कम्पनी बोतलबन्द पानी उत्पादन गर्ने ‘नङफू स्प्रिङ’ कम्पनी यही सेप्टेम्बर महिनामा हङकङको स्टक एक्सचेञ्जमा प्रवेश गर्यो ।

कारोबार भएको पहिलो दिन नै कम्पनीको सेयर ८५ प्रतिशतले बढ्यो र हङकङको सबैभन्दा ‘हटेस्ट आइपीओ’ बन्न सफल भयो । यसले जोङको नेटवर्थ निकै बढायो ।

यी दुबै कम्पनी स्टक मार्केटमा सूचिकृत भएसँगै उनको सम्पत्तिमा ह्वात्तै बढेको थियो । जसले गर्दा उनले २३ सेप्टेम्बरका दिन चीनका सबैभन्दा धनी ज्याकमालाई पछि पार्दै अगाडि नाम लेखाउन सफल भएका थिए ।

हाल ज्याकमाको सम्पत्ति ५७ बिलियन डलर छ भने जोङको सम्पत्ति ५३.२ बिलियन डलर पुगेको छ । त्यसैगरी एसियाका सबैभन्दा धनी तथा विश्वका ५औं धनी मुकेश अम्बानीको सम्पत्ति ८४.६ बिलियन डलर छ ।


क्लिकमान्डु