शेखर गोल्छालाई चण्डीको चेतावनी: जस्तो बिऊ रोप्नुहुन्छ त्यस्तै फल भोग्नुपर्छ, नसच्चिए परिणाम राम्रो हुँदैन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई सच्चिनको लागि धम्की नै दिएका छन् ।

बिगतमा बरिष्ठ उापध्यक्षलाई स्वतः अध्यक्ष बनाएर महासंघलाई राजनीति भन्दा बाहिर राख्ने प्रयास गरिएको तर अहिले आएर बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा एउटा टिमको सम्पर्क कार्यालय उद्घाटन गर्न र एउटा व्यक्तिको चुनावी प्रचारमा गएर राजनीति गरेको भन्दै ढकालले असन्तुष्टि व्यक्त गरे ।

‘हिँजो हामीले प्राप्त गर्न खोजेको उद्देश्यभन्दा हामी बाहिर गइरहेको अवस्था त होइन ?’ बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकालको टिम घोषणा कार्यक्रममा ढकालले भने, ‘तर आगामी दनिमा शेखर गोल्छाले सच्याउनु हुनेछ । यदि उहाँले अहिले गलत बिजारोपण रोप्नुभयो भने त्यसको प्रतिफल पनि उहाँले नै भोग्नुपर्ने हुन्छ ।’

विधानत अध्यक्ष निर्वाचित व्यक्ति उम्मेद्वारको सम्पर्क कार्यालय उद्घाटन र उम्मेद्धारी घोषणासभामा गएर गल्ती गरेको उनले दाबी गरे ।

‘शेखरजी अबको महासंघको निर्वाचित अध्यक्ष हो, उहाँले अहिले गर्नु भएको गल्ती सच्याउनु हुनेछ भन्ने अपेक्षा छ, त्यो भएन भने उहाँले प्रतिफल भोग्नुपर्छ,’ ढकालले भने ।

महासंघको साउन २६ र २७ मा साधारणसभामा बरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकाल र किशोर प्रधानले उम्मेद्वारी घोषणा गरेका छन् ।

यसअघि बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छालाई चुनाव जिताउने अभियानको नेतृत्व चण्डी ढकालले गरेका थिए । ढकालले आफुले विगतमा चुनाव जिताएको र जितेका मान्छेले प्रतिबद्धता पुरा नगरेपछि विरोध गर्ने गरेको बताए ।

ढकालले गोल्छाको कारण अध्यक्षको निर्वाचन नगर्ने गरी गरिएको विधान संसोधनमा समेत प्रश्न उठेको बताए । महासंघको गरिमा बढाउनको लागि चन्द्र ढकालको टिमले निर्वाचन जित्नुपर्ने उनको भनाइ छ ।

‘मलाई मिडियाका साथीहरुले तपाईले जिताएका अध्यक्षसँग सम्बन्ध राम्रो भएन भनेर भन्छन्, मैले प्रतिबद्धता अनुसारको काम नगरेपछि प्रश्न उठाउने हो,’ ढकालले भने ।


पुष्प दुलाल