सरकारी इ-कमर्शको अर्डर लिने र डेलिभरी गर्ने जिम्मा सस्तोडिल डटकमलाई



नेपाली स्वामित्वको अग्रणी इकमर्स कम्पनी सस्तोडिल डटकम र सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच ब्यापार साझेदारी भएको छ। यस साझेदारीसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको इकमर्स सेवा सस्तोडिलले हेर्ने भएको हो।

निजी इ-कमर्श कम्पनीसँग नेपाल सरकारले पहिलोपटक ब्यापार साझेदारी गरेको छ। नेपाली इ-कमर्श क्षेत्रमा यो ऐतिहासिक साझेदारी हो।

साझेदारीसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मुल्यका सामग्री ग्राहकले घरमै पाउने भएका छन्। साथै होम डेलिभरी निःशुल्क रहेको सस्तोडिल डटकमका निर्देशक एवम् सिइओ अमुन थापाले जानकारी दिए।

कोभिड१९ को महामारीले गर्दा लकडाउन सुरु भएसँगै इकमर्स कम्पनिको माग ह्वात्तै बढेको थियोे। यसै सन्दर्भमा सरकारले इ-कमर्श सेवा सुरु गरेको थियो।

सो सुरुवातसँगै सहकार्यको प्रयास गरिएको र विभिन्न चरणमा तयारी गरि कामको मोडालिटी बनाएर सम्झौता गरिएको थापाले बताए।

मोडालिटी अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सस्तोडिलको वेसाइटमा भेन्डरको रुपमा समेटिएको छ। ग्राहकले सस्तोडिलको वेबसाईट वा मोबाइल एप प्रयोग गरि अर्डर गर्न सक्नेछन्। हाल दाल, चामल, नुन, डीडीसीका उत्पादन लगायतका सामग्री सुचिकृत गरिएको छ।

तत्काललाई काठमाडौ उपत्यकाको चक्रपथदेखि ६ किलोमिटर बाहिरसम्म डेलिभरी हुने बताइएको छ। अर्डर गरेको एक दिनभित्रै डेलिभरी हुने र कम्तीमा २ हजार देखि बढिमा ५ हजार समको अर्डर गर्न सकिने छ।


पुष्प दुलाल