मोटरसाइकल बिक्रेता कम्पनीका दशैंतिहार लक्षित अफर सार्वजनिक, कुन कम्पनीको कस्तो अफर ?



काठमाडौं । नेपालीहरूको महान चाड दशैंतिहार नजिकिँदै गर्दा मोटरसाइकल बिक्रेता कम्पनीले विभिन्न अफर सार्वजनिक गरेका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गरेसँगै अटोमोबाइल क्षेत्र निकै प्रभावित भएका थिए ।

तर, सरकारले लकडाउन खुकुलो बनाएसँगै अटोमोबाइल कम्पनीहरूले ग्राहकहरूको आकर्षणको लागि विभिन्न अफर सार्वजनिक गरेका थिए । त्यो अवधिमा सामान्य अवस्थाको भन्दा करिब ३० देखि ४० प्रतिशतले व्यापार बढेको थियो ।

त्यसैगरी, उपत्यकामा कोरोना संक्रमणको संख्या बढेसँगै रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा गरेसँगै तङ्ग्रिँदै गरेको व्यवसाय पूर्णरुपमा ठप्प हुँदा व्यवसायीहरू मारमा परेका थिए ।

यस्तै, गत भदौ १ गते देखि अटोमोबाइललगायत सम्पूर्ण व्यवसाय पूर्णरूपमा खुलेका छन् । तर, बजारमा भने सर्वसाधारणको चहलपहल निकै कम रहेको व्यवसायीहरूले बताएका छन् ।

विगतको जस्तै विभिन्न अटोमोबाइल कम्पनीले ग्राहकलाई आकर्षित गर्नको लागि दशैं अफर सार्वजनिक गर्न थालेका छन् । यस्तै, नेपालमा सबैभन्दा बढी बिक्री हुने दुईपाङ्ग्रे सवारी साधन हिरो, बजाज, सुजुकी, यामाहा, टिभीएसलगायत अन्य कम्पनीले बजारमा ग्राहकहरूको लागि योजना सार्वजनिक गरेका छन् ।

कुन कम्पनीको कस्तो अफर ?

बजाजः बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले ‘खुशी खोज्ने होइन रोज्ने’ योजना सार्वजनिक गरेको हो । उक्त योजनाअन्तर्गत ग्राहकले बजाजका कुनै पनि मोडलका मोटरसाइकल किन्दा १० हजार छुट पाउनेछन् । साथै, ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शुन्य ब्याजदर वा २० प्रतिशत मात्र डाउनपेमेन्ट गर्न पाउँनेछन् । यो योजना छठसम्म रहने कम्पनीले जनाएको छ ।

सुजुकी: सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोवाईल्स प्रालिले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गरि आफ्ना ग्राहकहरूलाई स्कुटरको खरिदमा १२ हजार नगद छुट दिने भएको छ ।

साथै कम्पनीले १ वर्षको सडक दस्तुर छुट, एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।

हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकवर्गहरुलाई सजक र सुरक्षित रही चाड पर्व मनाउन र सुजुकी दशै तिहार अफरको फाईदा लिन आह्वान गरेकोे छ ।

हिरो: नेपालको लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नेपालको महान चाडपर्व दशैंतिहार लक्षित ‘दशैंको पर्व हिरोत्सवको हर्ष’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकहरूले ५ हजार पक्का डिस्काउन्ट पाउनेछन् ।

यसका साथै, कम्पनीले लक्की ड्रमार्फत १ जनाले एक लाख नगद पाउनछन् भने स्क्र्याच कार्डमार्फत १ लाखसम्म क्यास पाउने जनाएको छ ।

टिभीएस: टिभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले दशैं लक्षित ‘टिभिएस दशैंको आशा’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत कम्पनीले मोटरसाइकल तथा स्कुटरमा किन्ने ग्राहकहरूले नगद ९ हजारसम्म छुट पाउनेछन् । यसका साथै, कम्पनीले शून्य प्रतिशत ब्याजदरसहित किने पनि नकिनेपनि बम्पर मूल्य आरआर३१० योजना सार्वजनिक गरेका छन् ।

यामाहा: यामाहा नेपालको लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दशैं लक्षित मोटरसाइकल र स्कुटरमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत मोटरसाइकल किन्ने ग्राहकलाई ८ हजार स्कुटर किन्ने ग्राहकलाई ६ हजारसम्म छुट पाउनेछन् ।

यसका साथै, ६० प्रतिशत डाउनपेमेन्ट र शून्य प्रतिशत ब्याजदरसहित पुरानो मोटरसाइकल तथा स्कुटर एक्चेन्ज गरेमा १५ हजार छुट हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी, होन्डाको नेपालको लागि आधिकारिक विक्रेता स्याकर ट्रेडिङले भने हालसम्म कुनै पनि अफर सार्वजनिका गरेका छैनन् । तर, केही दिन भित्रमा मोटरसाइकल तथा स्कुटरमा दशैंको विषेश अफर सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

सामान्य रूपमा अफर सार्वजनिक: नाडा

कोरोना भाइरस महामारीका कारण निकै प्रभावित भएको अटोमोबाइल क्षेत्रमा विगतको तुलनामा सामान्य रुपमा योजना अर्थात अफर सार्वजनिक भएको नेपाल नाडा एशोसियसनको अध्यक्ष कृष्ण प्रसाद दुलाले जानकारी दिए । उनका अनुसार विभिन्न कम्पनीले आ-आफ्नो कम्पनीको योजनाअनुसार अफर सार्वजनिक गरेको बताए ।

विगतको दिनमा नाडा ‘अटो शो’ मा नै दशैंको सबै अफर सार्वजनिक हुन्थ्यो । त्यही अनुसार अफर र आम्दानी हुन्थ्यो । तर, अहिले कोरोना महामारीका कारण निकै प्रभावित भएकाले व्यापार चलायमान बनाउनको लागि सामान्य रुपमा अफर सार्वजनिक गरेको उनले बताए ।

यस्तै, दशैं आउन अझै एक महिना बाँकी भएकाले सबै अटामोबाइल कम्पनीले आफ्नो ग्राहकलाई आकर्षण गर्न विभिन्न अफर सार्वजनिक गर्ने उनको दाबी छ । साथै, यो दशैंको अवधिमा आम्दानी बढ्ने उनको भनाइ छ ।


पुष्प दुलाल