महंगीको वृद्धिदर घट्यो, कहाँ कति महंगी ?



काठमाडौं । नेपालमा महंगीको वृद्धिदर घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार गत वर्षको साउनको तुलनामा यो वर्षको साउनमा मूल्यवृद्धि घटेको हो ।

गत आर्थिक वर्षको साउन मसान्तसम्म ६.९५ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति यो वर्षको साउनमा ३.४९ प्रतिशतमा खुम्चिएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.०४ प्रतिशत रहेको छ ।

२०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्य वृद्धि उच्च रहेको छ । २०७७ असारको तुलनामा २०७७ साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ साउनमा यी क्षेत्रहरुमा क्रमशः ८.६३ प्रतिशत, ६.४६ प्रतिशत, ६.०० प्रतिशत र ५.५७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

थोक मुद्रास्फीति भने समीक्षा अवधिमा ०.९३ प्रतिशतले घटेको छ । २०७७ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.३३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४४ प्रतिशत, ८.१० प्रतिशत र २.६३ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.३३ प्रतिशतले घटेको छ ।

यसैगरी, राष्ट्र बैंकको तथ्यांक अनुसार सो अवधिमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.३४ प्रतिशतले बढेको छ ।

सरकारी तथा निजीक्षेत्रमा भएको तलव वृद्धिको प्रभाव स्वरुप अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १३.४३ प्रतिशतले बढेको थियो ।

समीक्षा महिनामा तलब सूचकाङ्क १.०३ प्रतिशत र ज्यालादर सूचकाङ्क १.४३ प्रतिशतले बढेको छ ।


पुष्प दुलाल