कोरोना महामारीबीच बुध्द एयरले यसरी गर्यो उडानको तयारी, अब यात्रुले के-के गर्नुपर्छ ?



काठमाडौं । बिहीबार दिउँसो साढे १२ बजे । एकाएक काठमाडौं विमानस्थलबाट पोखरा जाने विमानमा एकजना यात्रुलाई श्वास फेर्न असजिलो हुन्छ ।

हल्का खोकी लाग्छ । र, तुरुन्तै विमान परिचारिकालाई बोलाउँछन् ।

आफू अस्वस्थ भएको जानकारी यात्रुले दिएपछि परिचारिकाले थर्मल गनले यात्रुको ज्वरो नाप्छिन् । ज्वरो सामान्य अवस्था हुन्छ त्यसपछि परिचारिकाले विमानभित्र रहेका स्वास्थ्यकर्मीलाई बोलाउँछिन् ।

स्वास्थ्यकर्मीले यात्रुसँग केही बेर कुरा गर्छन् । र, अस्वस्थ अवस्थामा रहेको यकिन भएपछि कोरोनाको लक्षण हुनसक्ने बताउँदै यात्रुलाई बिमानबाट ओर्लन आग्रह गर्छन् ।

यात्रु पनि स्वास्थ्यकर्मीकै सल्लाहमा विमानबाट ओर्लन्छन् ।

यो घटना सत्य भने होइन । कोरोना महामारीको जोखिमबीच हवाई उडान सञ्चालन गर्दा आइपर्ने सम्भावित जोखिम कसरी बहन गर्ने भन्नेबारे गरिएको सुरक्षा सतर्कताको पूर्वतयारीको अभ्यास हो ।

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुध्द एयरले बिहीबार दिउँसो झण्डै २ सय जना आफ्नै कर्मचारी र केही सञ्चारकर्मीहरुलाई यात्रु बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो अभ्यास गर्यो ।

‘कोरोनाको जोखिमबीच उडान सञ्चालन गर्दा कसरी आफ्नो भूमिका निर्वाह गर्ने, कसरी जोखिम न्यूनिकरण गर्ने, स्वास्थ्य सुरक्षाका उपाय कसरी अपनाउने भन्ने जानकारी दिनका लागि तयारी गरिएको हो, ताकी भोलिका दिनमा समस्या आइपर्दा सहजै व्यवस्थापन गर्न सकियोस्,’ कम्पनीका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले भने ।

बस्नेतका अनुसार बुध्द एयरले अब उडान सञ्चालन गर्दा आइपर्ने सबैखाले चुनौतीलाई सामना गर्नका लागि तयारी गरिरहेको छ । जसका लागि बिहीबार परीक्षण समेत गरिएको हो ।

जसमा यात्रुहरुलाई विमानस्थलमा आइपुगेदेखि गन्तव्यसम्म पुग्दा के कुरामा ख्याल राख्ने भन्ने उपायहरु अपनाइएको छ । सोहीअनुरुप विमानस्थल प्रवेश गर्दा ज्वरो नाप्ने र सेनिटाइज गर्नेबाट शुरु भएर बोर्डिङ पास लिँदा यात्रुले आफू सुरक्षित भएको फारम भरेपछि मात्रै बोर्डिङ पास पाइन्छ ।

यसका लागि बुध्द एयरले यात्रुको टिकट २ दिन अगाडि नै काटिसकेको थियो । स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै टिकट जाँचका लागि मोबाइलमै इ–टिकट देखाउन भनिएको थियो । बोर्डिङ पास लिने समयमा पनि यात्रुको परिचयपत्र सामाजिक दूरी कायम गरी मोबाइलमा खिचेर राखिएको थियो ।

त्यसपछि यात्रा गरिसकेपछि ओर्लर्ने क्रममा आफूले यात्रा गरेको विस्तृत जानकारीसहितको ब्यहोरा भएको दोस्रो फारम भरेपछि मात्रै गन्तव्यमा जान पाइन्छ । यसबीच यात्रुको २ पटकसम्म ज्वरो परीक्षण गराइन्छ भने सामाजिक दूरी कायम राख्दै गन्तव्यसम्म पुर्याइन्छ ।

अहिले मुलुकमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान असार २१ गतेसम्मका लागि बन्द गरिएको छ । अहिले विभिन्न देश आन्तरिक रुपमा विभिन्न गन्तव्यबाट चार्टर्ड उडानबाहेकका कुनै पनि उडान गरिएको छैन ।

लामोसमयसम्म बन्द रहेको विमान सञ्चालन अब खोल्नुपर्नेमा चौतर्फी रुपमा आवाज उठ्न थालेको छ । जसमा शुरुमा आन्तरिक र पछि अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने विषयमा छलफल भइरहेको विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले बताए ।

केसीका अनुसार यस विषयमा गम्भीर छलफल भइरहेको र छिट्टै निर्णय हुनेछ । यसका लागि विमान कम्पनीहरु, विमानस्थल आफैंले पनि स्वास्थ्य सुरक्षाका लागि विभिन्न उपाय अपनाइरहेको छ भने तयारी अवस्थामा समेत छ ।

बुध्द एयरका प्रबन्ध निर्देशक बस्नेतका अनुसार यसबाट यात्रुलाई कुनै पनि प्रकारको शुल्क भने थपिँदैन । अहिले तेलको मूल्य पनि घटेकाले आगामी दिनमा भाडा अझ बढी सस्तो हुने उनले जानकारी दिए ।

उनका अनुसार यात्रुलाई विमानभित्र प्रवेश गर्ने समयमा फेस सिल्ड दिइन्छ । ५५ रुपैयाँ पर्ने उक्त फेस सिल्डको मूल्य यात्रुको टिकटमै समेटेर लिइन्छ भने मास्क नभएको अवस्थामा निशुल्क वितरण गरिन्छ ।

कोरोनाको जोखिम रहँदासम्मका लागि विमानभित्र यसअघि दिइने पानी र खाजाको सुविधा पनि अब हुने छैन भने अत्यावश्यकबाहेक पानी पिउन पनि दिइने छैन ।

यसअघि आन्तरिक उडानका लागि विमान उड्नुभन्दा १ घन्टाअघि विमानस्थल पुग्नुपर्थ्यो भने अब कम्तिमा डेढ घन्टाअघि विमानस्थल पुग्नुपर्ने छ ।

‘पहिले बोडिङ पासदेखि विमानमा लोड गर्ने काम १५ मिनेटमा सकिन्थ्यो भने अब २५ मिनेटसम्म लाग्छ, सामाजिक दूरी कायम गर्दै चेकजाँच गर्नुपर्ने र स्वास्थ्य परीक्षण पनि गर्नुपर्ने भएकाले समय बढी लाग्ने भएको हो,’ बस्नेतले भने ।


क्लिकमान्डु