कोभिडका कारण शिथिल भएको अर्थतन्त्रको पुनरुत्थान: पुनरकर्जाले मात्र नहुने



काठमाडौं । साउन महिनामा २ वर्षपछि पहिलो पटक चालु खाता २५ अर्ब ४१ बचतमा गयो । कोभिडका कारण आयात घटेको तथा रेमिट्यान्स औपचारिक माध्यमबाट आएका जस्ता कारणले चालु खाता बचतमा गएको हो ।

चालु खाता बचतमा गएको तथा आयात घटेको कुरा अहिले सरकारले सफलताको रुपमा समेत प्रस्तुत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको तथा आयात घटेको हुँदा आर्थिक अवस्था राम्रो रहेको बताएका थिए ।

अहिले बैंकिङ प्रणालीमा ऋण तिर्न मिल्ने रकम नै ३ खर्बभन्दा बढी छ । जसको कारण बचतको ब्याजदर साढे १ प्रतिशतसम्म झरेको छ ।

कोभिडको कारण रोजगारी विदेशमा रोजगारी गुमेको र नेपालबाट समेत बैदेशिक रोजगारीमा जानेको संख्या घट्ने हुँदा रेमिट्यान्स रकम घट्ने अनुमान धेरैको थियो । तर, हुन्डीको कारोबार घटेको हुँदा ९२ अर्ब ९१ करोड रुपैयाँको रेमिट्यान्स आएको छ ।

साउन महिनामा नै अघिल्लो वर्षको साउनमा तुलनामा वस्तु आयात १९.६ प्रतिशतले घटेर ८५ अर्ब ८१ करोड रुपैयाँको आएको छ ।

खास गरेर आर्थिक क्रियाकलाप बढ्ने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, एमएस बिलेट, हटरोल सीट लगायतका वस्तुको आयात घटेको छ ।

अर्थशास्त्री डा. डिल्लीराज खनाल लकडाउन खुलेपनि आर्थिक क्रियाकलाप खुम्चेको बताउँछन् ।

‘राष्ट्र बैंकले दिने पुनरकर्जाले मात्र कोभिडको कारण समस्यामा परेको अर्थतन्त्र पुनरुत्थान नहुने देखिएको छ,’ खनालले क्लिकमाण्डूसँग भने, ‘यसका लागि सरकारले स्टिमुलस प्याकेज नै ल्याउनुपर्ने थियो ।’

रोजगारी गुमाएका तथा बैंकबाट ऋण नलिएर व्यवसाय गर्नेहरुलाई पुनरकर्जाको नीतिले सम्बोधन गर्न नसक्ने विश्लेषण खनालको छ ।

मेसिन तथा पाटपुर्जाको आयात घट्नु र बैंकमा ऋणको माग नहुनुले आर्थिक क्रियाकलाप शिथिल भएको संकेत गर्छ ।

भएको ऋण नै तिर्न नसकेको व्यवसायीलाई पुनरकर्जाको सुविधाले आकर्षण गर्न नसक्ने देखिएको छ ।

उद्योगी भरत आचार्य माग नभएपछि पुनरकर्जाले मात्र अर्थतन्त्र उकास्न नसकिने बताउँछन् ।

‘डिस्पोजेबल’ खपत नबढ्दासम्म बजारमा अहिले भएको मागले अर्थतन्त्र विस्तार हुन नसक्ने आचार्यको धारणा छ ।

‘माग नभएपछि व्यवसायीले धेरै ऋण लिने कुरा हुँदैन, यो बेलामा बैंकहरुले ऋण प्रवाह गर्न नसकेर तरलता अत्यधिक भएको समस्या छ, सरकारले यस्तो बेलामा बजारमा माग बढाउने नीति लिनुपर्छ,’ आचार्यले थपे ।

अहिले उद्योग तथा व्यवसायमा माग देखिएको भनेको दुई पाङ्ग्रे सवारी साधान र मोबाइलमा मात्र छ । अन्य क्षेत्रमा माग बढ्न सकेको छैन ।

निर्माण क्षेत्र त्यसैपनि कात्तिक मसान्त सकिएपछि मात्र काम शुरु हुन्छ । सेवा क्षेत्रमा यातायात हवाई माध्यम खुला भएपनि होटल तथा रेष्टुराँ व्यवसाय चल्न केही वर्ष नै कुर्नुपर्छ । सिनेमा हल तथा पार्टी प्यालेस कहिलेदेखि खुल्ने टुंगो नै छैन ।

कोभिडले गर्दा देशमा चाहिने विदेशी मुद्रा सञ्चिती पर्याप्त भएपनि आर्थिक क्रियाकलाप नहुँदा सरकारले पाउने राजस्व समेत घट्ने देखिन्छ ।

बैंकको ढुकुटीमा पैसा थन्केर बसेर आर्थिक विकास हुँदैन यसका लागि पैसा खर्च गर्नुपर्छ ।


क्लिकमान्डु