लकडाउनका कारण पर्यटन क्षेत्रमा ४१ अर्ब क्षति, पर्यटन सूचारु गर्न पूर्वतयारी गर्दै पर्यटन मन्त्रालय



काठमाडौं । लकडाउनका कारण पर्यटन क्षेत्रमा हरेक  महिना १० अर्ब रुपैयाँको कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान गरिएको छ ।

पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठन भएको अध्ययन कमितिले यसबीच लकडाउनमा मात्रै हालसम्म कुल ३४ अर्ब रुपैयाँ कारोबारको क्षति भएको प्रतिवेदन पेश गरेको छ । पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्नका लागि कमिटी गठन भएको थियो ।

यसका साथै साउन ७ गतेसम्म लकडाउनको अवधि लम्बिँदा थप ७ अर्ब सहित कुल ४१ अर्बको कारोबार क्षति हुने अनुमान गरिएको छ ।

कमिटीले पर्यटन तथा हवाई क्षेत्रमा भएको नोक्सानीको विवरण बनाइ बजेटको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि अर्थमन्त्रालयमा प्रतिवेदन पठाएको थियो ।

मन्त्रालयका अनुसार बजेट तथा कार्यक्रममार्फत् पर्यटन क्षेत्रका कर्मचारी तथा पुनरकर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था भएको छ । साथै होटलका लागि भ्याट दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर ४ महिना पुर्याइएको छ ।

हाल हवाई जहाज पार्किङ शुल्कमा ७५ प्रतिशत बहाल आयतमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारसमक्ष सिफारिस समेत गरिएको छ ।

प्राधिकरण तथा पर्यटन बोर्डलाई तिर्ने रकमको अवधि बढाइएको र सो अवधिमा रकम नबुझाएमा लाग्ने थप दस्तुर वा जरिवाना मिनाहा गरेको छ । लकडाउन अवधिमा लाग्ने डिमरेज चार्जमा छुट दिइएको छ ।

बजेटबाट पुनरुत्थान कार्यक्रम र दिगो पर्यटन विकास अवधारणामा कामका लागि २० करोड रुपैयाँको बजेट बिनियोजन गरिएको छ ।

कोरोना महामारीबीच बुध्द एयरले यसरी गर्यो उडानको तयारी, अब यात्रुले के-के गर्नुपर्छ ?

पर्यटन सूचारु गर्न पूर्वतयारी
मन्त्रालयका अनुसार पर्यटन क्षेत्र सूचारु गर्नका पूर्वतयारी भने शुरु गरिसकेको छ ।

कोभिड- १९ को जोखिम न्यूनिकरण गरी सुरक्षित हवाई सेवा सञ्चालन सम्बन्धि प्रोटोकल स्वीकृत भएको छ । भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका प्रमुख विमानस्थलहरुमा निश्चित दूरी कायम गरी सञ्चालनको तयारीका लागि मार्किङसहितका सुरक्षात्मक उपायहरु प्रबन्ध समेत गरिएको छ ।

‘कोभिड-१९ को महामारीको चुनौती स्वास्थ्य सुरक्षा भएकाले पर्यटनसँग सम्बन्धित सबै क्षेत्रका लागि स्वास्थ्य सुरक्षाको प्रोटोकल सार्वजनिक गरिसकेका छौं, र, सबैलाई पालना गर्न पनि निर्देशन गरेका छौं,’ मन्त्री भट्टराईले भने ।

मन्त्रालयका अनुुसार कोभिड-१९ ले सबैभन्दा प्रभावित पर्यटन र हवाई उड्डयन क्षेत्रमा परेकाले तत्कालै ४ हजार रोजागरी सिर्जना हुने गरी तयारी भइरहेको छ । हाल तत्कालै रोजगारी सिर्जना गर्न सकिने क्षेत्रहरु पहिचान गरी ३० दिनका लागि करिब ४ हजार रोजगारी सिर्जना हुने गरी लकडाउन अवधि तथा सो पश्चात तत्कालै कार्यान्वयन सकिने कार्ययोजना निर्माण समेत गरिसकेको छ ।


क्लिकमान्डु