महासंघको राजनीति: चन्द्र ढकालको टिम घोषणा, टार्गेटमा शेखर गोल्छा !



काठमाडौं । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालको पदाधिकारीको टिम घोषणाको कार्यक्रम ।

बालुवाटारमा एक पार्टी प्यालेसमा भएको घोषणामार्फत् बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो टिमबाट निर्वाचन लड्ने पदाधिकारीको औपचारिक रुपमा घोषणा गर्दै थिए ।

ढकालको टिमबाट जिल्ला नगरतर्फ गुणनिधी तिवारी, वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र एशोसियटबाट रामचन्द्र सांघाईले उम्मेदवारी घोषणा गरेका छन् ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालको एउटा विशेषता छ- उनी व्यक्तिगतरुपमा अरुको आलोचना गर्दैनन् । सार्वजनिक जीवनमा मिलनसार स्वभाव चन्द्र ढकालको विशेषता हो ।

क्रिटिकल्ली बोल्नुपर्ने बेलामा पनि चन्द्र ढकाल मध्यमार्गी अभिव्यक्ति दिन्छन् भनेर उनका आलोचकहरुले भन्ने गरेका छन् ।

पछिल्लो दशकमा व्यवसायिकरुपमा आक्रामक ढंगले उदाएको आइएमई समुहका अध्यक्ष रहेका ढकालको मिलनसार स्वभावकै कारण पहिलो पटक महासंघमा कार्यकारिणी सदस्य बन्दा निर्विरोध चुनिए ।

त्यसपछि चुनाव हुँदा सबैभन्दा बढी मत ल्याएर कार्यकारिणी सदस्य बने । एशोसियटमा ३ वर्ष अगाडि उनी निर्विरोध उपाध्यक्ष बनेका थिए ।

तर, मंगलबार बालुवाटारमा आयोजित उम्मेद्वारी घोषणासभामा ढकालले आक्रमक देखिए । उनले पहिलोपटक महासंघका अबको साधारणसभाबाट अध्यक्ष बन्न लागेका र अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग सार्वजनिकरुपमा नै अनसन्तुष्टी व्यक्र गरे ।

ढकालले गोल्छाले आफ्नो गुन बिर्सेको आरोप लगाए । किन चन्द्र ढकाल एकाएक यसरी गोल्छाप्रति आक्रोश भए ? निश्चय पनि त्यसकापछि केही कारणहरु छन् ।

शेखर गोल्छा लक्षित चन्द्र ढकालको भनाइ जस्ताको त्यस्तै

विशेषगरी म जिल्ला उद्योग वाणिज्य संघका साथीहरुसँग आग्रह गर्न चाहन्छु, उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहनु भएका हाम्रा विपक्षी टिमका साथीहरु वितेका वर्षहरुमा तपाईंको नजिक कहिले पुग्नु भएको थियो रु प्रश्न सोध्न चाहन्छु, चुनाव जितेपछि पुग्नु भएको थियो ?

तपाईंले खोज्दा, के उहाँहरुसँग भेट भएको थियो ? तपाईंले फोन गर्दा उहाँहरुको फोन उठेको थियो ? तपाईंलाई समस्या पर्दा के त्यो उहाँहरुले सुनिदिनु भएको थियो रु समाधान खोजेर ल्याइदिनु भएको थियो ?

सुन्दैछु, अहिले फेरि तपाईंहरुलाई ती साथीहरुको फोन आउन थालेको छ रे, सुन्दैछु तपाईंलाई फेरि आश्वासन आउन थालेको छ रे रु ह्वाट्स एप र फेसबुकमा म्यासेज आउन थालेको छ रे ?

भविष्यमा ती आश्वासनले काम गर्छ भनेर के तपाईंलाई विश्वास लाग्छ ? फेरि उहाँहरुको फोन आउँछ भन्ने आशा तपाईंलाई छ ? फोन आउने कुरा त छाड्नुस् तपाईंले गरेको फोन के उहाँहरुले उठाउनुहोला ? गम्भीर भएर सोच्नुहोस् ।

म भन्छु, उहाँहरुको मात्रै होइन्, हाम्रो पनि विगत हेर्नु्होस् । हामी तपाईंको समिपमा रहेर कसरी काम गरेका थियौं । म आज तपाईंहरुलाई फेरि विश्वास दिलाउन चाहन्छु, हिजो हामीले जे गरेका थियौं, त्यो भविष्यमा पनि गर्छौं ।

हामी चुनाव जितेपछि तपाईंहरुको सम्पर्कबाट भाग्ने वाला होइनौं । कम्तीमा हाम्रो टिमले जे भन्छ त्यो पूरा गरेर छाड्छ, आजका दिनमा यो हाम्रो टिमका तर्फबाट सामूहिक प्रतिवद्धता पनि हो ।

तपाईंहरु आफैं मनन् गर्नुहोस्, तपाईंहरु आफैले मूल्यांकन गर्नुहोस् । त्यो टिम छान्ने वा यो टिम छान्ने रु निर्णय गर्ने अधिकार तपाईंको हो ।

स्वभाविकरुपमा नेपाल उद्योग वाणिज्य महासंघको आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षकारुपमा शेखर गोल्छाले हाम्रो टिमको नेतृत्व गर्नुहुनेछ ।

चार महिना अघि मैले मेरो घोषणासभामा भनेको पनि थिएँ । उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशिल टिम बन्नेछ । यो टिम उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारसँग साझेदारी गर्ने सवालमा एक र एक जोडेर दुई होइन्, एक र एक जोडेर एघार बन्नेछ ।

मैले यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ?, त्यो के का लागि ?

आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिना अघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर कसले लविङ गरेको थियो रु भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो रु हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छ ।

यो चुनावमा जसले जिते पनि शेखरजी अध्यक्ष हो, हामी यो चुनाव जित्छौं, हामी त्यसमा विश्वस्त पनि छौं । जब हामी जित्छौं, हामी उहाँको टीमको सदस्य हौं। सायद उहाँका लागि यो साधरण जानकारी मात्रै होइन यो एउटा सन्देश पनि हो ।

यो सन्देश कठिन अवस्थामा रहेको महासंघलाई एक ढिक्का बनाउन हो, यो सन्देश निजी क्षेत्रमा बल सिर्जना गर्न हो । यो सन्देश हामी भित्र विश्वास जगाउन हो ।

चन्द्र ढकालले पहिलो पटक बरिष्ठ उपाध्यक्षमा निर्वाचन लड्ने घोषणा बागलुङबाट गरेका थिए । ढकालको गृहजिल्ला बागलुङबाट औपचारिकरुपमा बरिष्ठ उपाध्यक्षमा निर्वाचन लड्ने घोषणा गरेका थिए ।

पुस ११ गते भएको बागलुङ इन्भष्टमेन्ट समिटमा भाग लिन बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र निर्वतमान अध्यक्ष पशुपति मुरारका समेत पुगेका थिए । आफ्नो जिल्ला पुगेको बेला आफुले गरेको घोषणा कार्यक्रममा शेखर उपस्थित हुन्छन् भन्ने अपेक्षा चन्द्र ढकाललाई थियो । तर, सो कार्यक्रममा शेखर उपस्थित भएनन् ।

तर फागुन १ गते बिराटनगरमा किशोर प्रधानले बरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा गरे । जसमा शेखर गोल्छा पुगे र किशोर प्रधानले निर्वाचन नजितेमा आफुले अध्यक्षको कार्यकाल सफल नहुने बताए । गोल्छाले नै किशोर प्रधानको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए ।

ढकालले गत फागुन १४ गते राजधानीको याक एण्ड यति होटेलबाट पनि आफ्नो उम्मेद्धारी घोषणा गरेका थिए । उक्त कार्यक्रममा शेखर गोल्छालाई पनि निम्ता थियो । तर, शेखर गएनन् ।

तैपनि चन्द्र ढकालले उक्र कार्यक्रममा गोल्छाको मुक्तकण्ठले प्रसंसा गरेका थिए ।

शेखर गोल्छालाई चन्द्र ढकालको प्रश्नः स्वत अध्यक्ष बनाउने प्रस्तावको मर्मलाई अहिले कसले मार्दैछ ?

‘महासंघको भावी अध्यक्षकारुपमा हामीले आगामी ३ वर्षका लागि एउटा डायनामिक नेतृत्वकारुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं। उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशिल टीम बन्नेछ । यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर एघार बनाउनेछौं ।’ ढकालले भनेका थिए ।

मंगलबार चन्द्र ढकालको टिमको घोषणा कार्यक्रममा बोल्ने सहभागीको तारोमा नै शेखर गोल्छा परेका थिए । यस्तै महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई सच्चिनको लागि चेतावनी नै दिए ।

पूर्वअध्यक्ष ढकालले अध्यक्ष हुन लागेको व्यक्ति अर्को उम्मेद्वारको सम्पर्क कार्यालय उद्घाटनमा जाने र घोषणासभामा जाने राम्रो काम नभएको बताए ।

शेखर गोल्छालाई चण्डीको चेतावनी: जस्तो बिऊ रोप्नुहुन्छ त्यस्तै फल भोग्नुपर्छ, नसच्चिए परिणाम राम्रो हुँदैन

‘शेखरजी अबको महासंघको निर्वाचित अध्यक्ष हो, उहाँले अहिले गर्नु भएको गल्ती सच्याउनु हुनेछ भन्ने अपेक्षा छ, त्यो भएन भने उहाँले रोपेको बिऊको फल प्रतिफल भोग्नुपर्छ,’ ढकालले भने ।

चन्द्र ढकालको टिमलाई समर्थन गर्न पुगेका महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले महासंघको अध्यक्ष हुन लागेको व्यक्तिले एउटा समुहलाई समर्थन गर्दै हिड्न ठीक नभएको बताए ।

‘वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने उद्देश्यका पछाडि निर्वाचन भड्किलो नहोस् भन्ने थियो तर अहिले अध्यक्ष बन्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष नै एउटा पक्षमा लाग्दा हामीलाई निको लागेको छैन । हामीले हाम्रो विधानलाई त्यसअर्थमा परिमार्जन गरेका थिएनौं,’ उनले भने ।

उनले उद्योग वाणिज्य महासंघको नेतृत्वलाई सफा, निष्पक्ष र सन्तुलिन राख्छौं भन्ने चाहना भए पनि त्यो पूरा हुन नभएको बताए ।

‘त्यसैले अब यस निर्वाचनमा जित हासिल गरी जाने साथीहरुले उद्योग वाणिज्य महासंघ अध्यक्षात्मक प्रणालीबाट चल्ने संस्था भएकाले फेरि विधान संशोधन गरी प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

चन्द्र ढकालको टिम घोषणा कार्यक्रमका अधिकांश वक्ताले शेखर गोल्छालाई लक्षित गरेर असन्तुष्टी जनाएका थिए । कार्यक्रममा उपाध्यक्षका उम्मेद्धारहरु उमेशलाल श्रेष्ठ, गुणनीधि तिवारी, रामचन्द्र संघाइ, विभिन्न प्रदेशका प्रमुखलगायतले बोलेका थिए ।


पुष्प दुलाल