आजतक ब्राण्डका चामलमा गुणस्तरको प्रश्न, दूर्गा ट्रेडर्सका केराउ, चामल र भटमास बिक्रीमा रोक



काठमाडौं । कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जय माँ दूर्गा ट्रेडर्सबाट बिक्री गरेर ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास बिक्रीका लागि रोक लगाइएको छ ।

काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले यी खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको हो ।

उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी २ सय सादा पहेँलो बोरामा बिक्रीका लागि राखिएका केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङ्का करीब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमासलगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाणसहितका कागजात पेश नगरुञ्जेलका लागि बिक्रीमा प्रतिवन्ध लगाइएको हो ।

ट्रेडर्सले पिकअप गाडीमा राखेर यस्तै सामान बनेपाको एविसि खाद्य स्टोरमा पठाउन लागेको थियो । खाद्य सामाग्रीमा हुनु पर्ने आधारभूत मापदण्ड नभएकोले अनुगमनकै क्रममा ती सामान ट्रेडर्सको गोदाममा फिर्ता गराइएको थियो ।

ट्रेडर्ससँगै आज कुलेश्वर क्षेत्रका खाद्य थोक पसलहरुको अनुगमन गरियो । त्यस क्रममा दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था हेरिएको थियो ।

त्यस क्षेत्रका अधिकांश पसल बन्द अवस्थामा थिए । सम्पर्क गरेर आउने ग्राहकका लागि खोलिएका पसल आधा खोलिएका थिए । अनुगमन टोलीले खाद्यान्न ढुवानी गरेर आएका सवारीमा राखिएको सामानको गुणस्तर र सम्भावित चुवाहटको पनि अवलोकन गरेको थियो ।

अनुगमनपछि प्रतिक्रिया दिँदै उपमेयर खड्गी श्रेष्ठले भनिन् ‘खाद्य गुणस्तरमा ध्यान पुर्याउन सकिएन भने रोगसँग लड्ने क्षमता घट्छ । हुन त गुणस्तरमा कहिल्यै पनि समस्या आउन दिनु हुँदैन । बिषम परिस्थितिमा त झन् चनाखो हुनुपर्छ ।’

त्रुटी पाइएको ट्रेडर्सलाई कारवाहीको प्रक्रिया अघि बढाउने कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले बताए ।

‘लेबल नटाँसिएका, टाँसे पनि अक्षर मेटिएका र नबुझिने, ढक तराजु, पसलको दर्ता नविकरण अद्यावधिक नगरिएका, कर चुक्तालाई नियमित गर्न बाँकी भएको जस्ता समस्या धेरै जसोमा देखिएका छन् । यी सबैलाई कारवाहीको दायरामा ल्याउँछौं,’ उनले भने ।

सामानको लागत मूल्य यकिन नहुँदा अधिकतम् मूल्यसम्ममा आइपुग्दा उपभोक्ताभन्दा बीचको तहले फाइदा उठाएका छन् । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधब तिमिल्सेनाले उपभोक्ता अधिकारका कोणबाट यही प्रणालीमा समस्या रहेको बताए । बिल नै जारी नगरी खरिद बिक्री गर्दा व्यापारमा बिकृतिम मौलाएको उनको भनाइ छ ।

थोक पसलपछि कालीमाटी चोकमा रहेका खाद्य पसलको अनुगमन गरिसकेपछि दुवैतिरको मूल्य तुलना गर्दै तिमिल्सेनाले यस्तो प्रतिक्रिया दिए ।

सामानको तौल र लेबलका बिषयमा ध्यान दिन नसक्नु, व्यवसाय दर्ता र नविकरणमा ध्यान नदिनु, मूल्य सूची नराख्नु, खरिद बिक्री जारी नगर्नु कालीमाटी चोकमा रहेका खाद्यपसलहरुको साझा कमजोरी देखियो ।

महानगरको उपभोक्ता हित समितिले अहिले तरकारी, खाद्य, दूग्ध पदार्थ तथा मासुजन्य सामग्रीको बजार अनुगमन गरिरहेको छ । यसअघि कालीमाटी र बल्खु तरकारी बजार हेरिएको थियो ।


क्लिकमान्डु