२५ मेगावाटको सुपर आँखुखोला हाइड्रोमा प्रभु बैंकको नेतृत्वमा साढे ३ अर्ब लगानीको सम्झौता



काठमाडौं । प्रभु बैँकको नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजनामा सहवित्तीयकरण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

शुक्रवार एक कार्यक्रमका बीच ४ अर्ब ५६ करोड कूल लगानी रहने सो आयोजनामा ३ अर्ब ४२ करोड ऋण लगानी सम्बन्धी द्विपक्षीय सम्झौता भएको हो ।

आयोजनामा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले लगानी गर्ने भएको हुन् । आयोजनाको प्रवद्र्धकका गोरक्ष हाइड्रोपावर प्रालि रहेको छ ।

आयोजनामा प्रभु बैंकले १ अर्ब ८२ करोड, कर्मचारी सञ्चय कोषले ८५ करोड र कृषि विकास बैंकले ७५ करोड ऋण लगानी गर्ने भएका छन् ।

आयोजनामा कुल लागतको २५ प्रतिशत अर्थात् १ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पूँजी मार्फत जुटाउनेछ ।

ऋण सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख बिजनेस अधिकृत रेनुप्रसाद पाण्डेय, कर्मचारी सञ्चय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल तथा गोरक्ष हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक रघुनाथ पुरीले हस्ताक्षर गरेका हुन ।

धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा निर्माण हुने सो आयोजनाबाट सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९६.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग टेक अर पे को आधारमा विद्युत खरिद बिक्री सम्भलौता गरिसकेको छ ।

ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष्यमा साथ दिंदै विद्युत् तथा उर्जा विकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैँकको लक्ष्य बमोजिम बिभिन्न ४० भन्दा बढी जलविद्युत् आयोजनाहरुमा लगानी गरिसकेको बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।


पुष्प दुलाल