सेनाले सञ्चालन गरेका ५ परियोजनाको प्रगति ८० प्रतिशत माथि



काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा आव २०७६÷७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये ५ आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ ।

रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता प्राप्त तथा राष्ट्रिय महत्वका आयोजनामध्ये बंकरदेखि ब्यारेकसम्म कार्यक्रमको कार्यप्रगति सबैभन्दा अब्बल देखिएको छ ।

उक्त कार्यक्रमअन्तर्गत १२१ वटा भवन सेनाले निर्धारित समय अघि नै पूरा गरेको छ ।

उक्त आर्थिक वर्षमा त्यस कार्यक्रमका लागि १ अर्ब ८२ करोड ११ लाख ७१ रुपैयाँ बजेट विनियोजन भएकामा त्यस बजेटबाटै सेनाले थप १८ वटा पूर्वाधार निर्माण गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ का कारण मुलुकका धेरै आयोजना अलपत्र अवस्थामा रहेका बेला यो कार्यक्रमको वार्षिक कार्यप्रगति १०२.५ प्रतिशत छ ।

जुन अरु आयोजनाको तुलनामा निकै प्रशंसनीय रहेको मन्त्रालयले जनाएको छ ।

सेनाकै व्यवस्थापनमा निर्माणाधिन कालीगण्डकी करिडोरको वार्षिक लक्ष्यको कार्यप्रगति पनि शतप्रतिशत रहेको छ ।

उक्त आयोजनाका लागि उक्त आर्थिक वर्षमा २५ करोड रुपैयाँ विनियोजन भएको थियो ।

त्यस्तै कर्णाली करिडोरको ९३ प्रतिशत र बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकको वार्षिक कार्यप्रगति लक्ष्यको शतप्रतिशत नै रहेको छ ।

कर्णाली करिडोरलाई ३५ करोड तथा बेनीघाट–आरुघाट–लार्केञ्ज्याङ सडकलाई ११ करोड ७५ लाख बजेट उपलब्ध थियो ।

दार्चुला–घाँटीबगर गोरेटो ट्रयाक निर्माण पनि उक्त आर्थिक वर्षमा लक्ष्यको ८० प्रतिशत काम पूरा भएको छ ।

द्रूर्तमार्गको प्रगति ४३ प्रतिशत मात्रै

रक्षा मन्त्रालय मातहत वार्षिक लक्ष्यको ५० प्रतिशत प्रगति हासिल नभएका आयोजनाका सूचीमा दू्रतमार्ग, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचना पुुनःनिर्माण परेका छन् ।

मुलुककै सर्वाधिक चर्चामा रहेको राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश दु्रतमार्ग सडक आयोजनाको वार्षिक कार्यप्रगति भने ४२.८ मा खुम्चिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा उक्त आयोजना अघि बढाउने सन्दर्भमा डिपीआर स्वीकृति र अन्तर्राष्ट्रिय परामर्शदाता छनोटमा भएको ढिलाइले प्रभाव पारेको थियो ।

आयोजनाको ‘होलिस्टिक प्लान र टेण्डर डकुमेन्ट’ तयारीमा बढी समय खर्चनु परेकाले पनि लक्ष्य प्राप्तिमा कठिनाइ परेको मन्त्रालयको भनाइ छ ।

लकडाउनका कारण आवश्यक उपकरणसहित प्राविधिक परिचालनमा परेको समस्याले पनि लक्ष्यअनुरुप प्रगति हासिल गर्न बाधा पुगेको हो । उक्त द्रूर्तमार्गका लागि ४ अर्ब ४६ करोड १४ लाख रुपैयाँ विनियोजन भएको थियो ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी पूर्व तयारी कार्यमा सो आवमा लक्ष्य ४०.२९ मात्रै काम भएको पाइएको छ ।

सो अवधिमा पूर्वाधार निर्माण समिति गठन आदेश स्वीकृत, विस्तृत अवधारण पात्रको मस्यौदामा छलफल र सांगठानिक संरचना तयार गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

सरकारले काभ्रेको साँगा भन्ज्याङमा ७४० रोपनी क्षेत्रफलमा उक्त विश्वविद्यालय निर्माण गर्ने निर्णय गरेको छ ।

उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने विधेयक निर्माण हुने क्रममा रहेकाले उक्त विश्वविद्यालयको विधान विधेयकमा समावेश गर्नुपर्ने अवधारणको अध्ययन भइरहेको जानकारी दिएको छ ।

विश्व विद्यालय भवन र पूर्वाधार निर्माणको विस्तृत परियोजना प्रतिवेदनको प्रारम्भिक प्रतिवेदन तयार भएको बताइएको छ । उक्त आयोजनाका लागि २० करोड बजेट विनियोजन भएको थियो ।

भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण कार्यको उक्त आवमा लक्ष्यको ३० प्रतिशत मात्र काम भएको छ ।

भूकम्पबाट क्षतिग्रस्त पुनःनिर्माण गर्न बाँकी १३९ भौतिक संरचनाको लागि २ अर्ब ७८ करोड ९९ हजार माग भएकोमा सोअनुसार रकम विनियोजन नहुँदा जवान केन्द्रित आधारभूत भौतिक पूर्वाधार निर्माण कार्ययोजनामा नै प्रभाव परेको बताइएको छ ।

सो कार्यका लागि ८ करोड १५ लाख मात्र बजेट विनियोजन भएको थियो । ढिलो बजेट निकासा भएको र बन्दाबन्दीका कारण कामदार र सामग्री ढुवानी समस्या भएपछि लक्ष्य हासिल गर्न नसकिएको प्रगति विवरणमा उल्लेख छ ।
रासस


पुष्प दुलाल